अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

काठमाडौँ – तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गरेकी छन् ।

दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आएकी अञ्जली दिदीले वसन्तपुरस्थित काष्ठमाण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि सबैलाई राखेर टीका लगाउँदै आएकी थिइन् ।

विसं २०५५ देखि टीका लगाउन सुरु गरेकी उनले अहिलेसम्म चार हजार पाँचसय नेपाली र २५० विदेशी दाजुभाइलाई टीका लगाइसकेकी छन् ।

‘भूकम्प गएको तीनवर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने प्रयाससम्म गरेको छैन, यसवर्ष पनि मन्दिर बाहिरै बसेर भाइटीका लगाउनु पर्नेभयो । त्यसबेलादेखि सबै दाजुभाइलाई मण्डपबाहिरै राखेर भाइटीका लगाउँदै आएको छु,’ अञ्जली दिदीले भनिन्, ‘‘दिदीबहिनी नभएका दाजुभाइलाई दिदीका रुपमा आफ्नै माइती सम्झेर टीका लगाइदिँदै आएकी छु ।’

यही कात्तिक २३ गते यसवर्ष भाइटीका परेको छ, त्यस दिन उनले दिउँसो १३ः३०देखि साँझ १६ः३० बजेसम्म भाइटीका लगाउने तयारी गरेकी हुन् ।

आफू रहेसम्म र शरीरले धानेसम्म टीका लगाइदिने इच्छा भएको र टीका लागाउन विदेशी पनि आउने गरेको जानकारी दिँदै उनी भन्छिन् ‘विदेशमा पनि मेरा धेरै दाजुभाइ हुनुहुन्छ । जापान, बेलायत, भारत लगायत देशका दाजुभाइले निरन्तर रुपमा टीका लगाउन लगाउँदै आउनुभएको छ।’

वसन्तपुरमा दुई दर्जन भन्दा बढी ऐतिहासिक सम्पदा छन् भूकम्पका कारण दशवटा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको छ ।

हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलका अनुसार वसन्तपुरमा रहेका केही सम्पदाको पुनःनिर्माण कार्य सुरु भइसकेको छ भने केहीको तत्काल सुरु हुने अवस्थामा छ ।

वसन्तपुरकै महत्वपूर्ण मानिने सम्पदा नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक पक्षबारे विश्लेषण भइरहेको छ भने गद्दी बैठक यस अघि नै पुनःनिर्माण भइसकेको छ ।

कात्तिक १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्