सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्रिमण्डल विस्तारको तयारी

धनगढी – सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्री मण्डल विस्तारको तयारी गरिएको छ। यसअघि एक राज्यमन्त्री थपेर दोस्रो पटक मन्त्री मण्डल विस्तार गरिएको थियो।

फेरि दुई राज्यमन्त्री थपेर तेस्रो पटक मन्त्री मण्डल विस्तार गर्ने तयारी गरिएको हो। यद्यपि, अहिलेसम्म त्यस विषयमा नेकपाका कुनै पनि नेताले सार्वजनिक रुपमा जानकारी गराएका छैनन्।

त्यस विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको उच्च तहमा छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ। अहिले मन्त्री कसलाई बनाउने भन्ने विषयमा शीर्ष तहमा छलफल भइरहेको र त्यसलाई गोप्य राखिएको छ।

नेकपा उच्च स्रोतका अनुसार सम्भवतः तिहार अगाडि नै मन्त्री मण्डल विस्तार गरिने छ। मन्त्री र मन्त्रालयको विषयमा केही विवाद देखिएका विवाद समाधान गरेर तिहार लगत्तै मन्त्री मण्डल विस्तार गरिने दावी गरिएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत एक–एक वटा राज्यमन्त्री थप्ने तयारी भइरहेको छ।

७ सदस्यीय सुदूरपश्चिम प्रदेशको मन्त्री मण्डलमा गत असोज २३ गते कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ (१) बाट निर्वाचित सांसद प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रिमण्डलको आकार ८ पुर्याइएको थियो।

अब दुई राज्यमन्त्री थपिएमा मन्त्रिमण्डल १० सदस्यीय हुने छ। प्रदेशमा प्रदेशसभा सदस्यहरुको जम्मा संख्याको २० प्रतिशतसम्म मन्त्रिमण्डल विस्तार गर्न सकिने संवैधानिक प्रावधान रहेको छ।

सो व्यवस्थाअनुसार ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डलको आकार ११ सदस्यीय बनाउन सकिने नेकपाका प्रमुख सचेतक तारालामा तामाङले बताए।

उनले संवैधानिक प्रावधान अनुसार मन्त्री मण्डल विस्तार गर्न सकिने र सोही बमोजिम मन्त्रिमण्डल विस्तार गरिने भएपनि तत्काल उक्त कुरा सम्भव नरहेको जानकारी दिए।

दुई राज्यमन्त्री थप्ने तयारीसँगै राज्यमन्त्रीका लागि आकांक्षीहरुले दौडधुप सुरु गरिसकेका छन्।

कात्तिक १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्