४० वर्षमा ६० प्रतिशतले घटे वन्यजन्तु

पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ

विश्वमा वन्यजन्तुको संख्यामा पछिल्लो चार दशक अर्थात ४० वर्षमा ६० प्रतिशतले कमी आएको छ ।

वन्यजन्तुको संख्या घट्नुमा प्रदुषण, वन फडानी, जलवायु परिवर्तन तथा अरु प्रकारका मानव निर्मित कारणहरु रहेको र यसले गम्भीर संकटको अवस्था ल्याएको वन्यजन्तुको क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले जनाएको छ ।

डब्लुडब्लुएफको नयाँ प्रतिवेदन अनुसार पछिल्लो चार दशक वन्यजन्तुका लागि निकै खराब समय बनेको र यसको प्रमुख कारक मानव रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, अहिलेको पुस्ता नै अन्तिम त्यो पुस्ता हो जसले वन्यजन्तुसहित प्रकृतिलाई जोगाउन सक्नेछ वा त्यसका लागि अवसर छ ।

अहिलेको पुस्ताले वन्यजन्तु र प्रकृतिको संरक्षणमा काम गर्न नसकेमा पछुताउनु बाहेक अर्को विकल्प नहुने भन्दै चेतावनी दिइएको छ ।

स्तनधारी, चरा, माछा, सरीसृप, उभयचर प्रजातिका चार हजार भन्दा बढी प्रजातिहरु सन् १९७० देखि २०१४ को बिचमा तीव्र गतिमा घटेको लिभिङ्ग प्लानेट रिपोर्ट २०१८ मा उल्लेख गरिएको छ ।

वन्यजन्तु अर्थात जनावरको पारिस्थितिक प्रणालीमा मानव संलग्नता हुनु भन्दा पहिलेको तुलनामा अहिले वन्यजन्तुका प्रजातिहरु लोपहुने दर हजार गुणा भन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पृथ्वीमा मानवीय प्रभावबाट मुक्त रहेको जमिनको मात्रा एक चौथाईबाट सन् २०५० सम्ममा दशमा एक भाग रहने खतरा देखिएको छ ।

वन्यजन्तुको बासस्थान घट्दै जाने, चोरी शिकार, प्रदुषण, रोगव्याधी र जलवायु परिवर्तनको प्रभाव निरन्तर बिस्तार हुँदै गएको र यो वन्यजन्तु तथा प्रकृतिका लागि घातक रहेको उल्लेख गरिएको छ ।

वन्यजन्तुको संरक्षण र प्रकृतिमा मानवीय प्रभाव कम गर्नका लागि अन्तर्राष्ट्रिय सन्धि हुनु पर्नेमा डब्लुडब्लुएफले जोड दिएको छ । यस्तो सन्धि पेरिस जलवायु सम्झौतासँग तादम्य मिलाउने खालको हुनु पर्ने उल्लेख छ । अहिले वन्यजन्तु तथा प्रकृतिको संरक्षणका लागि जति पनि काम भएका छन् तिनीहरु मानव निर्मित विनासको दर भन्दा निकै कम रहेको भन्दै चेतावनी दिइएको छ ।

अहिले पनि प्रकृतिलाई मानवले सित्तैमा पाएको उपहारको रुपमा लिएको र यसको संरक्षणका लागि आफ्नो भूमिका खेल्न नसकेको डब्लुडब्लुएफका महानिर्देशक मार्को लाम्बर्तिनीले बताएका छन् ।

यस्तै प्रतिवेदनका अनुसार ९० प्रतिशत भन्दा बढी समुद्री चराहरुको पेटमा प्लाष्टिक रहेको छ । सन् १९६० मा पेटमा प्लाष्टिकको मात्रा हुने समुद्री चराको संख्या पाँच प्रतिशत मात्रै थियो ।

ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रका वन्यजन्तुको जीवन सबैभन्दा बढी खतरामा देखिएको छ । यी क्षेत्रमा सन् १९७० यता वन्यजन्तुको संख्यामा ८९ प्रतिशतले कमी आएको छ । यस्तै स्वच्छ पानीमा भर पर्ने प्रजातिहरु भ्यागुता तथा नदीमा हुने माछाको संख्यामा ८३ प्रतिशतले कमी आएको छ ।

वन्यजन्तुको संरक्षण र समग्रमा प्रकृतिको संरक्षणका लागि तत्कालै विश्वव्यापी रुपमा एकीकृत प्रयासको खाँचो रहेको तथा ढिलो नगरी यसका लागि काम हुने पर्ने भन्दै डब्लुडब्लुएफले विश्वव्यापी सहकार्यका लागि आह्वान गरेको छ ।

कात्तिक १४, २०७५ मा प्रकाशित