ट्राफिक नियमको पालना नहुँदा सवारी दुर्घटना बढ्यो

‘माओवादी द्वन्द्वमा भन्दा सडक दुर्घटनामा मानवीय क्षति बढी’

पोखरा – ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढेको पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन्।

सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले मन्टेश्वरी एशोसिएसन कास्कीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहयोगमा विद्यालय सवारी चालकका लागि ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको थियो। सोही कार्यक्रममा कास्कीका ट्राफिक प्रहरी प्रमुख ऐनबहादुर मल्लले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताए।

मल्लले सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउँदै त्यसको न्यूनिकरणका लागि नियमको पालना गर्नुपर्ने बताए। मल्लले भने, ‘नेपालमा पछिल्लो समय सवारी दुर्घटनाका कारण ज्यान गुमानेको संख्या धेरै रहेको छ, दश वर्षे जनयुद्धमा भन्दा पछिल्लो पाँच वर्षमा भएका सवारी दुर्घटनाबाट धेरै क्षति भएको छ।’

दश वर्षे जनयुद्धमा १५ हजारले ज्यान गुमाएको तथ्याङक रहेको छ भने पछिल्लो पाँच वर्षमा १० हजारको मृत्यु भएको र २० हजार गम्भिर घाइते भएको प्रमुख मल्लले बताए।

मल्लले ट्राफिक नियमको पालना नगर्दा दुर्घटना हुने गरेको बताउदै त्यसका लागि सवारी चालकहरु सचेत हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिव पाठकले सवारी दुर्घटनाका कारण, ट्राफिक नियम, जरिवाना र सजायका बारेमा चालकहरुलाई जानकारी गराएका थिए।

थापाले सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमको पालना गर्नुपर्ने बताए। उनले नियमको बारेमा जानकारी हुँदाहुँदै पनि त्यसको पालना नगर्दा सवारी दुर्घटना हुने गरेको उनको भनाई थियो।

सचेतना कार्यक्रमका संयोजक एवं मन्टेश्वरी एशोसिएशन कास्कीका सदस्य जर्नादन सुवेदीले ६५ प्रतिशत बालबालिका सवारी मार्फत विद्यालय जाने भएकाले ट्राफिक नियम पालनाका लागि सवारी चालकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सचेतना कार्यक्रम आयोजना गरिएको बताए।

पोखरामाभित्र सञ्चालनमा रहेका ४० वटा मन्टेश्वरीका सवारी चालकहरुको सहभागिता रहेको सो कार्यक्रम मन्टेश्वरी एशोसिएशन कास्कीका अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा भएको थियो।

कात्तिक १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्