पोखरा – पर्यटकको सहजताकोलागि पोखराको लेकसाइडका भित्री गल्लीलाई नामाकरण सहित नम्बरिङ्ग गरिने भएको छ ।

पर्यटकको मुख्य गन्तव्यको रुपमा रहेको लेकसाइडमा गल्लीगल्ली प्रवेशमा कुनै ठोस नाम नहुँदा होटल र रेष्टुरेन्टको नामबाट चिनाउनु पर्दथ्यो । यसले पाहुनाले स्थान पत्ता लगाउन गाह्रो हुने गरेको महसुस भएपछि नम्बरसहित नामाकरणको तयारी भएको हो ।

पोखरा महानगरपालिकाको वडा नम्बर ६ र पर्यटन व्यवसायिको छाता संस्था पोखरा पर्यटन परिषदले अंकका आधारमा गल्लीको नामकरण सुरु गरेका हुन् । तिहारभित्रै ती सबै गल्लीलाई नम्बर दिने निर्णय गरेको परिषद अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार केदारेश्वर मन्दिर अघिल्तिरको गल्लीलाई पहिलो मान्दै खहरेसम्मका गल्लीलाई फरक फरक नम्बर दिइनेछ ।

उनले भने, ‘अब पहिलो गल्लीलाई एकनम्बर मानेर क्रमैसँग नम्बरिङ गरिनेछ । अहिले कतिपय गल्लीको नामाकरण भए पनि केहीको छैन । पोखरा घुम्न आउने पर्यटकलाई यसले सहज बनाउने छ।’

लेकसाइडको कोमागाने पार्क देखि खहरेसम्मकै गल्लीकै नाम अंकमा दिइने वडाध्यक्ष जगत पहारीले दिए ।

पहारीले भने ‘कतिपय होटको नाम उस्तै उस्तै छन् कति स्थानीय नामहरु छन् जसले पर्यटकलाई स्थान पत्ता लगाउन असहज भयो । अब नम्बरीङ बाट सजिलै पत्ता लाग्नेछ’ उनले गल्लीको अंक र त्यसमुनि वडा नम्बर लेखिने पनि बताए । ३० वटा जति मुख्यमुख्य गल्लीहरुलाई अंक बाँडिने उनले जानकारी दिए ।

‘अहिले त्यस क्षेत्रमा झन्डै ३० वटा गल्ली छन् । ती सबै गल्लीलाई फरक नम्बर र नामले पहिचान दिलाइनेछ ।’ नाम र नम्बरलाई रातीमा समेत देखिने गरी मुल सडकमा राखिने उनले बताए ।

त्यसैगरी परिषदले स्थानीय तहका पदाधिकारी सहित प्रहरी, ट्राफिक प्रहरीसँग पनि छलफल गर्दै लेकसाइडको सवारी आवागमनलाई व्यवस्थित बनाउन पहल गर्ने बताएको छ । होटलमा पाहुना ल्याउँदा र लैजाँदा ठुला आकारका बस लामो समय रोकिँदा त्यसले सवारी आवागमनमा अवरोध पुगेको भन्दै पर्यटक चढाउन र ओराल्नका लागि ३ देखि ५ मिनेट मात्र समय दिने भन्ने पनि निर्णय गरेको छ ।

कात्तिक १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्