विहीबार विहीबार दरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा बिहीबार छपाइको शुभारम्भ गर्दै गृहसचिव प्रेमकुमार राई।तस्बिर-रासस

सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ।

गृहसचिव प्रेम राईले विहीबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुवा गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छापेका थिए। पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र विवरण गर्नका लागि केन्द्रले छपाइ शुरुवात गरेको हो।

सूचना अधिकारी जोशीले पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी दिए।

केन्द्रले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको छ तर अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा छाप्ने र पछि अन्यको पनि छाप्ने उनले बताए।

सबै परिचयपत्र छापेर यही महीनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र विवरणसमेत गरिने छ। केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले प्राविधिक परीक्षण सकेर कम्पनीले मेशिन उपलब्ध गराएपछि परिचयपत्रको छपाइ गरेको बताए।

उनका अनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुने छ। वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबा आमा, बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहने छ भने जैविक विवरणमा फोटो, औँठाछाप र हस्ताक्षर हुने छ।

केन्द्रले अमेरिकाको बनेको अत्याधुनिक मेशिन ‘डाटा कार्ड कम्पनी’बाट प्रतिघण्टा ५०० को दरले परिचयपत्र छाप्ने इञ्जिनीयर बोहराले जानकारी दिए।
उक्त मेशिन ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत करीब रु चार करोडमा उपलब्ध गराएको हो ।

उनका अनुसार लेजर प्रविधिबाट कार्बन (पोली कार्बोनेट) लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ। उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उहाँको भनाइ रहेको छ । परिचयपत्रमा एउटा कार्ड र मेशिनले पढ्न सक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ रहेको हुन्छ ।

मेशिनमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि मेशिनबाट परिचयपत्र बाहिर निस्कने कम्प्युटर इञ्जिनीयर बोहराले जानकारी दिए।

विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायले मात्र पढ्न सक्ने छ । मेशिनले छापेर आएका परिचयपत्रलाई बिग्रेको भए अलग्लै राख्ने गर्दछ । परिचयपत्र छापेपछि केन्द्रले गुणस्तर परीक्षण गरेर मात्र वितरण गर्दछ ।

सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ सालदेखि परिचयपत्रको काम शुरु भएको हो। यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना रहेको छ।