स्वामी अशोक भारती र आनन्द अरुणबीच विवाद के हो?

‘भन्नोस्, ओशो तपोवन बचाउने कि नबचाउने?’

स्वामी आनन्द अरुण र स्वामी अशोक भारती।

काठमाडौँ– ओशो तपोवन विश्वभरिका ओशो सन्यासीका लागि नेपालको सबैभन्दा ठूलो ‘तीर्थस्थल’ हो। नेपालका सबैजसो ओशो सन्न्यासी तपोवन पुगेकै हुन्छन्। र, विश्वका धेरै देशका सन्यासी– ओशोप्रेमीहरु ध्यान–साधनाकै लागि ओशो तपोवनमा आउने गरेका छन्।

तर, ध्यान, साधनास्थलको रुपमा रहेको ओशो तपोवन पछिल्लो केही महिनादेखि विवादित बनेको छ। तपोवनका प्रमुख स्वामी आनन्द अरुणको पक्ष र विपक्षमा सामाजिक सञ्जालहरुमा पोस्टहरु लेख्ने होडबाजी नै चलेको छ।

यही क्रममा काठमाडौँका एक जना ओशो सन्न्यासी स्वामी देव सुन्दर पक्राउ परेका छन्। स्वामी आनन्द अरुण र भारतका स्वामी अशोक भारतीका समर्थकहरुबीच द्वन्द्व चर्किएको रुपमा यसलाई हेरिएको छ।

ओशोका दुई शिष्यको एकसाथ शिविर

स्वामी आनन्द अरुण र स्वामी अशोक भारती ओशोका शिष्य हुन्। ओशो जीवित हुँदैदेखि आनन्द अरुणले तपोवनलाई आधार बनाएर ध्यान साधना गराइरहेका छन्।

अशोक भारती भारतको पुणेस्थित ओशो इन्टरनेशनल फाउण्डेशनसँग निकट रहेर ध्यान–साधनामा लागे। ओशोका यी दुई शिष्यको भेट प्रायः भई नै रह्यो। गत वर्षसम्म पनि उनीहरुको सम्बन्ध राम्रो थियो।

वि.सं. २०७४ फागुन पहिलो साता महाशिवरात्रिका अवसरमा ध्यानशिविर सञ्चालनका लागि स्वामी अशोक भारती नेपाल आएका थिए।

ओशो।

अशोक भारतीको उक्त शिविर सुरुमा नगरकोटमा गर्ने निश्चय भएको थियो। ‘तर, नगरकोटमा शिविर गर्ने निश्चय भएको १५ दिनपछि हामीबीच तपोवन हुँदा–हुँदा किन नगरकोटको कुनै होटलमा शिविर गर्ने भन्ने सल्लाह भएपनि हामी आनन्द अरुण स्वामीसँग कुरा गर्न गयौँ, उहाँले ओके गर्नु भयो,’ शिविर व्यवस्थापन टोलीका एक सदस्य स्वामी अमृत सुशीलले भने, ‘त्यसपछि अरुण स्वामीजी दुई महिनाका लागि अमेरिका जानु भयो, यहाँ स्वामी अशोक भारतीले शिविर सञ्चालन गर्नु भयो।’

शिविर राम्ररी सम्पन्न भयो। अशोक भारतीले शिविर चलाइरहँदा अमेरिकाबाट फेसबुकमा लाइभ हेरेर आनन्द अरुणले प्रशंसा पनि गरेको सुशील सम्झन्छन्।

वैशाखमा पनि अशोक भारती नेपाल आए। बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनीस्थित ओशो जेतवनमा आयोजना गरिएको ३ दिने शिविर उनैले सञ्चालन गरे। त्यसबिचमा एक दिनको सत्संगमा अरुण स्वामी पनि उपस्थित थिए। दुवैले मित्रवत व्यवहार प्रस्तुत गर्दै सत्संग गरे। त्यसपछि चाहिँ सम्बन्ध विस्तारै बिग्रिदै गयो।

ओशो तपोवनको आलोचना

स्वामी अशोक भारती नेपाल आएर शिविर चलाउन थालेपछि उनका प्रशंसकहरु पनि बढे। शिविरमा आएका कोही सन्यासी बेखर्ची भए उनी निःशुल्क ध्यान–साधना गर्न दिन्थे।

बुद्धपूर्णिमालगतै बागलुङमा ध्यान शिविर सञ्चालन गर्न नेपाल आएका अशोक भारतीले तपोवनको विषयमा बोले। त्यसैगरी, ओशो जेतवन ध्यान शिविरको उद्घाटनमा प्रधानमन्त्रीलाई बोलाइएको र तपोवनमा हुने राजनीतिक आवतजावत तथा त्यहाँको आर्थिक अपारदर्शिताका विषयमा पनि उनले प्रतिक्रिया दिए।

स्वामी अशोक भारती।

त्यसपछि यी दुई ओशो शिष्यबिचको विवाद उत्कर्षमा पुग्यो। तपोवनलाई रिसोर्टजस्तो बनाइएको भन्दै अशोक भारतीले आलोचना गरेपछि आनन्द अरुण पनि प्रतिवादमा उत्रिए।

स्वामी आनन्द अरुणको प्रतिक्रिया

तपोवनका प्रमुख स्वामी आनन्द अरुणले तपोवनलाई रिसोर्टजस्तै बनाइएको अशोक भारतीको आलोचनाको प्रतिवाद गरे।

उनले महिलाहरुलाई शोषण गरिएको भन्ने आरोपको खण्डन गरे। उनले तपोवनमाथि षडयन्त्र हुन लागेको दावी गर्दै यसको प्रतिवाद गर्न सन्यासीहरुलाई आह्वान नै गरे।

स्वामी आनन्द अरुण।

‘बुद्धलाई देवदत्तले बिट्रए (विश्वास घात) गर्नु भयो, सुसाइड गरेर मर्नुपर्‍यो, जिससलाई जुदासले बिट्रए गर्नुभयो, उहाँले पनि रुखमा झुण्डिएर मर्नुपर्‍यो, महावीरको शिष्य गोशालकले बिट्रए गर्‍यो, ऊ पनि नराम्रो रोग लागेर मर्नुपर्‍यो, ओशोलाई शिलाले बिट्रए गरेपछि ४ वर्ष जेल बस्नुपर्‍यो,’ आनन्द अरुणले एक प्रवचनका क्रममा भनेका छन्, ‘गुरु बिट्रएलहरुले सुरुमा केही पैसा पाउँछन्, हाम्रो विरोध गर्नेहरुले पनि पैसा पाउनु भएको छ, तर अन्त्य चाहिँ बढो दुखद् हुन्छ।’

आनन्द अरुणले अरुले माफ गरेपनि अस्तित्वले त्यस्तालाई माफी नदिने जिकिर गरेका छन्। ‘मसँग केही भए यहाँ आएर लड्नु पर्‍यो, मानवीय ढंगले लड्नु पर्थ्यो,’ उनी अगाडि भन्छन्, ‘अब तपाईहरु नै भन्नुस् तपोवन बचाउने कि नबचाउने? यसका लागि हामी युनाइटेड हुनुपर्छ, यस (आलोचना गर्नेहरुको) को अन्त्य बहुत खतरनाक हुन्छ।’

अर्को फेसबुक लाइभमा आनन्द अरुणले आफूले ओशोलाई सपनामा देखेको र ओशोले अशोक भारती फटाहा हो भनेको बताएका थिए। साथै यस विषयमा प्रतिवाद गर्न पनि ओशो आफूलाई अह्राएको बताएका थिए। त्यसपछि विवाद अझै उत्कर्षमा पुग्यो।

देव सुन्दर पक्राउ प्रकरण

ओशो तपोवनका प्रमुख आनन्द अरुणको आपत्तिजनक तस्बिर फेसबुकमा शेयर गर्ने स्वामी देव सुन्दरलाई प्रहरीले साइबर अपराधअन्तर्गत पक्राउ गरेको छ।

स्वामी देव सुन्दरले तपोवनका संरक्षक तथा प्रमुख आनन्द अरुणले एक महिलाबाट गोडा मसाज गराउँदै गरेको तस्बिर फेसबुकमा शेयर गरेका थिए।

आफूसहितको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्नो अपमान भएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएपछि स्वामी देव सुन्दर पक्राउ परेका हुन्।

स्वामी देव सुन्दर।

देव सुन्दरलाई म्याद थप गरी टेकुस्थित प्रहरी हिरासतमा राखिएको छ। मुद्दाको पेशीका लागि सोमबारका लागि तोकेको छ।

प्रहरीबाट फोन आएपछि उनी आफैँ टेकुस्थित महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगेका थिए। त्यहाँ उनलाई पक्राउ पूर्जी थमाइएको थियो।

उजुरी दिने महिलाले स्वामी देव सुन्दरको फेसबुक पोस्टबाट आफ्नो अपमान भएको र तपोवनमा बाहिर भनिएजस्ता कुनै खराब गतिविधि नहुने बताउँदै प्रहरीमा उजुरी दिएकी हुन्।

स्वामी देवसुन्दरका समर्थकहरुले तपोवनका हुने गरेका खराब गतिविधि बाहिर ल्याउन खोज्दा त्यसलाई दबाउनका लागि झुठो आरोपमा उनलाई पक्राउ गरिएको दाबी गरेका छन्। यस घटनाका सम्बन्धमा कानुनी प्रक्रिया सुरु भएको र आफूहरुले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कात्तिक १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्