काठमाडौँ – सरकारले मुलुकभरिका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको हो।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारबाट घोषित आर्थिक वर्ष २०७५/०७६ को बजेट वक्तव्यको बुँदा नम्बर ११४ मा नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने उल्लेख भएअनुसार मन्त्रिस्तरीय निर्णयबाट नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएको उल्लेख छ।
साथै सूचीमा उल्लेखित नयाँ पर्यटकीय गन्तव्यहरुलाई चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बाँडफाँड गरिने पनि विज्ञप्तिमा जनाइएको छ।
यी हुन् नयाँ पर्यटकीय गन्तव्य
सरकारले ७ वटै प्रदेशलाई समेटेर नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको छ। जसमा प्रदेश नम्बर एकका ताप्लेजुङको तिम्बुङ पोखरी, पाँचथरको गुरु फाल्गुनन्द सर्किट, इलामको कन्याम श्रीअन्तु सर्किट, तेह्रथुमको तीनजुरे–मिल्के–जलजले रहेका छन्।
त्यसैगरी संखुवासभाबो बालेश्वोर ऐतिहासिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटक ट्रेल र भोजपुरको ट्याम्के डाँडालाई पनि नयाँ पर्यटकीय गन्तव्यमा समावेश गरिएको छ।
काठमाडौँको दहचोक, ललितपुरको नागदह पर्यटकीय क्षेत्र र गोदावरी फूलचोकी हाइकिङ तथा भक्तपुरको नीलबाराही मन्दिरलाई पनि नयाँ पर्यटकीय गन्तव्यका रुपमा समावेश गरिएको छ।
त्यसैगरी, मुलुकभरिका नयाँ पर्यटकीय गन्तव्यमा मुगुको सेफोक्सुण्डो तालदेखि जाजरकोटको खलंगा दरबार क्षेत्रसम्मलाई समेटिएको छ।
कञ्चनपुरको रौटेला झम्केली ब्रह्मादेवधाम तथा कैलालीको बर्दगोरिया मन्दिरधामलाई पनि नयाँ पर्यटकीय गन्तव्यका रुपमा समावेश गरिएको छ।