मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

काठमाडौँ –आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख सञ्चालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार मेगा बैंक ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ। र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्।

साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन्।

१६ हजारभन्दा बढी एजेण्ट आउटलेट सञ्जाल भएको आइएमई डिजिटल, आइएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो। आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ।

यसको मद्दतबाट सेवाग्राही आफैँले वा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ।

आइएमई डिजिटलसँगको सम्झौताले सर्वसाधारण जनतालाई आधुनिक वित्तीय सेवाहरूको पहुँच उपलब्ध हुनुका साथै नेपालको वित्तीय समावेशीकरणमा समेत योगदान पुग्ने आइएमई डिजिटल र मेगा बैंकको विश्वास छ।

कात्तिक १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्