मलेसियामा कामदारको तलब बढ्यो, अब मासिक ११ सय रिंगिट

एजेन्सी- मलेसियाले श्रमिकको न्यूनतम तलब बढाउने भएको छ। शुक्रबार संसदमा आगामि आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कामदारको तलब बढ्ने घोषणा गरेको हो । अर्थमन्त्री लिम ग्वान इङले बढेको न्युनतम तलब आगामी जनवरीबाट लागू हुने बताए ।

यसअघि न्यूनतम तलब १ हजार ५० रिंगिट पुर्‍याउने घोषणा गरेको सरकारले त्यो कार्यन्वयन हुन नपाउँदै थप बढाएको हो। पहिले बढाएको तलव कम भएको भन्दै त्यहाँका श्रमिक संगठनहरुले विरोध गरेका थिए ।

उनीहरुले सरकारलाई निर्णय पुर्नबिचार गर्न चेतावनी समेत दिएका थिए । चौतर्फी बिरोधपछि सरकार कामदारको तलब बढाउन तयार भएको हो ।

मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार त्यहाँ ३ लाख ५८ हजार २ सय ११ जना नेपाली कार्यरत रहेका छन् । यो गत सेप्टेम्बर ३० सम्मको वैधानिक रुपमा कार्यरत नेपालीको तथ्याङ्क हो । यस्तै केही अवैधानिक रुपमा बसिरहेका नेपालीहरु पनि छन् ।

विभिन्न देशका आप्रवासी कामदारको संख्या १८ लाख ९२ हजार २ सय ४७ रहेको छ । तर त्यहाँ अभिलख नभएका आप्रवासीको संख्या पनि ठूलो छ ।

नेपाल र मलेसियाबिच कामदार भर्ती सम्बन्धि दोहोरो समझदारी पत्रमा गत साता हस्ताक्षर भएको छ । समझदारीपछि बनेका प्राविधिक समितिले अहिले मदेसिया कामदार पठाउने प्रक्रियाको विषयमा छलफल गरिरहेका छन् ।

नेपाली कामदार पठाउने प्रक्रिया टुंगो नलाग्दा अहिले मलेसिया जान पाएका छैनन् । गत जेठ २ गते श्रम मन्त्री गोकर्ण विष्टले कामदार पठाउने प्रक्रियामा रहेका संस्थालाई अवैधानिक भन्दै खारेज गर्ने निर्णय गरेका थिए ।

तर संस्था खारेजको निर्णय कार्यन्वयन गर्न भने मन्त्री विष्ट चुकेका छन् । नयाँ सम्झौतापछि पनि तीनै संस्था मार्फत कामदार पठाउने विषयमा छलफल केन्द्रीत छ । त्यही निर्णयका कारण अहिले नेपाल अप्ठेरोमा छ । मलेसियाले पनि अर्को प्रक्रिया तयार गरेको छैन । तर नयाँ सम्झौतामा कामदारको आर्थिकभार भने कटौती भएको छ ।

समझदारीपछि दुवै देशका मन्त्रीले अब मलेसिया जाँदा नेपाली कामदारले खर्च गर्नु नपर्ने बताएका छन् । नेपालमा भएको स्वास्थ्य परीक्षण, सुरक्षा प्रपाणिकरण लगायतमा भएको खर्च पनि मलेसियामा रोजगारदाताले फिर्ता गर्नेछन् । समझदारी नेपालका म्यानपावर व्यवसायीले र मलेसियाका रोजगारदाताले विरोध गरेकाले कार्यन्वयनमा भने चुनौती देखिएको छ ।

समझदारी कार्यन्वयन भए नेपाली कामदारले पनि फाइदा लिने छन् । मलेसिया नेपालीको रोजगारीको प्रमुख गन्तव्य हो।

कार्तिक १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्