काठमाडौँ – अनुहारमा आधा तस्बिर देवीको र आधा चाहिँ निर्मला पन्तको तस्बिर टाँसेको युवाहरुको लहर छ। उनीहरु भनिरहेका छन्, ‘निर्मला देवी हुन्, न्यायको लडाई एकदिन अवश्य जित्नेछिन्।’

हो, बलात्कारविरुद्धको राष्ट्रिय अभियानले काठमाडौँको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शन सहभागी भएका सामाजिक अभियन्ता र सर्वसाधारणले निर्मला पन्तको न्यायका निम्ति लडाई बाँकी रहेको बताएका छन्।

निर्मलाको न्यायका निम्ति काठमाडौँमा आयोजित प्रदर्शन। तस्बिरः देश सञ्चार

तर, एकदिन यो लडाइँ निर्मलाले जित्ने र अपराधीहरु कानुनी कठघरामा आएरै छोड्ने धारणा उनीहरुले व्यक्त गरेका छन्। सहभागीहरुले निर्मला बलात्कार र हत्याको एक सय दिन पुग्दा पनि अपराधीहरु पक्राउ नपरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

सरकारले निर्मलाका हत्यारालाई पत्ता लगाउन चासो नदिएको सन्देशसहित सडक नाटक पनि प्रस्तुत गरिएको थियो।

राष्ट्रिय झण्डासहित सहभागी भएका प्रदर्शनकारीहरुले ‘प्रहरी, प्रमाण मेटाउन हो कि जुटाउन?’ भनी सरकारसँग प्रश्न पनि गरेका थिए।

सामाजिक अभियन्ताहरु अमृत बिष्ट, रजिया बानु लगायतको संयोजनमा सुरु भएको बलात्कारविरुद्धको राष्ट्रिय अभियानले निर्मलाको न्यायका निम्ति दवावमूलक प्रदर्शनको आयोजना गरेको हो। निर्मलाको सम्झना गर्दै दीप प्रज्वलन पनि गरिएको छ।

सामाजिक अभियन्ता प्रितम सुवेदीका अनुसार प्रदर्शनमा सहभागीहरुले नियम अनुसार बर्खास्तीमा परेका प्रहरीका एसपी डिल्लीराज बिष्ट र अन्य प्रहरीलाई फौजदारी मुद्दा लगाएर कारबाही गर्न माग राखेका छन्।

प्रमाण नष्ट गरेको, निर्दोषलाई फसाउन खोजेको, आन्दोलनकारीलाई गोली चलाएको तथा अपराध कबोल गर्न यातना दिएकाले फौजदारी मुद्दा चलाउनुपर्ने उनीहरुको माग छ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको शुक्रबार एक सय दिन पूरा भयो। तर, अझै पनि उनको हत्यामा संलग्न अहिलेसम्म सरकारले हत्यारा पक्राउ गर्न सकेको छैन।

घटनामा सिंगो मुलुक आन्दोलित भएपनि प्रहरीले अपराधी सार्वजनिक गर्न नसकेको हो। घटनाको अनुसन्धानका लागि सरकारले थुप्रै समिति पनि गठन गरेको छ। तर ती समितिहरुले गरेको अनुसन्धानले पनि निर्मलाका हत्याराको पहिचान गर्न सकेको छैन।

घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै सरकारले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको छ। केही प्रहरी अधिकारीहरु निलम्बित भएका छन्।

बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, अर्का युवक आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्रदेव बडूको डीएनए जाँच गरिएको छ। तर डीएनए परीक्षणका लागि नमुना संकलन गरिएका थप चारजनाको नाम प्रहरीले गोप्य राखेको छ।

घटना घटेको सय दिनसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि पीडित परिवार थप निराश भएको छ। निर्मलाका आमाबुवा आफ्नी छोरीको न्यायका लागि भौँतारिरहेका छन्। उनीहरुले काठमाडौँ आएर प्रधानमन्त्रीलाई समेत भेटी छोरीका हत्यारा पक्राउ गर्न आग्रह गरेका थिए।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी बालिका निर्मला पन्तको साउन ११ गते उखुबारीमा शव भेटिएको थियो। हत्यारा पक्राउको माग गर्दै महेन्द्रनगरमा आन्दोलन चर्किएपछि प्रहरीले चलाएको गोली लागेर बालक सन्नी खुनाको ज्यान गएको थियो।