चलचित्र समिक्षा

सपना देख्न सिकाउने ‘मालिका’

रेखा थापा र कमला वली। तस्बिर: देशसञ्चार

काठमाडौँ– ‘तँ बाहिर खेल्न जान हुन्न। भीडमा नाच्न हुन्न। शीर निहुराएर हिड्नुपर्छ, मुखमुखै लाग्न हुन्न।’

जन्मँदा छोरीको रुप भएपछि हुर्कँदै गर्दा यस्तै सिकाइ हुन्छ। एउटै आमाले जन्माएका सन्तानमा पनि छोरीलाई गरिने व्यवहार नै फरक हुन्छ, चाहे जानेर होस् अथवा नजानेर। छोरी विवाहको निर्णयमा स्वतन्त्र हुन्न, उसको इज्जतलाई पैसा र वस्तुसँग तौलिन्छ। अनि २१ औँ शताब्दीको यो युगमा पनि किताबी शिक्षाले भरिपूर्ण तर ज्ञान नभएकाहरुको जमात।

यस्तै एकभित्र अर्को कथा बुनिएको अनगिन्ती कथाहरुको संगालो हो, चलचित्र ‘मालिका’ जसले ठक्कर खाएर उठेका महिलाको कथा बोल्छ।

कथाको सुरुवात तराईको एक शिक्षित छोरीको विवाहको प्रसंगबाट सुरु हुन्छ, जो शारीरिक बनावटको आधारमा हरेक पुरुषबाट विवाहको लागि अयोग्य ठहरिन्छे। उनको खुट्टा सग्लै छन् तर खुट्टाको चोर औँला बुढीऔँला भन्दा लामो छ। ‘यस्ता महिलाले श्रीमानलाई जित्छन् रे,’ उनको प्रेमी जसलाई शिक्षित व्यक्तिको रुपमा उभ्याइएको छ। तर उनी विवाहमा बाबुले गरेको दाइजोको बार्गेनिङमा मौन रहन्छन्। जब ती युवतीले विरोध गर्छिन्, विवाह भाँडिन्छ र त्यसको दोषी हुन्छिन् तिनै महिला। यो मालिका पात्र हो, यसमा रेखा थापा छिन्। यसपछि उनले घर छाड्छिन् र जीवन बदलिन्छ।

यसको अर्को कथा हो जाजरकोटकी जया पात्रको। कमला वलीले निर्वाह गरेको जया पात्र समाजको कुसंस्कारको सिकार भएको छ। बलात्कृत भएकी जयाले न्याय पाउनुको साटो तिनै बलात्कारीसँग विवाह गर्न लगाउने सामाजिक रिवाज स्वीकार गर्दिनन्। अनि छोडेर भाग्छिन् आफ्नो ठाउँ नै छोडेर।

लगभग उस्तै कथा भएका यी पात्रको कसरी भेट हुन्छन्? कसरी आफ्नो अवस्थाबाट बाहिर निस्कन्छन्? यति बीचमा उनीहरुले गर्नुपरेको संघर्ष के हो? यो कुरा थाहा पाउन दर्शक हलसम्म जानै पर्छ।

कतिपय कुरा नाप्ने निश्चित एकाइ हुन्न, प्रमाणित गर्ने वैज्ञानिक शुत्र पनि पाइदैन। मानवीय संवेदनाहरु माया, घृणा, क्रोध, आत्मविश्वास, संघर्ष आदि। ‘मालिका’ यस्तै संवेदनाहरुको प्रस्तुति हो जसले टुक्रिएर छरप्रस्ट भएको मनलाई जोडेको छ, समाजको धेरै पक्षसँग लडाइँ गरेर।

राम्रो पक्ष

एउटै आमाको कोखबाट जन्मिएको भएपनि छोरा र छोरीमा गरिने विभेदको पर्दा हो मालिका। चलचित्रमा देखाएका घटनाहरु नेपालको तराई र विकट पहाडी क्षेत्रको हकमा सान्दर्भिक छन् भने विकास भएका शहरी क्षेत्रमा त्यति सुहाउँदैन। अहिले बालिकालाई नपढाउने, विवाहमा उनीहरुको निर्णयको कुरा सजिलै पच्दैनन् तर यस्तो अवस्था छैन भनेर नकार्न सकिन्छ। छोरी हुर्काउँदा उनीहरुलाई सिकाइने व्यवहार जसले छोरी हुनुको आभास गराउँछ र छोरी भएकै आधारमा अनावश्यक नियमलाई मान्नै पर्छ।

घर बाहिर निस्कने, पढ्ने, खेल्नेदेखि युवावस्थाका रहर पूरा गर्ने र विवाहको निर्णयसम्म पुग्ने बेलामा बारम्बार निर्णायक बन्ने यो समाज अनि त्यो निर्णयको भाग बन्ने महिला। यस्तै परिचय छ महिलाको। तर ‘मालिका’ चलचित्रले यो व्यवस्थाको विरोध गरेको छ। महिलालाई लड्न सिकाएको छ। परिस्थितिलाई स्विकार्नु भन्दा त्यसबाट उम्कनु परिवर्तनको पाटो भएको प्रमाण मालिकाको जया पात्र हो। भनिन्छ नि ‘भइरहेको भन्दा फरक गरौँ, यति पक्का हो, जीवन पहिलाको भन्दा सुन्दर हुन्छ।’ मालिकाले हरेक क्षणमा परीक्षा पार गर्दै आफूमा परिपक्वता भर्न सिकाउँछ।

चलचित्रका डायलगहरुले चलचित्रलाई अझै बलियो बनाएको छ। रेखा थापा आफ्नो भूमिकामा बलियोसँग उभिएकी छन्। उनी कुसंस्कारको विरोध गर्ने पात्र हुन् जो परिआए जोसँग पनि लड्न सक्छ, तर्क होस् अथवा हातपात गरेर। उनी आफ्नो भोगाइबाट अरुलाई बलियो बनाउने समाजिक कार्यकर्ता बनेकी छन्।

कमला वली अपहेलित युवतीबाट आफ्नो डरमाथि जित्ने युवतीको रुपमा देखिएकी छन्। उनी परिवर्तन हुने प्रक्रिया पनि सामान्य नै छ। यसले मानिस जस्तो वातावरणमा बस्यो उस्तै हुन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ।

यो चलचित्रले नेपालको गाउँ छोएको छ, त्यहाँको कथा समेटेको छ। चलचित्र निर्माण नाफा कमाउने माध्यम हो भन्ने कुरालाई आधार बनाउने हो भने निर्माण टोलीलाई अलि खतरा छ। किनभने यसमा ग्ल्यामरको पाटो छँदै छैन भन्दा पनि हुन्छ। यसले विशुद्ध सामाजिक विषयवस्तु अनि वास्तविक पात्रसँग खेलेको छ।

चलचित्रले तराई, शहर र उच्च पहाडी क्षेत्र सबैलाई समेटेको छ। जाजरकोटको संस्कृति, भेष देखाउनु तारिफयोग्य छ। ‘मालिका’को गीत ‘हल्कामाया के माया गाढा लगाउनी’ यसको उदाहरण हो।

चलचित्रमा देखिएका दृश्य लोभलाग्दा छन् भने चलचित्रकी मुख्य पात्र जयाको निर्दोषपन साँच्चै नै तारिफयोग्य छन्।

दुर्वल पक्ष

चलचित्रमा धेरै डायलग यस्ता छन् जसलाई सुनेर जया छिनमा नै परिवर्तन भएकी छन्। यो अलि नाटकीय लाग्छ। जयाको काठमाडौँको यात्रा र मालिका नभेटिँदासम्मको समयमा उनले एक महिला बाहेक सबै नराम्रा मानिसहरुसँग मात्र भेट्छिन्। यसले परिस्थिति बुनेजस्तै देखिन्छ। मालिकालाई एकदमै धेरै बलियो (शारीरिक) रुपमा देखाउनु अलि सहज लाग्दैन। अनि जयाका डायलग पनि कहिलेकाहिँ त्यस्तै सुनिन्छन्।

तर सामाजिक विषयवस्तुमा आधारित भएर भइरहेका तर याद नहुने कुरालाई प्रस्तुत गर्नु स्वागत योग्य छ। चलचित्रको अन्त्यमा दर्शक निराश हुँदैनन्। दुई घण्टाको अवधिमा हलबाट बाहिर आउँदा दर्शक तृप्त मुद्रामा देखिने सम्भावना रहन्छ।

किनभने जसले सपना देख्छ त्यो मानिस खुसी हुन्छ र मालिकाले सपना देख्न सिकाउँछ।

कात्तिक १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्