स्याङ्जामा प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वर्ल्डकप

पोखरा – स्याङ्जाको पर्यटकीय ठाउँ स्वरेकमा प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वर्ल्डकप–२०१८ शुरु भएको छ।

साहसिक खेल मानिने प्याराग्लाइडिङ प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका हुन्।

विश्वकर्माले नेपालमा पहिलोपटक प्याराग्लाइडिङ खेलको विश्वकप हुनु आफैँमा गौरवको विषय भएको बताए। उनले पछिल्लो समय खेलबाट नेपालले आफ्नो नाम विश्वभर चिनाउँदै जान सफल भएको उल्लेख गरे।

साथै साहसिक खेल र प्याराग्लाइडिङको विकास गर्न संघीय सरकारको तर्फ सहयोग गरिने विश्वकर्माले प्रष्ट पारे।

मन्त्री जगत विश्वकर्मा।

हालै इन्डोनेसियामा सम्पन्न १८औं एशियन गेम्समा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेर पदकविहीन हुनबाट जोगाएको थियो।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ्ग विश्वकप आयोजना गरिएको हो।

स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता १८ गते सम्म हुने छ। प्याराग्लाइडर्सहरुले समूद्र सतहदेखि १६०० मिटरबाट जम्प गर्ने छन् भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन्।

पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्यूरेसी गरी ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल २१ मुलुकको सहभागिता रहने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी दिए।

प्रतियोगितामा विदेशी र स्वदेशी गरी १ सय २० जनाले सहभागिताका लागि नाम लेखाएका छन्।

कात्तिक १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्