प्यूठानमा जेष्ठ नागरिकलाई गाडी भाडामा आधा छुट

दाङ – प्यूठान जिल्लामा सञ्चालन हुने र त्यहाँबाट बाहिरिने सार्वजनिक सवारी साधनले जेष्ठ नागरिकहरुलाई गाडी भाडामामा आधा छुट हुने भएको छ।
प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेको पहलमा सुरक्षा निकाय, यातायात व्यवसायी र जेष्ठ नागरिकको प्रतिनिधित्वमा बसेको बैठकले कात्तिक १५ गतेबाट यातायात भाडामा ५० प्रतिशत छुट दिने भएको हो।
जेष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा–२ मा व्यवस्था भएको तर, हाल सम्म कार्यान्वयनमा आउन नसकेको सार्वजनिक यातायातामा जेष्ठ नागरिकलाई छुट दिने व्यवस्था कार्यान्वयनमा लगिएको प्रजिअ गैरले बताए।
सार्वजनिक सवारी साधनमा २ वटा सिट जेष्ठ नागरिकको लागि सुरक्षीत गर्ने र सो सिटमा यात्रा गर्ने जेष्ठ नागरिकलाई प्राप्त प्रमाणको आधारमा गाडी भाडामा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयनमा लागिएको हो।