क्यारावान आप्रवासी, आश्रय खोजीको एक यात्रा

एक आप्रवासीलाई रोक्न पाँच सुरक्षाकर्मी, ढुंगा हान्नेलाई गोली फर्काउने चेतावनी

सपना र अवसरका बलिया विकल्पहरुको भूमिका रुपमा परिचित छ विश्वभर अमेरिका, चाहे त्यो केही भ्रम या सत्य किन नहोस् ।

सपना र अवसरका विकल्पहरुको खोजी तथा आफू बस्दै आएको ठाउँ भन्दा सबै हिसाबले सुरक्षित स्थानको खोजीमा विश्वभरका देशबाट वैध र अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुको संख्या ठूलो छ । वैध रुपमा प्रवेश गर्नेहरुलाई त समस्या भएन ।

आफ्नो जन्मभूमि र रगत–पसिना बगाएर सिन्चेको माटो त्यागेर हिँड्न बाध्य पारिएकाहरुले जोखिम लिएरै पहिलो रोजाइएको देश अमेरिकाको अनिश्चित यात्रा सुरु गर्छन् । यात्रा कतिले पूरा गर्छन्, कति हिँड्दा परिवारसहित हुन्छन् भने पुग्दा एक्लिसकेका हुन्छन् ।

जे भए पनि भएको भन्दा सुरक्षित र कम्तिमा काम गरे डर बिना खान पाइन्छ भन्ने सपना लिएर उनीहरु अघि बढ्छन्, आप्रवासी बनेर–यस्तालाई भने समस्या छ ।
घरदेशको नागरिकको बलियो हैसियत छोडेर परदेशमा शरणार्थी बन्नका लागि हिँडेका उनीहरुलाई स्वागत गरिएको हुँदैन ।

अझ पछिल्लो समय अमेरिका आप्रवासीहरुका लागि निकै कडा रुपमा प्रस्तुत भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सञ्चालनको बागडोर सम्हालेदेखि उनी आप्रवासीमाथि निकै कडा र कहिले काहिँ त निर्दयी रुपमा प्रस्तुत हुने गरेका छन् ।

सत्तामा आए लगत्तै विशेष गरी मुस्लिम बाहुल्य देशका आप्रवासी र ती देशका नागरिकको अमेरिका प्रवेशमा कडा रुपमा प्रस्तुत भएका ट्रम्पका आप्रवासी विरोधी गितिविधिको निकै कडा आलोचना भयो । त्यसका बाबजुद उनले आप्रवासीमाथिको कडा नीतिबाट टसमस हुने संकेत गरेनन् । पछिल्लो समय उनी मध्य अमेरिकी देशका आप्रवासीमाथि कडा रुपमा प्रस्तुत भएका छन् ।

होण्डुरस, ग्वाटेमाला, एल साल्भाडोरसहित देशका धेरै आप्रवासीहरु आफ्नो देशमा भएको उत्पीडन, गरिबी र हिंसाका कारण भागेर अमेरिका प्रवेशका लागि अघि बढीरहेका छन् । क्यारावान आप्रवासी भनिने उनीहरु मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्ने तयारीमा छन् ।

तर आप्रवासी विरुद्ध कडा रुपमा प्रस्तुत भएका अमेरिकी राष्ट्रपति ट्रम्पले आवश्यक परेमा गोली चलाउन पनि पछि नहट्ने बताएका छन् । मध्य अमेरिकी देशबाट आएका हजारौँ शरणार्थी तथा आप्रवासीहरु अहिले मेक्सिको हुँदै उत्तर तर्फ बढी रहेका छन् ।

ट्रम्पले प्रतिकात्मक रुपमा चेतावनी दिँदै गोली हान्न सक्ने बताएका हुन् । उनले भनेका छन्, ‘कुनै पनि आप्रवासीले अमेरिकी सीमामा ढुंगा हानेको थाहा पाए, जवाफमा सेनाले गोली हान्ने छन् ।’

ट्रम्पले क्यारावान आप्रवासीलाई रोक्नका लागि आफ्नो शक्तिले भ्याएसम्म सबै प्रयास गर्ने बताएका छन् । त्यसका लागि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गर्ने, सीमा पूर्ण रुपमा बन्द गर्ने बताए ।

सुरुमा ढुंगा हान्नेलाई गोली हान्ने बताएका ट्रम्पले पछि कुनै पनि आप्रवासीलाई अमेरिकी आर्मीले गोली नहान्ने तर उनीहरुले ढुंगा हानेमा पक्राउ गरिने भने । जे भनिए पनि वा कुरा फेरिए पनि अहिले अमेरिका तर्फ अघि बढीरहेका क्यारावान आप्रवासीका लागि यो यात्रा सहज हुने छैन भन्ने पक्का भएको छ ।

आप्रवासी समस्या जटिल बन्दै गएका बेला ट्रम्पको प्रस्तुति र सुरक्षाको खोजीमा अमेरिका तर्फ बढ्दै गरेका मध्य अमेरिकी देशका आप्रवासीको व्यवस्थापनमा कठिनाई आउने देखिएको छ ।

मानवअधिकारवादी र आप्रवासीको क्षेत्रमा काम गर्दै आएकाहरुले आप्रवासीको अधिकार र ज्यानको सुरक्षा हुनु पर्नेमा चासो देखाएका छन् ।
जसरी क्यारावान आप्रवासीहरु अमेरिका तिर अघि बढीरहेका छन्, त्यसरी नै उनीहरुलाई रोक्नका लागि राष्ट्रपति ट्रम्पको निर्देशनपछि सीमा क्षेत्रमा सेनाको उपस्थिति बढेको छ ।

अमेरिकी पत्रिका वासिङ्गटन पोस्टका अनुसार सातहजार भन्दा बढी थप आर्मी सीमा क्षेत्रमा परिचालित भएका छन् । यस्तै सीमा क्षेत्रमा काँडे तारसहितको जाली थप गर्ने काम पनि भइरहेको छ ।

सात हजार भन्दा बढी क्यारावान आप्रवासी अमेरिका प्रवेशका लागि भन्दै मेक्सिकोबाट अघि बढेका छन् । अमेरिकाले एक आप्रवासीलाई रोक्नका लागि पाँच सुरक्षाकर्मी खटाउने गरी तयारी गरेको छ ।

आश्रयको खोजीमा अमेरिका आउन लागेका आप्रवासीहरुले अमेरिकी राष्ट्रपति ट्रम्प र उनको प्रशासनले रोक्नका लागि गरेको प्रयास असंवैधानिक रहेको भन्दै आप्रवासीको पक्षमा रहेकाहरुले मुद्दा दर्ता गरेको अमेरिकी सञ्चारमाध्यम सिएनबिसीले जनाएको छ ।

उनीहरुले ट्रम्पसहित महान्यायाधीवक्ता जेफ सेसन्स तथा अरु प्रमुख अधिकारी विरुद्ध वासिङ्गटन डिसीको जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा आप्रवासीप्रति गरिएको कडा व्यवहारको विपक्षमा उभिएका छन् । तर ट्रम्पले भने मिडियाले प्रश्न गरेर हिंसाको अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।

पृष्ठभूमि,


गएको अक्टोबर १२ मा आपराधिक घटनाले ग्रस्त होण्डुरसको शहर सन पेड्रो सुलामा १६० जना बस स्टेसनमा जम्मा भएर अमेरिका पुग्ने यात्राको सुरु गर्ने तयारीमा थिए ।

उनीहरुले देशमा रहेको हिंसा र बेरोजगारीबाट मुक्ति पाउनका लागि यो यात्राको तयारी एक महिना भन्दा लामो समयदेखि गरेका थिए । यस्ता आप्रवासीको संख्या तब बढ्यो जब एक पूर्व राजनीतिज्ञले यसबारेको खबर फेसबुकमा सेयर गरे ।

अक्टोबर १३ को बिहानै संख्या १००० पुग्यो । त्यसपछि उनीहरुले यात्रा सुरु गरे । उनीहरु ग्वाटेमाला हुँदै मेक्सिको छिरे ।

यात्राको क्रममा होण्डुरससँगै एल साल्भाडोर तथा ग्वाटेमालाका आप्रवासी पनि थपिए र अहिले संख्या सात हजार कटेको बताइन्छ । यही ग्रुपलाई क्यारावान आप्रवासी भन्ने गरिएको छ ।

(यो सामग्री तयार पार्नका लागि रोयटर्स, बिबिसी, एपी, एएफपी, वासिङ्गटन पोस्ट, सिएनबिसी, सिएनएन, द गार्डियनसहितको सहयोग लिइएको हो ।)

तस्बिरहरु : एपी, इपिए, गेट्टी इमेज र एएफपी

कार्तिक १७, २०७५ मा प्रकाशित