प्रदेशमा बस्दैनन् सांसद, काठमाडौँमै हुन्छन्

जनकपुरधाम – प्रदेश अधिकारीलाई अधिकार दिइएन भनेर संघीय सरकारको आलोचन गर्ने प्रदेशसभाका अधिकांश सांसदहरु आफूभने अधिकांस समय प्रदेश बाहिर बस्दै आएका छन् । अत्यावश्यक बेला बाहेक अधिकांश प्रदेश सांसद काठमाडौँ केन्द्रित हुने गरेका छन् ।

प्रदेशसभाको अधिवेशनका लागि अस्थायी राजधानी जकपुर बसेपनि बाँकी समय काम नहुने भन्दै सांसदहरु काठमाडौँमै केन्द्रित हुने गरेका हुन् । जसले गर्दा प्रदेशसभाको बैठक चल्दा पनि न्युन मात्र सांसद उपस्थित हुने गरेका छन् ।

प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने राजपाका महासचिव मनिस सुमन काम नभएका बेला आफूहरु काठमाडौँ नै बस्ने गरेको बताउँछन् । ‘अधिवेशन नचलेको बेला हाम्रो खासै काम हुँदैन । जसले गर्दा काठमाडौँमै हुन्छु, उनले भने ।

चुनावका बेला रातदिन जनताको घरदैलोमा पुगेर मत मागे पनि दसैँ, तिहार जस्ता ठूला चाडवाडमा विदा भएको बेला काठमाडौँ नै बस्ने गरेका छन् । यता, संसद बैठक नभएको बेला केही सांसदहरु आ–आफ्नो जिल्लामा र केही काठमाडौँमा बस्ने गरेको सासंद रामचन्द्र मण्डलले बताए ।

प्रदेशको राजधानी टुंगो नलागेकोले सांसदहरु कहाँ बस्ने भने अन्यौलमा रहेको नेकपा माओवादीका संसदीय दलका नेता समेत रहेका रामचन्द्र मण्डलले बताए । मण्डलले भने, ‘राजधानीको चयन नहुँदा सांसदहरुमा स्थिरताको अभाव रहेकोले हाउस चलेको बेला जनकपुर आउने र प्रदेशसभा सकेपछी आफ्नो जिल्ला फर्कने गर्छन् भने केही काठमाडौँ जाने गर्छन् ।’

यता, प्रदेश २ का नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले भने केन्द्रीय संसद जस्तो प्रदेशमा कहिल्यै कोरम अपुग नभएको बताउँछन् ।

कोरम पुग्नलाई २५ प्रतिशत संख्या चाहिएको हुन्छ र सदनमा त्यो भन्दा बढीको उपस्थिती हुँदै आएको यादव बताउँछन् । उनी भन्छन्, ‘धरैजसो सांसदले जनकपुरमा कोठा लिएर बसेपनि सदन नभएको बेला उनीहरु आफ्नो जिल्ला जाने गरेका छन् ।’

दसैँ तिहारमा पनि संसद चलेको बेला सांसदहरु जनकपुरमै बस्ने गरेको भन्दैै सदनमा उपस्थित हुन नसक्ने सांसद दलमा खबर गर्ने अथवा सभामुखलाई भनेर मात्र अनुपस्थित हुने गरेको यादवले बताए ।

सांसद मञ्जु कुमारी यादव सार्वजनिक पद धारण गरेकोले विशेष जिम्मेवारी बहन गर्नुपर्छ तर यो जिम्मेवारीको बोध नभएको कारण पनि हाउसको उपस्थितीमा कमी देखिएको बताउँछिन् ।

दसैँको तिहारको बेला सार्वजनिक विदा भएकोले सासंदहरु आफ्नो कामहरु पुरा गर्न काठमाडौँमा रहेको उनको भनाई छ ।

केही दिन यता काठमाडौँमै रहेकी सांसद यादव भन्छिन्, ‘अहिले सदन चलेको छैन र पर्वतिहारले गर्दा विदाको समय पनि छ, त्यसैले बाँकी काम पुरा गर्न काठमाडौँ आएकी हुँ ।’

कात्तिक १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्