सरकार अधिनायकवाद लाद्न खोजिरहेको छः शेखर कोइराला

कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइराला।

विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकार लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन्।

डेमोक्रेटिक लयर्स एशोसिएशन प्रदेश नम्बर एकद्वारा विराटनगरमा शनिबार आयोजित कार्यक्रममा नेता कोइरालाले न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चार क्षेत्रलाई कमजोर बनाउने खेलमा सरकार लागि परेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण लगायतका महत्वपूर्ण निकाय बालुवाटारमा सारेर मुलुकमा भ्रष्टाचारलाई प्रश्रय दिने काम गरिरहेको कोइरालाको टिप्पणी छ।

न्यायापालिकामा पछिल्लो समय सरकारको हस्तक्षेप बढ्दै गएका कारण सो क्षेत्र निरीह बन्दै गएको उनको भनाइ छ।

कोइरालाले भने, ‘वर्तमान सरकार लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाएर मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद जबरजस्ती लाद्न खोजिरहेको छ।’ जसका कारण संवैधानिक सर्वोचता र शक्ति सन्तुलनको क्षयीकरण हुँदै गएको कोइरालाले दाबी गरे।

कार्यक्रममा कांग्रेस राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, डिएलए प्रदेश–१ का अध्यक्ष मुरारी पोखरेल लगायतले संविधान र लोकतन्त्रलाई संस्थागत गर्ने दायित्व कांग्रेसको काँधमा आएको जनाएका थिए।

कात्तिक १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्