आसिया बिबी र ईश्वर निन्दा मुद्दा

सर्वोच्चको एक फैसलाले अशान्त पाकिस्तान, जोखिममा मृत्युदण्डमुक्त आसिया बिबी र उनको परिवार

पाकिस्तानमा पछिल्लो केही दिनयता देशभर सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भइरहेको छ ।

एक महिलालाई ईश्वरको निन्दा गरेको आरोपमा तल्लो अदालत तथा उच्च अदालतले मृत्युदण्डको सजाए सुनाएकोमा सर्वोच्च अदालतको तीन न्यायाधीशको बेन्चले गएको बुधबार महिलाको पक्षमा फैसला सुनायो ।

अर्थात तल्ला अदालतको फैसला रद्द गर्दै ईश्वरको निन्दा गरेको आरोप लागेकी इसाई महिला आसिया बिबीलाई रिहा गर्न आदेश दियो । त्यसयता पाकिस्तानभर सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन भइरहेको छ ।

आश्रयका लागि अपिल


पैगम्बर मोहम्मदको निन्दा गरेको आरोपबाट मुक्त भएर रिहा भएकी आसिया बिबीका श्रीमान आशिक मसीहले आफ्नो जिउज्यानकै सुरक्षामा खतरा रहेको भन्दै अमेरिका, बेलायत वा क्यानडासँग आश्रयका लागि अपिल गरेका छन् ।

आसिया बिबीका श्रीमान आशिक मसीहले भिडियो सन्देश जारी गर्दै अमेरिका, क्यानडा तथा बेलायतका नेतासँग आश्रयका लागि अपिल गरेका हुन् । उनले आसिया, आफू र छोरीको ज्यान जोखिममा रहेको बताएका छन् ।

पाकिस्तानमा आफूहरुमाथि जुनसुकै बेला जे पनि हुन सक्ने खतरा रहेको उनले सन्देशमा उल्लेख गरेका छन् । यसअघि जर्मन प्रशारक संस्था डिडब्लुसँगको अन्तर्वार्तामा आशिकले आफ्नो परिवार निकै डराएको अवस्थामा रहेको बताएका थिए ।

प्रदर्शन रोक्ने प्रयास


सर्वोच्च अदालतले गरेको फैसलापछि पाकिस्तानका अधिकांश क्षेत्रमा विरोध प्रदर्शनहरु भइरहेका बेला सरकारले यसलाई रोक्न प्रयास गरेको छ तर सफल हुन सकेको छैन ।

पाकिस्तान सरकारले कट्टर इस्लामिक पार्टी तहरिक–ई–लाबाइक (टिएलपी) सँग सम्झौता गरेको छ, जसअनुसार आसिया बिबीले पाकिस्तान छोड्न पाउने छैनन् ।

यो सम्झौता गलत रहेको आसियाका श्रीमान आशिकले डिडब्लुसँगको अन्तर्वार्तामा भनेका थिए । यसले न्यायपालिकाको स्वतन्त्रता हनन् हुने उनको भनाई छ । आशिकले आफूहरुको सुरक्षाका लागि कुनै प्रबन्ध नगरिएको बताएका छन् ।

तर पाकिस्तान सरकारले भने सुरक्षाको प्रबन्ध गरिएको दाबी गरेको छ । सूचना मन्त्री फवाद चौधरीका अनुसार आसिया बिबीलाई बचाउनका लागि सुरक्षा सतर्कता बढाइएको छ ।

प्रदर्शनकारीसँग भएको सम्झौताको बचाउ गर्दै हिंसाको अवस्था रोक्नका लागि सम्झौता गरिएको उनले बताए । प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारलाई आसिया बिबीको मामिला निकै कठिन बन्दै गएको छ ।

अहिले आसिया बिबी कहाँ छन् भन्ने केही बताइएको छैन भने उनका वकिलले देश छाडेका छन् ।

आरोपको पृष्ठभूमि,


आसिया बिबीमाथि एक मुस्लिम महिलासँग कुराकानीको क्रममा पैगम्बर मोहम्मदका बारेमा आपत्तिजनक कुरा गरेको आरोप थियो । यो आरोप आसिया बिबीले स्पष्ट रुपमा अस्वीकार गरेकी छन् ।

पाकिस्तानमा ईश्वर निन्दा एक गम्भीर अपराध मानिन्छ । यहि कानुनको गलत प्रयोग गरेर अल्पसंख्यकलाई फसाउने गरिएको आपरो लाग्ने गरेको छ ।

यो घटना सन् २००९ को जुन १४ को हो, त्यो दिन आसिया बिबी गाउँका अरु महिलासँग काम गर्न गएकी थिइन् । त्यसक्रममा झगडा हुँदा उनले ईश्वरको निन्दा गरेको आरोप थियो । आसियाले यो घटनाका बारेमा पुस्तक लेखेकी छन् । यसमा उनले घटनाबारे बिस्तारमा बताएकी छन् ।

ईश्वर निन्दाको आरोपमा तल्लो अदालत र उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएकोमा सर्वोच्च अदालतले आरोपबाट मुक्त गर्दै तत्काल रिहा गर्न आदेश दियो । आसिया बिबीले उच्च न्यायलयको फैसला विरुद्ध सर्वोच्चमा दिएको उजुरीमा गएको बुधबार फैसला आएको हो ।

पाकिस्तानी सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले अक्टोबर ८ मा फैसला सुरक्षित गरेको थियो । त्यहि फैसला बुधबार सुनाइएको हो ।

फैसला सुनाउँदै सर्वोच्च अदालतका मुख्य न्यायाधीश मिया साकिब निसारले उच्च न्यायालय र तल्लो अदालतको फैसला रद्द गरेको घोषणा गरे । उनले भनेका थिए, ‘आसिया बिबीलाई दिइएको सजाय सम्बन्धी फैसला अस्वीकार गरियो । यदी अरु कुनै आरोपमा उनीमाथि मुद्दा चलेको छैन भने तत्काल रिहा गरियोस् ।’

तस्बिरहरु : इपिए, एएफपी र गेट्टी इमेज

कात्तिक १८, २०७५ मा प्रकाशित