पत्रकार जमाल खाशोग्गी हत्या प्रकरण र साउदी राजपरिवारमा परेको असर

शक्तिशाली युवराजका कडा आलोचक राजकुमार झण्डै एक वर्षपछि रिहा

पत्रकार जमाल खाशोग्गीको टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको हत्यापछि दबाबमा आएका साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमानको निर्देशनमा झण्डै वर्षदिनअघि पक्राउ परेका साउदी राजपरिवारका एक सदस्य रिहा भएका छन् ।

शक्तिमा आएका क्राउन प्रिन्स मोहम्मदले एक वर्षअघि सुरु गरेको भ्रष्टाचार विरोधी अभियानको आलोचना गरेकोमा पक्राउ परेका युवराज खालिद बिन तलाल रिहा भएको बिबिसीले उल्लेख गरेको छ । युवराज खालिदका आफन्तले परिवारका सदस्यसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

राजकुमार खालिद राजा सलमानका भतिज हुन् । उनका दाइ राजकुमार अलवादीद बिन तलालसहित राजपरिवारका अन्य सदस्य र उच्च अधिकारीहरु भ्रष्टाचार विरोधी अभियान अन्तर्गत गएको वर्ष पक्राउ परेका थिए । राजकुमार खालिदले त्यसको विरोध गरे र उनी पनि पक्राउ परे ।

पछिल्लो समय अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका क्राउन प्रिन्सका कडा आलोचक पत्रकार खाशोग्गीको टर्कीमा भएको हत्यापछि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएका बेला राजकुमार खालिदको रिहाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हत्यामा खराब नियत भएका एजेन्टहरुको संलग्नता रहेको बताए पनि साउदी अरेबियाको भनाईबाट अन्तर्राष्ट्रिय समुदाय सन्तुष्ट भएका छैनन् । क्राउन प्रिन्स मोहम्मदकै निर्देशनमा खाशोग्गीको हत्या भएको आशंका गर्नेहरु धेरै छन् ।

अझ टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले वासिङ्गटन पोस्टका लागि लेखेको लेखमा हत्या उच्च साउदी अधिकारीको निर्देशनमा भएको र राजा सलमानको संलग्नता नरहेको उल्लेख गरेर औँला युवराज मोहम्मद तिर सोझ्याएका छन् ।

अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको दबाबकाबिच पक्राउ गरिएका सदस्यहरुलाई रिहा गरेर राजपरिवार भित्र आपसी सहयोगको वातावरण बनाएर अहिलेको समस्याग्रस्त अवस्थाबाट बाहिर आउने प्रयासमा साउदी राजा सलमान र युवराज मोहम्मदको रहेको विश्लेषण गरिएको छ ।

साउदी सरकारले अहिलेसम्म राजकुमारमा खालिदको पक्राउका सम्बन्धमा कुनै औपचारिक जानकारी दिएको थिएन र उनी रिहा भएको बारेमा पनि केही बताएको छैन ।

तर राजकुमारहरु, मन्त्री तथा व्यवसायीसहित २०० जना भन्दा बढीलाई पक्राउ गरिएकोमा विरोध गरेका खालिद ११ महिना भन्दा बढी नियन्त्रणमा रहेको द वालस्ट्रिट जर्नलले जनाएको छ । साउदी सरकारले पक्राउ परेकाहरुलाई राजधानी रियादका होटलहरुमा राखिएको छ ।

यसअघि शुक्रबार राजा सलमानका भाइ तथा युवराज मोहम्मदका आलोचक साउदी राजकुमार अहमद बिन अब्दुलाजिज अल–साउद साउदी अरेबिया फर्किएका छन् । शीर्ष साउदी राजकुमार अहमद साढे दुई महिनाको विदेश बसाईपछि रियाद फर्किएका हुन् ।

पत्रकार खाशोग्गीका हत्यापछि साउदी राजपरिवारमाथि अन्तर्राष्ट्रिय दबाब बढी रहेका बेला अहमदको स्वदेश फिर्तीले उनको भूमिकाका बारेमा आशंका सिर्जना गरेको द न्युयोर्क टाइम्स, समाचार संस्था रोयटर्स र फाइनान्सियल टाइम्सले उल्लेख गरेका छन् ।

गएको अक्टोबर २ मा स्थानबुलमा रहेको साउदी कन्सुलर कार्यालयमा हत्या भएका पत्रकार खाशोग्गीको शरीर हत्यापछि एसिड खन्याएर नष्ट गरिएको वासिङ्गटन पोस्टले टर्कीका अधिकारीलाई उद्धृत गर्दै खबर छापेका बेला हत्यामा हात रहेको आरोप लागेका युवराज मोहम्मदका आलोचकको स्वदेश फिर्तीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

कात्तिक १८, २०७५ मा प्रकाशित