नेपाल चिनाउन अस्ट्रेलियाका तीन सहरमा ‘नेपाल फेस्टिभल’

एनआरएनए अस्ट्रेलियाको आयोजना तथा नेपाली दूतावास क्यानबेरा, नेपाल पर्यटन बोर्ड, न्यू साउथ वेल्स र भिक्टोरिया राज्यका महावाणिज्यदूतावास र अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरूको सहकार्यमा सन् २००६ देखि हरेक दुई, दुई वर्षमा आयोजना गरिँदै आएको अस्ट्रेलियाको सबैभन्दा ठूलो नेपाली महोत्सव ‘नेपाल फेस्टिभल’ यस वर्ष पनि अस्ट्रेलियाका विभिन्न शहरहरूमा आयोजना गरिँदैछ । फेस्टिभल ब्रिसबेनमा नोभेम्बर १७ तारिख, सिड्नीमा नोभेम्बर २४ तारिख र मेलवर्नमा डिसेम्बर १५ तारिखमा आयोजना हुने एनआरएनए अस्ट्रेलियाले जनाएको छ ।

‘देश एक, कथा अनेक’ नाराका साथ आयोजना गर्न लागिएको यस वर्षको नेपाल फेस्टिभलले नेपाली कला, संस्कृति र परम्परालाई अस्ट्रेलियामा रहेका नेपाली तथा विदेशीलाई चिनाउनेछ। त्यसैगरी महोत्सवले अस्ट्रेलियामा रहेका नेपालीहरू बीच सद्भाव र भाइचारा अभिवृद्धि गर्न, बहुसांस्कृतिक अस्ट्रेलियामा सांस्कृतिक सामञ्जस्यता कायम गर्न तथा नेपाललाई विश्वमाझ एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउनसमेत मद्दत गर्नेछ। नेपाली खानाका विभिन्न परिकारले महोत्सवमा उपस्थित सबैलाई नेपाली परिकार चाखेर नेपाली स्वादको झझल्को मेट्न मद्दत गर्नेछ भने नेपाली पोशाकमा सजिएर प्रस्तुत हुने विभिन्न सांगीतिक प्रस्तुतिले एकछिन नेपालमैँ भएको अनुभूति धेरैलाई गराउनेछ। यसका साथै अस्ट्रेलियामा आएका नवआगन्तुक नेपालीहरूलाई अस्ट्रेलियन समुदायमा कसरी भिज्ने भन्ने जानकारी दिनुका साथै अस्ट्रेलियामा जन्मिएका नेपाली मूलका दोश्रो पुस्ताका नेपालीहरूले नेपालबारे जान्ने र बुझ्ने अनुपम मौका पाउनेछन्।

नेपाल फेस्टिभलको आयोजनाका लागि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु गोथाने संयोजक, नारायण कोइराला सचिव तथा एनसिसी (न्यासनल कोअर्डिनेसन काउन्सिल)का पदाधिकारीहरू सदस्य रहनेगरी नेपाल फेस्टिभल राष्ट्रिय टास्कफोर्स गठन गरिएको छ । फेस्टिभलको शुरुवात नेपालका विभिन्न जातजाति, समुदाय, संस्कृति, परम्परा र भेषभुषा झल्किने प्रदर्शनी ‘सांस्कृतिक परेड’बाट शुरु हुने गर्दछ । त्यसपछि फेस्टिभल आयोजना हुने मुख्य स्थानमा जम्मा भएर विभिन्न कार्यक्रमहरू, प्रदर्शनीहरू तथा सांस्कृतिक प्रस्तुतीहरू पेश गरी सम्पन्न हुने गर्दछ ।

नेपाल फेस्टिभल ब्रिसबेन २०१८ (नोभेम्बर १७)
नारायण कोइराला, ब्रिसबेन।

एनआरएनए अस्ट्रेलियाका महासचिव तथा ‘नेपाल फेस्टिभल राष्ट्रिय टास्कफोर्स’का सचिव नारायण कोइरालाले यसपटकको ब्रिसबेन फेस्टिभलमा पहिलेभन्दा अझ बढी नेपाली तथा विदेशीलाई समावेश गर्ने प्रयत्न गरिरहेको बताए । उनले भने – ‘ब्रिसबेनको मुटु किङ जर्जेज स्क्वायरमा चौँथोपटक १७ नोभेम्बरमा आयोजना हुने यसपटकको नेपाल फेस्टिभललाई १० हजारभन्दा बढी मानिसहरूले अवलोकन गर्ने लक्ष्य लिएका छौँ । यसका लागि सन्तोष कुँवरको संयोजकत्वमा ३६ सदस्यीय व्यवस्थापन समिति अन्तर्गत २० वटा उपसमितिहरू गठन गरिएको छ । गत फेस्टिभलमा मौसमले साथ नदिए पनि उल्लेख्य सहभागिताबाट हौसिएका हामीले यसपालि नेपाली र विदेशीहरूको उत्तिकै सहभागिता हुने लक्ष्य लिएका छौँ । नेपाल फेस्टिभल ब्रिसबेनको प्रचारप्रसारका लागि ५ हजारभन्दा बढी फ्लायर (पर्चा) हरू शहरका मुख्य क्षेत्रमा वितरण गरिनेछ । यसका साथै नेपाली तथा अंग्रेजी भाषामा सामाजिक सञ्जाल, स्थानीय पत्रपत्रिका तथा रेडियो स्टेशनहरूमा समेत प्रचारप्रसारका लागि पहल गरिरहेका छौँ । यो फेस्टिभलमा केही समयअघि तयार पारिएको एनआरएनए आइडी कार्ड पनि वितरण गरिनेछ ।’

यसपटकको नेपाल फेस्टिभल ब्रिसबेनको एक आकर्षण ‘नेपाल हाउस’का लागि नेप्लिज एसोसिएसन अफ क्विन्सल्याण्डले पहल गरेको छ जस्मा नेपालका विभिन्न संस्कृति तथा परम्पराहरू झल्किने कलाकृतिहरू प्रदर्शन गरिनेछ । साथै क्विन्सल्याण्ड राज्यका अन्य नेपाली समुदायहरूसँग सहकार्य गरेर फेस्टिभललाई प्रभावकारी बनाउन नेपालीहरूलाई आफ्ना विदेशी साथीलाई समेत ल्याउनका लागि अनुरोध गरिएको जनाइएको छ । सहभागीहरूलाई मनोरञ्जन दिनका लागि स्थानीय कलाकार तथा नेपालबाट आउने कलाकारहरू राजेश पायल राई, विश्व नेपाली, शिव हमाल र तृष्णा गुरुङको प्रस्तुति रहनेछ ।
नेपाल फेस्टिभल सिड्नी २०१८ (नोभेम्बर २४)
नन्दु गुरुङ, सिड्नी।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेस्टिभल सिड्नीका संयोजक नन्द गुरुङले यसपटकको सिड्नी महोत्सवको ७ औँ संस्करण हुने र पहिलेको भन्दा केही फरक र भव्य हुने जानकारी दिए । उनले भने – ‘सिड्नीको मुटु डार्लिङ हार्वरस्थित तुम्बालोङ पार्कमा आगामी नोभेम्बर २४ तारिखमा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०१८’ आयोजना गर्नका लागि यसपटक २८ वटा उपसमितिको गठन गरेका छौँ । प्रत्येक उपसमितिहरूले आआफ्नो क्षेत्रमा कार्यहरू तीव्र रूपमा गरिरहेका छन् । विगतका अनुभवहरूबाट शिक्षा लिएर यसपटकको नेपाल फेस्टिभललाई वातावरणमैत्री बनाउनका लागि ‘कलेक्ट एण्ड एजुकेट’ ग्रुपको सहयोगबाट फेस्टिभल क्षेत्रबाट पेय पदार्थका बोटलहरू संकलन गरिनेछ । साथै, फेस्टिभलमा राखिने प्रत्येक स्टलहरूलाई बायोडिग्रेडेबल अथवा वातावरणमैत्री कप, प्लेटहरूको प्रयोग गर्न अभिप्रेरित गर्नेछौँ । यसका अतिरिक्त यस पटकको नेपाल फेस्टिभलमा अन्तर्राष्ट्रिय मिडियाहरूलाई पनि सहभागी गराउनका निमित्त गृहकार्य अगाडि बढाएका छौँ । त्यसका लागि केही अस्ट्रेलियन कलाकारहरूलाई पनि फेस्टिभलमा समावेश गर्न प्रयास गरिरहेका छौँ ।’

उनले अगाडि भने– ‘यसपटकको नेपाल फेस्टिभल सिड्नीको प्रचारप्रसार गर्नका लागि नेपालीको बाक्लो उपस्थिति रहेका ठाउँहरूको काउन्सिलका पत्रिकामा विज्ञापन दिने, सिड्नीको नेपाली रेष्टुरेन्टहरूमा रहेका डिजिटल साइनबोर्डमा विज्ञापन गर्नेदेखि पहिलोपटक हामीले प्रोमो भिडियोसमेत बनाएका छौँ । यो प्रोमो भिडियो सिड्नीभर आयोजना भइरहेका विभिन्न कार्यक्रमहरूमा देखाएर नेपाल फेस्टिभलको जानकारी दिने गरेका छौँ । त्यसैगरी यसपटक फेस्टिभलमा राखिने ‘नेपाल हाउस’लाई स्वयम्भूको झझल्को दिनेगरी बनाइनेछ जस्मा कृषिलाई आधार बनाएर मिथिला आर्ट, कृषि औजार लगायत नेपालको संस्कृति झल्किने सामग्री तथा कलाको प्रदर्शन गरिनेछ । त्यसैगरी यसपटक पाहुनाहरूको स्वागत गर्दा खादाको मात्र नभएर आआफ्नो संस्कृतिअनुसार फेटा, खादा, माला आदिको पनि प्रयोग गरिनेछ । यसपटकको नेपाल फेस्टिभलको सिड्नी संस्करणलाई ५० हजारसम्म मान्छेले अवलोकन गर्ने लक्ष्य लिएका छौँ ।’

स्थानीय कलाकारहरू ईश्वर पोखरेल, संजीव पराजुली, संमीर आचार्य, राजेश केसीलगायतका कलाकारहरूले नेपाल फेस्टिभल सिड्नीलाई संगीतमय बनाउनेछन् छन् भने नेपालबाट आउने कलाकारहरू राजेशपायल राई, तृष्णा गुरुङ, विश्व नेपाली, पशुपति शर्मा र शिव हमालले उपस्थित दर्शकलाई नेपाली गीत संगीतबाट भरपुर मनोरञ्जन दिलाउनेछन् ।

सन् २०१० देखि निरन्तर नेपाल फेस्टिभल सिड्नीमा आफ्नो प्रस्तुती पेश गर्दै आएका गायक ईश्वर पोखरेलले यसपटक पनि आफ्नो सांगीतिक प्रस्तुति पेश गर्ने बताए । उनले भने – ‘नेपाली कला क्षेत्रको योगदानमा सिड्नीका स्थानीय कलाकारहरूको भूमिका महत्वपूर्ण छ । प्रवाशमा रहेर कला क्षेत्रलाई निरन्तरता दिनु आफैँमा चुनौतीपूर्ण रहे पनि धेरै कलाकार साथीहरूले यसलाई निरन्तरता दिइरहनुभएको छ । स्थानीय कलाकारहरूलाई नेपाल फेस्टिभलमा उपयुक्त स्थान दिनु कलाकारहरूको सम्मान गर्नुजस्तै हो । मलाई आशा छ, आगामी दिनमा पनि आयोजक संस्थाले स्थानीय कलाकारहरूलाई उपयुक्त स्थान दिएर नेपाली गीत, संगीतको क्षेत्रमा अझ अगाडि बढ्ने प्रेरणा प्रदान गर्दै जानेछ ।’
नेपाल फेस्टिभल मेलबर्न २०१८ (डिसेम्बर १५)
डिसेम्बर १५ तारिख शनिबारका दिन मेलबर्नको मुटु फेडेरेसन स्क्वायरमा हुने ‘नेपाल फेस्टिभल मेलबर्न’ ले मेलवर्ननिवासी दक्षिण एसियाली समुदायलाई एकै ठाउँमा ल्याएर अस्ट्रेलियामा रहेको बहुसांस्कृतिक अस्तित्व सुधार्न सहयोग गर्नेछ । संसारका विभिन्न देशहरूबाट आएका आप्रवासी हुन् वा अस्ट्रेलियाका आदिवासी हुन् अथवा यही जन्मेका अस्ट्रेलियन नै किन नहुन्, सबैले यो सहअस्तित्वको भावनालाई अभिप्रेरित गरेर नयाँ युगमा हाम्रा भावी पुस्तलाई यसको महत्वका बारेमा बताउन र सिकाउन यस फेस्टिभलले मद्दत गर्ने कुरा नेपाल फेस्टिभल मेलबर्न आयोजक समितिले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ । सन् २००८ मा पहिलोपल्ट आयोजना गरिएको नेपाल फेस्टिभल मेलबर्नको यो वर्ष आफ्नौ १० औँ वार्षिकोत्सव मनाउनेछ ।
केशव कँडेल, मेलबर्न।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा नेपाल फेस्टिभल मेलबर्नका संयोजक केशव कँडेलले यो वर्ष नेपाल फेस्टिभल मेलबर्नलको सांस्कृतिक परेडलाई नेपाल फेस्टिभलकै इतिहासको सबैभन्दा विशाल परेड बनाउने लक्ष्य लिएको बताए । उनले भने – ‘नेपाल फेस्टिभल मेलबर्न एनआरएनए अस्ट्रेलियाले आयोजना गर्ने भए पनि यसका लागि भिक्टोरिया राज्यका सम्पूर्ण सामुदायिक संघ/संस्थाहरूसँग सहकार्य तथा सहभागी गराएर अघि बढेका छौँ । फेस्टिभलमा उपस्थित हुने दर्शकहरूका लागि तीन, चारवटा ‘सरप्राइज प्याकेज’ लिएर आउने योजना बनाएका छौँ । गत फेस्टिभलमा ३७ हजार दर्शकको उपस्थिति भएको थियो भने यसपटक हामीले त्यो संख्या ४५ हजार पुर्‍याउने लक्ष्य लिएका छौँ। त्यसका लागि विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको छ । सामाजिक सञ्जाल, पत्रपत्रिका तथा स्थानीय रेडियोहरूमा समेत विज्ञापनहरू दिइनेछ । अस्ट्रेलियन नागरिकहरूलाई फेस्टिभलमा आकर्षित गर्नका लागि सामाजिक सञ्जालमार्फत् रजिष्ट्रेसन गर्न अभिप्रेरित गरेका छौँ । रजिष्टर्ड हुनेमध्ये एकलाई लक्की ड्रमार्फत् नेपाल आउनेजाने टिकटको व्यवस्था गरिनेछ ।’

उनले अगाडि भने – ‘यो फेस्टिभल अस्ट्रेलियाका नेपाली समुदायले आफ्नो सांस्कृतिक तथा मौलिक परम्परालाई अगाडि बढाएर अन्य समुदायसँग सहअस्तित्व र भाइचारा बढाउनका लागि विभिन्न समुदायको वेग्लावेग्लै सहभागिता र प्रस्तुती रहनेछ । यो अस्ट्रेलियावासी सबै नेपालीहरूले भरपुर मनोरञ्जन लिने अवसर पनि हो । त्यसैले मैले अस्ट्रेलियावासी सम्पूर्ण नेपालीहरूलाई फेस्टिभलमा सहभागी भएर सफल पार्नका लागि हार्दिक अनुरोध गर्दछु ।’
नेपाल फेस्टिभल मेलबर्नका लागि करिब १ लाख २७ हजार अस्ट्रेलियन डलरको अनुमानित बजेट छुट्याइएको छ । फेस्टिभललाई सफल पार्नका लागि स्वयम्सेवकहरूबाट करिब ५ हजार १ सय घण्टा बराबरको सहयोग लिइनेछ । मेलबर्न फेस्टिभलमा राखिने ‘नेपाल हाउस’ले नेपालको हिमाल, पहाड र तराईलाई झल्काउने विभिन्न सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनी गरिनेछ भने ‘नेपाली कल्चरल भिलेज’ बनाउने प्रयत्न भइरहेको छ । त्यसैगरी स्थानीय तथा नेपालका प्रख्यात कलाकारहरू मिलन लामा, अभया एण्ड स्टिम एन्जिनसँग सम्झौता भइसकेको छ जस्ले लाइभ कन्सर्टद्वारा उपस्थित दर्शहरूलाई मनोरञ्जन दिनेछन् । नेपाली खानाका ९ वटा स्टलहरू राखिनेछन् जस्ले नेपालका विभिन्न भेगका परिकारहरूलाई समेट्नेछन् । त्यसैगरी फेस्टिभलमा थुप्रै व्यवसायिक स्टलहरू पनि राखिने जनाइएको छ ।
कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू