सयपत्री फूल टिप्दै गरेकी इचंगुनारायणकी माइली तामाङ्ग । तस्बिर : बर्षा शाह/देश सञ्चार
सयपत्रीले ढाकिएको बारी

फूलसँग लुकामारी खेल्नेहरु

दाजुभाइ–दिदी बहिनीबिचको सम्बन्धमा शारदीय सुन्दरता थप्ने माध्यम बनेर आउँछ सयपत्री । तिहार भाइ–चेली सम्बन्धको उत्कृष्ट अवसर, यो अवसरलाई रंगिन बनाउने माध्यम सुनौलो रंगको सयपत्री ।

सयपत्रीहरुले गाउँघरका आँगनका डिल र बारीका कान्लाहरु सुनौला बनेका छन् । यहि फूल व्यवसायिक रुपमा खेती गर्नेहरु पनि छन् । फूललाई जीविकाको माध्यम बनेकाहरु मध्येकी एक हुन् काठमाडौँ इचंगुनारायणकी माइली तामाङ्ग । स्वयम्भूबाट पश्चिमतिर इचंगुनारायणमा पुग्दा माइली तामाङ्ग बारीमा सयपत्री टिप्दै थिइन् ।

तिहारका लागि रोपेको सयपत्री उनको पाखो बारीलाई पहेँलै बनाउने गरी फूलेको छ । त्यहि फूलसँग लुकामारी खेल्दै, कहिले फूलजस्तै मुस्काउँदै, कहिले फूलसँगै बातमार्दै माइलीका पछिल्ला दिन चलिरहेका छन् ।

माइलीले बर्सेनि तिहारका लागि फूल व्यवसायिक रुपमा लगाउन थालेको धेरै वर्ष भयो । यसैले उनको परिवार चलेको छ । त्यो भन्दा पनि उनको मन फूलमा बसेको छ ।

फूलले जीवन फूल जस्तै बनाएको छ त ? भन्दा उनी हल्का चाउरी पर्दै गएको अनुहारमा सयपत्री जस्तै मुस्कान फूलाउँदै भनिन्, ‘जीवन त फूल जस्तो छैन, तर फूलले जिन्दगी रंगिन बनाएको भने पक्कै छ । खान जुराइदिएको छ यसैले, फूल जस्तो नभए पनि जीवन चलेकै छ ।’

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाह माइलीको फूलबारीमा पुगेर सयपत्रीको पत्रहरु तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

कार्तिक १८, २०७५ मा प्रकाशित