यमपञ्चकको पौराणिक मान्यता

विधिपूर्वक तिहार मनाउन यी पाँच दिन केके गर्नुपर्छ?

तिहारका लागि सयपत्री फूल टिपिँदै।

नेपालमा वैदिक सनातन धर्मका अनुयायीहरूले वर्षभरि धेरै धार्मिक–सांस्कृतिक चाडपर्वहरू मनाउने गर्दछन्। वेदमा विभिन्न ऋतुहरूमा अनुष्ठान गरिने वैदिक यज्ञहरुको विधान पाइन्छ। पुराणहरूमा पनि विभिन्न ऋतुमा मनाइने चाडपर्वहरूको वर्णन छ। नेपालमा मनाइने चाडपर्वहरूमध्ये कतिपय वेदमूलक चाडपर्व पनि देखिन्छन् भने धेरैजसो पौराणिक चाडपर्वहरू छन्। यस्ता चाडपर्वहरूमध्ये तिहार वा दीपावलि पनि एक प्रमुख पौराणिक चाडपर्व हो।

शरद् ऋतुको अन्तमा पर्ने अर्थात् दसैँपछि आउने कृष्णपक्षका त्रयोदशीदेखि शुक्लपक्षका द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक पनि भन्ने चलन नेपालमा छ। राणाशासनमा यमपञ्चकमा जुआ खेल्न छुट दिने चलन भएको तथ्य त्यस बेलाको मुलुकी ऐनबाट नै स्पष्ट रूपमा बुझिन्छ। पछिका पात्रोहरूमा पनि “यमपञ्चकारम्भ” भन्ने उल्लेख गरिएको देखिन्छ। तर कुनै पनि प्राचीन शास्त्रीय ग्रन्थमा यमपञ्चकको उल्लेख भएको देखिँदैन। उक्त पाँच तिथिहरूमा निशामुखमा (साँझमा) देव, ब्राह्मण, गाई, घोडा र स्त्रीहरूको नीराजन गर्नुपर्छ भनेर निर्णयसिन्धुमा बताइएको छ (पृ.१४७)। सनतकुमारीय कार्त्तिक माहात्म्यमा (११।७–१३) पनि यो विधि छ। तर यसको यमपञ्चकसित सम्बन्ध भने देखिँदैन। लगातार पाँच दिनसम्म गरिने धेरैजसो कर्महरूको कुनै–न–कुनै रूपमा यमराजसित सम्बन्ध रहेको देखिएकाले यी पाँच दिनलाई पछिपछि यमपञ्चक भन्न थालिएको हुन सक्छ। यी पाँचै दिनलाई तिहार वा दीपावलि पनि भन्ने चलन छ। तिहारको पहिलो दिन कागतिहार, दोस्रो दिन कुकुरतिहार, तेस्रो दिन गाइतिहार, चौथो दिन गोरूतिहार र पाँचौँ दिन भाइतिहार मान्ने गरिएको देखिन्छ। यस पर्वको समय पात्रोको गडबडीले जाडोमा पर्न लागेकाले एक महिना अगाडि सार्नुपर्ने कुरा पनि उठिरहेको छ।

वैदिक तथा पौराणिक कर्म देववाणीको अर्थात् संस्कृतभाषाको नै प्रयोग गरेर गर्नुपर्ने नियम वा विधान छ। अन्यथा गरे पूजाको पूर्ण फल पाइँदैन।

कागतिहार र यमदीपदान
दसैँपछि आउने कृष्णपक्षको त्रयोदशीलाई कागतिहार मानी कागलाई बलि (भात, तिहुन र रोटी) दिने चलन नेपालमा छ। तर यसै दिन यो कार्य गर्नुपर्छ भनेर विधान गर्ने कुनै शास्त्रको वचन फेला परेको छैन। काकबलि प्रत्येक दिन नै गर्न पर्ने पौराणिक कर्म हो। यसै दिन साँझ यमलाई दीपदान गर्ने शास्त्रीय विधान भएकाले बिहान यमदूत मानिने कागलाई भोजन दिने चलन चलाइएको हुन सक्छ। कागहरूलाई बलि दिँदा भन्ने पौराणिक मन्त्र वैदिक–मन्त्र–सङ्ग्रहमा (स्वाध्यायशाला, २०५२, पृ.११७) सङ्कलन गरिएको छ—

ऐन्द्र–वारुण–वायव्या याम्या वै नैर्ऋतास्तथा ।
वायसाः प्रतिगृह्णन्तु भूमावन्नं मयाऽर्पितम् ।।

यसै दिन वैद्यहरू आयुर्वेदका आचार्य धन्वन्तरिको जयन्ती मनाउँछन्। यसै दिन साँझ ढोकाबाहिर यमलाई दीपदान गर्नाले अपमृत्युको (अकाल मृत्युको) भय नहुने कुरा पनि पुराणमा बताइएको छ—

कार्तिकस्याऽसिते पक्षे त्रयोदश्यां निशामुखे ।
यमदीपं बहिर् दद्यादपमृत्युर् विनश्यति ।। (स्कन्दपुराणको वचन, निर्णयसिन्धु, पृ. १४७)

यमलाई दीपदान गर्दा भन्ने पौराणिक मन्त्र—

मृत्युना पाशदण्डाभ्यां कालेन श्यामया सह ।
त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतां मम ।। (वैदिक–मन्त्र–सङ्ग्रह, पृ.११७)

नरकचतुर्दशीकृत्य र कुकुरतिहार
चतुर्दशीमा बिहानै झिसमिसेमा आफ्ना शरीरमा तेल घसेर उखेलिएको काँडा, पात, जरा र माटोसमेत भएको अपामार्गको दतिवनको) बोट शिरको (टाउकोको) वरिपरि वारंवार घुमाएर फालेर स्नान गर्ने र नरकप्रीतिका लागि चार बातीले बनाएको दीप नदीमा बगाउने शास्त्रीय विधान छ। यस कर्मलाई नरकचतुर्दशीको कृत्य (कार्य) भन्दछन्। स्नान गर्ने वेलामा अपामार्ग घुमाउँदा भन्ने पौराणिक मन्त्र यसप्रकारको छ—

सीतालोष्टसमायुक्त सकण्टकदलान्वित ।
हर पापमपामार्ग भ्राम्यमाण पुनःपुनः ।। (वैदिक–मन्त्र–सङ्ग्रह, पृ.११७)

नेपालमा यसै दिनलाई कुकुरतिहार भन्दै कुकुरलाई टीको र माला लगाइदिने तथा भात र अन्य खाने कुरा खान दिने प्रचलन छ। यसै दिन श्वपूजा (कुकुरपूजा) गर्नुपर्छ भन्ने विशेष विधानचाहिँ कुनै पनि प्रामाणिक शास्त्रीय ग्रन्थमा देखिएको छैन। श्वबलि पनि प्रत्येक दिन नै गर्न पर्ने पौराणिक कर्म हो। अरू दिन कुकुरलाई बलि नदिनेले पनि यस दिन बलि दिने गर्दछन्। कुकुरलाई बलि दिँदा भन्ने पौराणिक मन्त्र यो हो—

शुनकौ श्यामशबलौ वैवस्वतकुलोद्भवौ ।
ताभ्यामन्नं प्रयच्छामि स्यातां मे तावहिंसकौ ।। (वैदिक–मन्त्र–सङ्ग्रह, पृ.११७)

बलिराज्यत्रिरात्र (तिहार)
शरद् ऋतुको अन्तमा पर्ने चतुर्दशी, औँसी र शुक्लप्रतिपदाका तीनोटा तिथिलाई बलिराज्यत्रिरात्र भन्दछन्। नेपालीको तियार वा तिहार शब्द संस्कृतको त्रिरात्र शब्दबाट अपभ्रंश भएर बनेको हो। यी तीन तिथिमा राजाले सबैलाई इच्छाअनुसार खेल्न र उत्सव गर्न अनुरोध गर्नुपर्छ, चतुर्दशीदेखि नै तीन दिनसम्म सबैले साँझमा घरमा दीपावलि गर्नुपर्छ, देवताका मन्दिरहरूमा पनि दीपावलि गर्नुपर्छ र औँसीमा निशामुखमा साँझमा) लक्ष्मीपूजा गर्नुपर्छ भन्ने नियम छ। त्यसैले मुख्य रूपमा चतुर्दशीको दीपमालिका, औँसीको लक्ष्मीपूजा र प्रतिपदाको गोवर्धनपूजाका तीन दिनलाई तिहार वा दीपावलि भन्नुपर्ने हो। कागतिहार र भातृद्वितीया वा भाइटीकाचाहिँ उक्त तीन दिनभन्दा अतिरिक्त हुन्।

नेपालीहरूले तिहारमा निकै नै महत्त्व दिएर लक्ष्मीपूजा गर्दछन्। लक्ष्मीपूजा गर्दा अन्य पूजामा झैँ सर्वप्रथम दियो बालेर दीपपूजा गरिन्छ। त्यसपछि कलश स्थापना गरेर कलशमा वरुणको पूजा गरिन्छ। त्यसपछि गणेशको आवाहन गरेर गणेशको पूजा गरिन्छ। अनि कलशमा पाञ्चायनदेवता, पञ्चलोकपाल, नवग्रह इत्यादिको पूजा गरिन्छ। त्यसपछि मुख्यपूजाका रूपमा महालक्ष्मीको र अङ्गपूजाका रूपमा इन्द्रको पूजा गरिन्छ। साथै इन्द्रका समीपमा रहेका कुबेरको पनि यस अवसरमा पूजा गरिन्छ। महालक्ष्मीको पूजा गर्दा कलशको मुखमा तामाको थाली राखेर त्यहाँ महालक्ष्मीको प्रतिमा र सुनका गरगहनाको पोको राखेर पूजा गरिन्छ। यस अवसरमा महालक्ष्मीलाई आसन, अघ्र्य, पाद्य, पञ्चामृत, आचमनीय, वस्त्र, शृङ्गारका सामग्री, चन्दन, अक्षता, फूल, दुबो, धूप, दीप, नैवेद्य इत्यादि चढाइन्छ। महालक्ष्मीलाई फूल विशेष गरेर नीलकमल चढाउन पर्ने विधान छ। महालक्ष्मीलाई दीपदान गर्दा भन्नुपर्ने मन्त्र यो हो—

मार्तण्डमण्डलाखण्डचन्द्रबिम्बाग्नितेजसः ।
गृहाण देवि दीपान् मे निर्मितान् श्वेतवर्तिभिः ।। (वैदिक–मन्त्र–सङ्ग्रह, पृ.११७)

गोवर्धन पूजा
प्रतिपदामा गोवर्धनको प्रतिमा बनाएर बिहान पूजा गर्ने कुरा पुराणहरूमा बताइएको छ। गोवर्धनको पूजा गर्दा प्रयोग गरिने मन्त्र यसप्रकारको छ—

गोवर्धन धराधार गोकुलत्राणकारक ।
विष्णुबाहुकृतोच्छ्राय गवांकोटिप्रदो भव ।। (वैदिक–मन्त्र–सङ्ग्रह, पृ.११८)

नेपालका नेवारहरूले कात्तिक शुक्लप्रतिपदामा बेलुका म्ह पूजा (आत्मपूजा) गर्ने पनि चलन छ। यो महत्त्वपूर्ण पौराणिक कर्म हो। तथापि यस्तो प्रचलन अन्य समुदायमा भने पाइएको छैन।

यसै दिन बाटामा मार्गपाली (तोरण) टाँग्नुपर्छ र त्यसमुनिबाट हात्ती, घोडा, गाइ, गोरु, भैँसी र राँगाहरू हिँडाउनुपर्छ भन्ने पनि छ। यसै दिन भर्खरै गएको एकादशीमा भुटिएका मकैको सातु बनाएर त्यसमा नुन, सातु र ढुटो मिलाई पिँडो बनाएर गाइ–गोरु–भैँसीहरूलाई खुवाउने, तिनलाई पिठ्युँमा राता–सेता पिठोका लेताका चक्रहरूले सिँगार्ने, सिँग–कानहरूमा तेल हालिदिने, माला लगाइदिने र गाइ–गोरु–भैँसी सबै बस्तुभाउहरूलाई नुन हालेको मकैको कुँडो अघाउञ्जेल खान दिने पनि कृषिप्रधान जीविका भएका नेपालीहरूको प्रथा रहेको देखिन्छ। यो पुराणमा उल्लिखित गोक्रीडाको नै देशधर्मको अनुरूप प्रयोग भएको हो भन्ने बुझिन्छ। सनतकुमारीय कार्त्तिक माहात्म्यअनुसार यसै दिन दिउसो नै बलिराजाको पूजा गरेर गोक्रीडोत्सव पनि गर्नुपर्ने मानिएको छ। अन्य थुप्रै ग्रन्थका मतमा चाहिँ दिउसो गोक्रीडोत्सव गरेर रातमा घरमा विन्ध्यावलिसहित बलिराजाको पूजा गर्नुपर्ने देखिन्छ। यी तीन दिन पासा खेलेर वा नाच–गान–बजान गरेर रमाइलो गर्नुपर्छ, मिठो खानुपर्छ र राम्रो लगाउनुपर्छ भन्ने पनि मान्यता छ। यस अवसरमा रमाइलो गर्नेहरू¬को वर्ष रमाइलोमै बित्ने र रमाइलो नगर्नेहरूको वर्ष नरमाइलोमै बित्ने कुरा पनि पुराणहरूमा गरिएको पाइन्छ।

यस बलिराज्य–त्रिरात्रोत्सवलाई वा यसको मुख्य दिन अमावास्याको उत्सवलाई कौमुदी–महोत्सव वा कौमोदिनी–महोत्सव र सुखरात्रि पनि भन्दछन्। यसैलाई दीपमालिका, दीपावलि र दीपोत्सव पनि भन्ने चलन छ। नेपालमा कतैकतै औँसीमा नै आज गाइतिहार हो भन्दै गाईलाई लक्ष्मी मानेर गाइको पूजा गर्छन् र जनैपूर्णिमाका दिन नाडीमा बाँधेको रक्षाबन्धनको डोरो फुकाएर गाइका पुच्छरमा बाँधिदिने पनि गर्छन्। नेपालमा तिहारमा लक्ष्मीपूजाका दिन केटीहरूले भैलो खेल्ने र त्यसको भोलिपल्ट केटाहरूले द्यौसी खेल्ने चलन छ।

नेपालका नेवारहरूले कात्तिक शुक्लप्रतिपदामा बेलुका म्ह पूजा (आत्मपूजा) गर्ने पनि चलन छ। यो महत्त्वपूर्ण पौराणिक कर्म हो। तथापि यस्तो प्रचलन अन्य समुदायमा भने पाइएको छैन।

भ्रातृद्वितीया भाइतियार

गोवर्धनपूजाको भोलिपल्टको शुक्ल–द्वितीयालाई भ्रातृद्वितीया वा यमद्वितीया पनि भन्दछन्। यस दिन यमुना नदीमा नुहाउनाले र यमको पूजा गर्नाले यमलोक देख्न पर्दैन भन्ने कुरा पद्मपुराणमा बताइएको छ। यमुनाले यसै दिन आफ्ना दाजु यमको स्वागत–सत्कार गरी यमलाई आफ्ना घरमा भोजन गराएको र यमले यमुनालाई पनि लुगा र गरगहना दिएर सत्कार गरेको भन्ने कथा पनि पुराणहरूमा आएको छ। स्मृति–पुराणहरूमा कमलदेखिबाहेक अरू राता फूलको माला लगाउनु अकल्याणसूचक मानिएको छ। तसर्थ तिहारमा पहेँला सयपत्रीका माला लगाउने गर्नु उचित हुन्छ।

यस दिन दाजु–भाइले दिदी–बहिनीको निम्ता पाएर वा नपाईकन पनि स्वेच्छाले नै दिदी–बहिनीका घर गएर तिनका हातबाट भोजन गर्नू, दिदी–बहिनीले दाजु–भाइलाई तेल घसी बुकुवा लगाएर नुहाइदिएर सिँगारेर माला लगाइदिएर गच्छेअनुसार मिठो पक्वान्न भोजन गराउनू र सत्कार गर्नू, दाजुभाइले पनि दिदीबहिनीहरूलाई लुगा र गरगहना दिएर सत्कार गर्नू भन्ने विधान स्कन्दपुराणमा र अरू पुराणहरूमा पनि पाइन्छ। यस दिन दिदीबहिनीहरूले दाजुभाइहरूको दीर्घायुष्यका निम्ति यमुनासहित यमराजको पूजा गर्ने गर्दछन्। यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई खानेकुरा दिँदा भन्ने मन्त्र यस्तो छ—

भ्रातस् तवानु–(ग्र–)जाताऽहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषतः ।। (वैदिक–मन्त्र–सङ्ग्रह, पृ.११८)

दिदीले भाइलाई खाने कुरा दिँदा भ्रातस् तवाग्रजाताऽहम् र बहिनीले दाजुलाई खाने कुरा दिँदा भ्रातस् तवानुजाताऽहम् भन्नुपर्छ। वैदिक तथा पौराणिक कर्म देववाणीको अर्थात् संस्कृतभाषाको नै प्रयोग गरेर गर्नुपर्ने नियम वा विधान छ। अन्यथा गरे पूजाको पूर्ण फल पाइँदैन। हाम्रा चाडपर्वहरूले धर्म–संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले यिनको हामीले सकेसम्म शास्त्रअनुसार नै अनुसरण गर्ने प्रयास गर्नुपर्छ।

कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्