विद्युतको माग सय मेगावाट बढ्दै

तिहारमा देशभरि कतै पनि लोडसेडिङ नहुने

काठमाडौं– तिहारमा विद्युतको माग बढे पनि लोडसेडिङ भने नहुने भएको छ। हाल १२ मेगावाट जति रहेको विद्युतको माग तिहारमा १२ सय ७० देखि १३ सय मेगावाटसम्म पुग्ने नेपाल विद्युत प्राधिकरणले अनुमान गरेको छ। तर त्यो माग धान्न तयारी गरिसकेको प्राधिकरणका सुचना अधिकारी लिला अर्यालले जानकारी दिइन्।

तिहारको बेला उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले पनि प्राधिकरणलाई विद्युतको माग धान्न सहज हुने भएको हो। यस वर्ष विगतका वर्षमा भन्दा विद्युत व्यवस्थापन गर्न सहज रहेको अर्यालले देश सञ्चारसँग बताइन्।

भारतबाट मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनमा थप एक सय मेगावाटभन्दा बढी विद्युत खरिद गर्न सकिने, कुलेखानीमा पर्याप्त पानीजम्मा भएकाले पनि यसवर्ष थप सहज रहेको प्राधिकरणको भनाइ छ।

यस्तै यही वर्षबाट चमेलियाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाँचमा रहेको आयोजनाको क्षमता ३० मेगावाट रहेको छ।

सन् २००७ मा आयोजना निर्माण सुरु गरी २०११ मा सम्मन्न गर्ने लक्ष्य लिइएको थियो। आयोजनामा पाँचपटक समय थप गरेर ११ बर्षमा निर्माण पूरा भएको हो। यसले पनि विद्युत भारमा ठूलो सहयोग मिलेको छ ।

तिहारका बेला घर–टोल झिलिमिलि पारिने तथा घरायसी उपकरणको प्रयोग बढ्ने भएकाले विद्युतको माग उच्च हुन्छ । लक्ष्मी पुजाका दिन सबैभन्दा बढि विद्युतको माग हुने गरेको छ । गत वर्ष १३ सय ३० मेगावाटसम्म विद्युतको प्रयोग भएको थियो ।

विद्युतको व्यवस्थापनका हिसावले लोडसेडिङ नभए पनि फल्टको समस्या भने आउन सक्ने प्राधिकरणले जनाएको छ। यसका लागि तयारी अवस्थामा प्राविधिक रहने भएकाले तत्कालै आफ्नो नजिकको कार्यालयमा खबर गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्