डाक्टरको सुझाव

यसकारण धेरै मिठाई खानु हुँदैन भन्छन् डाक्टरहरु

काठमाडौँ बालाजुको एक मिठाई पसलमा ग्राहकको भीड।

काठमाडौँ– मिठाई हरेक शुभमा प्रयोग गरिने परिकार हो। परीक्षामा पास भयो मिठाई, कतैको भिसा लाग्यो मिठाई, सन्तान प्राप्ति होस् वा कुनै पनि शुभ कार्य होस्, मिठाई पहिलो नम्बरमा आइहाल्छ। सबै शुभ कार्यमा मिठाई खाने र बाँड्ने पनि चलन छ।

अझै तिहारमा मिठाई खाने परम्परा नै छ। दीप, रंग र मिठाईको पर्वका रुपमा तिहारलाई लिइन्छ। तर, मिठाई खाँदा जति आनन्द आउँछ, जति मिठो हुन्छ त्यसको स्वाद, त्यो गुलियो मिठाई स्वास्थ्यका लागि त्यति गुनिलो चाहिँ हुँदैन।

पछिल्लो समयमा मिठार्इ तथा गुलियोजन्य पदार्थको अत्यधिक सेवनले मधुमेहका बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्।

वीर अस्पतालका डा. हरिहर खनालका अनुसार पछिल्लो समय धेरैलाई युवावस्थामा नै मधुमेह देखिएको छ, कारण हो अस्वस्थ्यकर जीवनशैली।

वंशाणुभन्दा पनि बढी अस्वस्थ्यकर जीवनशैली अपनाएकै कारणले गर्दा मधुमेह लाग्ने डाक्टर बताउँछन्।

खनाल भन्छन्, ‘चिल्लोले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ, चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ, बजारमा प्याकेटिङ खानेकुरामा हुने गुलियोको कारण खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा अनावश्यक मोटोपनको समस्या निम्तिन्छ, जसले गर्दा मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ।’

अत्यधिक चिनीको मात्राले क्यान्सर हुने सम्भावना पनि उच्च रहन्छ। शरीरको कोषको बृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेलेको हुने डा. खनालको धारणा छ। धेरै गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन्।

अत्यधिक चिनी दाँतका लागि हानिकारक हो। दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण भनेकै चिनी हो। गुलियो चिज खाएपछि दाँत माझिएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पुर्‍याउने उनले जनाएका छन्। यसले गर्दा दाँत मुख र गिजामा समस्या ल्याउने गर्ने खनालले जनाएका छन्।

कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू