रञ्जु दर्शनाकाे दर्शन

आफ्नै सर्तमा राजनीति गर्न सेलरोटी व्यापार

आफ्नै सर्तमा राजनीति गर्न सेलरोटी व्यापार

सेलरोटी प्याकिङ गर्दै रञ्जु दर्शना। तस्बिरहरुः प्रभात खनाल/देश सञ्चार

काठमाडौँ- मुख लोभ्याउने, तात्ताता सेलरोटीले नाङ्लो भरिएको थियो। सँगै थिए रोटी ‘प्याक’ गर्ने सामग्रीहरु। सामाजिक र राजनीतिक विकृतिविरुद्ध प्रायः सडकमा नारा लगाउँदै हिड्ने विवेकशील साझा पार्टीकी रञ्जु दर्शना तिनै सेलरोटी र सामाग्रीहरुको व्यवस्थापनमा व्यस्त दिइन्,धूलो छिचोल्दै सानो भर्‍याङस्थित एउटा घर पुग्दा।

‘बनाएर भर्खरै सकियो, अब ‘प्याक’ गरेर पठाउनु पर्ने छ। आजको अर्डर अलि टाढाको थियो। समयमै पुर्‍याउनु पर्नेछ’, दर्शनाले सेलरोटी प्लास्टिकमा राख्दै कुराकानीको सुरुवात गरिन्।

उनको हात सेलरोटीले भरिएको देख्दा कतै उनी राजनीति छोडेर व्यापारतिर मोडिएकी हुन् कि भन्ने अड्कल गर्न सकिन्थ्यो।

तर राजनीति गर्न नै सेलरोटी बनाउन थालेको उनले प्रस्ट्याउन कोशिस गरिन्। रञ्जुले सुनाइन्, ‘मैले राजनीति गरेर आफ्नो दायित्व पूरा गर्न सक्छु तर पैसा कमाउन सक्दिन। भ्रष्टाचार पनि गर्नु छैन। तर सडकमा नारा लगाउन ‘गोल्ड स्टार’ जुत्ता त किन्नै पर्‍यो। सेलरोटी बिक्री गरेर पैसा कमाउँछु, आफूले चाहेको राजनीति गर्छु ’, दर्शनाले निर्धक्क भनिन्।

रञ्जुको सेलरोटी व्यापार पुरानो योजना होइन।

राजनीतिमा होमिएर काठमाडौँ मेयरको चुनाव लड्दा राजनीतिमा पैसाको प्रभाव र महत्व उनले थाहा पाइन्। चुनाव लड्न पैसा चाहिन्छ। पैसा अरुसँग मागे राजनीतिमा उनीहरुको एजेण्डा स्वीकार्नु पर्छ, आफूले चाहेको राजनीति गर्न पैसा आफैँसँग हुनु पर्छ। १०—५ को जागिर राजनीतिक सहयात्री बन्न सक्दैन। ठूलो लगानीको व्यवसाय उनको क्षमता भन्दा बाहिर थियो।

तर समाधान नभएको समस्या हुँदैन। पकाउने सीप नभए पनि उनी सेलरोटी व्यापारमा आकर्षित भइन्। सानैदेखि आमाले सेलरोटी बनाएको देखेकी दर्शनाले आमाबाटै रोटी बनाउन सिकिन्। बनाउँदा हात पोल्यो। अर्डर आउँदा आत्तिइन्। अनि सेल रोटी बनाउने सीप आर्जनसँगै उनको विश्वास बढ्यो।

अघिल्लो तिहार अर्थात पहिलोपटक आमाको सहयोगमा घरमै सेलरोटी बनाएर बिक्री गरेकी रञ्जुले एक वर्षपछि अर्थात यो तिहारमा त्यसको दायरा फराकिलो बनाएकी छन्।  ‘सानो भान्सामा सेलरोटी बनाएर बिक्री गर्न अफ्ठेरो भयो। अर्डर आएका बेला सेलरोटी बनाएर दिने अनकूलता समेत मिलेन’, रञ्जुले सम्झिइन्, ‘यो वर्ष दसैँबाटै अर्डर आउन थाल्यो। त्यसैले छुट्टै र ठूलो घरमा बनाउन थालेको हो।’

सेलरोटी पकाउने ठाउँ महाराजगञ्ज घरदेखि टाढा भेटियो अर्थात सानो भर्‍याङ। साथी साधना राई साथ दिन तयार भइन्। अन्य केही साथीहरु पनि मिसिए। महाराजगञ्जदेखि सानो भर्‍याङको यात्रा अब उनको दैनिकी बनेको छ। उनी खुसी छन् त्यसमा।  ‘पार्टीका साथीहरुले अफिसका लागि एउटा फ्ल्याट लिनु भएको थियो । त्यसको भान्सा प्रयोगमा ल्यायौँ’, उनले भनिन्।

सेलरोटीको माग अहिले बढेको छ। त्योसँगै उनको व्यस्तता पनि। ताइचिन चामलको पिठो, घिउ, चिनीको मात्रा पुर्‍याएर उनीहरुले सेलरोटी बनाउँछन्। सेलरोटीसँगै अन्य खाद्य पदार्थ बिक्री गर्ने योजनामा पनि रञ्जु छन्।

‘हिँड्नका लागि पाइला अघि बढाउनु पर्छ। व्यवसायका लागि धेरै पैसा चाहिन्छ भन्ने छैन। थोरैबाटै पनि सुरु गर्न सकिन्छ’, रञ्जुले भनिन्,  ‘राजनीतिमा टिकिरहन र जीवीकोपार्जनका लागि पैसा कमाउन आवश्यक छ।’

तर आफ्नो सीप र मेहनतबाट। पारिवारिक आर्थिक अभावले रञ्जुलाई तेलमा सेल घुमाउन प्रेरित गरेको थियो। यता सामान्य परिवारकी उनलाई सँधै अभिभावकको कमाइमा रमाउनु हुन्न भन्ने लाग्थ्यो भने अर्कोतिर खर्चिलो राजनीतिले त्यसलाई बाध्यता बनायो।

‘कमाउने माध्यमका रुपमा सबभन्दा पहिले सेलरोटी नै आयो। त्यही बनाउन थाले। जसरी हुन्छ राम्रो काम गर्ने र समाजलाई हानि नगर्ने उद्देश्य हो’, रञ्जुले भनिन्।

पढेलेखेकी रञ्जुले सेलरोटी पकाउन थालेपछि कतिपयले खिस्सी पनि काढे। लोकप्रियता कमाउन मात्रै उनले यस्तो गरेकी हुन् भन्नेहरु पनि भेटिए।  ‘पढेलेखेकाले जागिर नै खानु पर्छ भन्ने छैन। यो काम नपढेकाले मात्रै गर्नु पर्छ भन्ने पनि छैन’, त्यसको उत्तर दिइन् उनले।

उद्यमशील बन्न पार्टीले सिकाएको र त्यसमा अगाडि बढ्न जोखिम मोल्न तयार भएपछि मात्रै सेलरोटी पकाउन सकिने उनले बताइन्। राजनीति पनि त्यस्तै हो।

सेलरोटी पकाउनु पनि कुनै अन्य महत्वपूर्ण काम जस्तै कठिन हुन्छ र उनी त्यसबाट सन्तुष्ट बनेकी छन्।  ‘सेलरोटी पकाउँदा कहिले तेलले पोल्छ, कहिले आगोले। रोटी कहिले बाङगो हुन्छ, कहिले गोलो। राजनीतिमा पनि त्यस्तै हुँदो रहेछ। कहिले सफल कहिले असफल। तर असफल हुने डरले म दुवै काम छोड्दिन’, रञ्जु दृढ भइन्।

भिडियो हेर्नुहोस्:

 

कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू