आधुनिकताले मासेको कला र संस्कृति

माटोलाई आकार दिएरै बित्यो सारा जिन्दगी

माटोलाई आकार दिएरै बित्यो सारा जिन्दगी

तस्बिरहरु: सुलभ श्रेष्ठ

उनले दश बर्षको उमेरमा गिलो माटो समाए। बुवाले यसो होइन, यसरी हो भनेर सिकाए। आकार पनि दिन सिके। त्यही गिलो माटोमा आकार दिँदै उनको बालापन बित्यो, युवा अवस्था बित्यो र साठी बर्षको पुग्दा पनि त्यो जोस कम भएको छैन।

कृष्णकुमार प्रजापती

ठिमी दिगुका कृष्णकुमार प्रजापती अझै सम्झन्छन् पहिलोपटक माटोको भाडा बनाएको। बाजे र बुवाले गिलो माटो ह्विलमा (माटोको भाडा बनाउने औजार) राखेर हात समाई सिकाएको। केही बुवा र हजुरबुवाले बनाएको देखेर सिके। सुरुमा पाला बनाउन सिके अनि घ्याम्पो, गमला यस्तै अरु।

बनाउने सँगसँगै उनको दिन हजुरबुवा र बुवाको पछि लागेर केही टाढाका गाउँमा गएर बेचेर बित्ने गर्थ्यो। उनी सम्झन्छन् खर्पनमा पाँच-छवटा भाडा राखेर बुवा र हजुरबुवाको बीचमा हिँड्दै गोदावरी र बाडेगाउँ बेच्न गएको। त्यतिबेला धानसँग माटोको भाडा साट्ने चलन थियो। उनको परिवार यही पेशाले धानेको थियो।

बिहान खर्पनमा आफूले बनाएको भाडा बोकेर बेच्न हिड्ने बेलुका फर्कदा धान बोकेर फर्कने उनको दैनिकी थियो। पुस्तौँदेखि उनको परिवारले यही पेशा गर्दै आयो।

उनी भन्छन्- यो काम गर्न कहिल्यै अल्छी लागेन। न त्यत्तिबेला न अहिले। आफ्नो पुस्तैनी पेशा कसरी छोड्न सकिन्छ?’

‘बावु यो काम गर्नुपर्छ, बाउबाजेले गर्दै आएको काम छोड्नु हुँदैन,’ बुवा सन्तकुमार प्रजापतीले भनेको अझै सम्झन्छन् कृष्णकुमार प्रजापती।

माटोको कला

भक्तपुरका प्रजापती बस्तिमा डुल्ने जो कोहीले खाली ठाँउमा माटाका भाडा सुकाएको देख्नसक्छ। मौका परे बनाएको देख्न सक्छ। देख्ने  टक्क अडिन्छ र एक टकले हेरिरहन्छ। क्यामेरा भए फोटो खिच्छ। सायद मनमनै धेरैका हात सलबलाउँछन् बनाउन पाए भन्दै।

भक्तपुरको पोटरी स्क्वायरमा गणेशभक्त पाला बनाइरहेका छन्। ‘यो पाला दसैँको समयमा धेरै बिक्छ,’ उनले हाँस्दै भने। उनको आफ्नै घरको तल्लो तलामा बनाउने ठाउँ छ। वास्तबमै हेर्न लायक हुन्छ यो बनाउँदै गरेको दृष्य।

तिहारका लागी पाला बनाउदै पोटरी स्क्वायरका गणेशभक्त।

गणेशभक्तले घुम्दै गरेको चक्कामा गिलो माटो राखे। चक्का घुमिरहेको छ, बेला बेलामा हातमा पानी लगाउदै त्यही हातले आकार दिए। तल चक्का घुम्दै जान्छ, माथि हातले चाहिएको जस्तो आकार दिने। घुमिरहने चक्का, चक्कासँगै घुम्ने माटो र हेर्दा हेर्दे बन्ने आकृति गजबको हुन्छ। आकार तयार भयो धागोले काटे, हातले टपक्क टिपे र जमिनमा राखे।

कृष्णकुमार प्रजापती भन्छन्, ‘यसलाई सफा चिम्ट्याइलो माटो चाहिन्छ।’

‘पहिले ठूलो काठको ह्विल हुन्थ्यो। एक पटक हातले घुमायो भने एउटा भाडा बन्थ्यो। माटो आफैँ बोकेर ल्याउनु पर्थ्यो। माटो गोडाले मुछ्नुपर्थ्यो। त्यसपछि गाडीको चक्कामा बनाउन थाल्यौँ,’ सजिलो हुन्थ्यो। २० बर्ष अघिसम्म गाडीको चक्कामा बनाउँथ्यौँ। अहिले बिजुलीबाट चल्ने ह्विल छ यसले धेरै सजिलो बनाएको छ। माटो मुछ्ने मेसिन छ। माटो ट्याक्टरले घरको आँगनमा छोडेर जान्। चाहियो भने भाडा लिन घरसम्म आइपुग्छन्। पुर्‍याउन घर–घर जानु पर्दैन।

संकटमा माटोका भाडा

प्रजापती भन्छन्, ‘यसको लागि चाहिने माटो पाइन छोड्यो। सबै ठाउँमा प्लटिङ गरेर खाली ठाउँ नै छैन। माटो लिन टाढा टाढासम्म जानु पर्दछ।’

समयसँगै यो बनाउने प्रबिधिमा परिवर्तन आयो र मानिसले प्रयोग गर्ने सामानमा। यसको प्रभाव यो पेशामा पनि परेको छ। पालको ठाउँ मैनबत्ती र अहिले झिमझिम गर्ने इलेक्ट्रिक लाइटले ओगट्यो। घ्याम्पा, गाग्री, गमलाका सट्टा मानिसहरुले प्लास्टिकको सामान प्रयोग गर्न थाले।

पाला बनाउँदै भत्तपुर ठिमीका सूर्यकुमार प्रजापती।

प्रजापतीका जेठा छोरा सूर्यकुमार प्रजापती भन्छन्, ‘काठमाडौँका धेरै ब्यापारीहरुले यहाँबाट माटाका भाडा लिने गर्थे। ४ बर्ष भयो, उनीहरु लिन आउन नै छोडे।’

‘पहिले बनाएको जतिले पुग्थेन, अहिले आधा कम बनाउँदा पनि धेरै बिक्री नै हुँदैन,’ बनिसकेको माटाको पाला जमिनमा राख्दै उनले भने, ‘अहिले यसको बिक्रीमा आधा कमी आएको छ। पहिलेको तुलनामा हामी पनि आधा मात्र बनाउँछौँ।’

भक्तपुरमा माटाका भाडा बनाउने समुदायमा आजभोलि पहिलेको जति बन्दैनन्।

र, यो काम छोड्नेहरुको संख्या बढ्दै गएको छ।

छोड्दै यो पेशा

कृष्णकुमार प्रजापतीलाई उनको नातिले यो गर्न सक्दिनँ भनिसके। उनको छोराहरुमा जेठो छोरा सूर्यकुमार प्रजापतीले मात्र यो काम गर्छन्। अरु दुई छोराहरुले यो काम नगर्ने भन्दै अरु नै काम रोजेका छन्।

उनको घरमा मात्र होइन, यो काम छोड्ने क्रम यो समुदायमा नै छ। पहिलेभन्दा अहिले आधा भन्दा बढीले यो काम छोडिसके। आफ्नो घर वरिपरिका ५ वटा घर देखाउँदै सूर्यकुमार प्रजापतीले भने, ‘यी घरमा पनि पहिले माटाका भाडा बन्थे, अहिले बन्दैनन्।’ उनीहरु पूर्णरुपमा यो काम छोडेर अन्य ब्यापारमा लागेका छन्।

परिवर्तित समाजमा पछिल्लो पुस्ताले यो काम छोड्दै गएको छ। यो काम गर्न गाह्रो भएको उनीहरु बताउँछन्। प्रजापती भन्छन्, ‘मैले त पढेको छैन, यो बाहेक अर्को काम जान्दिन। पहिले ५० वटा जति बनाउँथे अहिले २५ वटामात्र बनाउँछु। त्यति पनि नबनाए १०–१२ वटा मात्र भएपनि बनाउँछु।’

पुरानोपुस्ता मात्र

माटोका भाडा बनाउने भक्तपुरका बस्ती डुल्ने हो भने प्राय: पुरानो पुस्ता मात्र ह्विलमा गिलो माटो राखेर आकार दिइरहेको देख्न सकिन्छ। उनीहरुले आफ्नो अधिकांश जिन्दगी यही गिलो माटोमा आकार दिँदै बिताएका छन। यसमा पछिल्लो पुस्ता भिज्न सकेको छैन।

अनुहार चाउरी परेका र दात झरिसकेका पुरुष हाँस्दै यो काम गरिरहेको देख्न सकिन्छ। उनीहरु भन्छन्, ‘जानेको काम नै यही हो, यो नगरेर के गर्ने?’  अरुबेला खेतीपातीमा लाग्ने र फुर्सदमा यो काम गर्छन्।

कृष्ण कुमार प्रजापतीलाई यो काम गर्न कहिल्यै अल्छी लागेन। पहिलेको कुरा सम्झँदै उनले भने, ‘आधा काम गरेर जान्छु बुवा भनेर अरु नै काम गर्न गएँ। घरको काम हो जहिले गरे पनि हुने?’ उनले हाँस्दै भने। उनी चाहन्छन् अघिल्लो पुस्ताले यो काम गर्न गरुन्।

खाली गफमात्र गरेर बस्नुभन्दा यसो एक दुईवटा भए पनि बनाउछु भन्दै उनी कस्सिहाल्छन्। बुहारी र श्रीमतीले पनि सघाउँछन् बनाउन र सुकाउन।

भत्तपुरमा यो काम गर्न लगभग आधा जतिले छोडिसके। प्रजापती भन्छन्, ‘६० बर्ष पुगेँ, अलिपछि बुुढो भएपछि सकिँदैन होला, जहिलेसम्म सक्छु, बनाउछु।’

कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू