एमाले फुटाउने पद्मरत्नको त्यो हस्ताक्षर

काठमाडौं– आइतबार निधन भएका वामपन्थी नेता पद्मरत्न तुलाधरले २०५४ सालमा एमाले विभाजनमा निर्णायक भूमिका खेलेका थिए। पार्टी विभाजनका लागि संसदीय दलमा समेत ४० प्रतिशत सांसद पुर्‍याउनुपर्ने कानुनी व्यवस्थाका कारण एक जना सांसदले गर्दा रोकिएको पार्टी विभाजन स्वतन्त्र हैसियतमा रहेका तुलाधरले मालेको पक्षमा हस्ताक्षर गरेसँगै एमाले फुटेको थियो।

महाकाली सन्धिका कारण २०५४ सालमा तत्कालीन एमालेभित्र निक्कै ठूलो हलचल पैदा भयो। महाकाली सन्धिलाई हेर्न दृष्टिकोणमा पार्टीभित्र केन्द्रदेखि गाउँसम्म दुई धार जन्मियो।

सन्धिलाई समर्थन गर्नुपर्छ भन्ने अडानमा तत्कालीन महासचिव माधवकुमार नेपाल पक्ष थियो भने सन्धिलाई राष्ट्रघाति भन्दै पार्टीभित्र अर्को धारको नेतृत्व वामदेव गौतमले गरेका थिए।

संस्थापन पक्षमा केपी ओली, झलनाथ खनाल, अमृत बोहोरा, भीम रावल, सुरेन्द्र पाण्डेलगायका नेता थिए भने गौतम पक्षमा सिपी मैनाली, राधाकृष्ण मैनाली, योगेश भट्टराई, रविन्द्र अधिकारीलगायतका युवा नेताहरुले साथ दिएका थिए।

सन्धिकै विषयमा मतभेद चर्किदै जाँदा अन्तत एमाले विभाजनको संघारमा पुग्यो। पार्टी फुटाउनका लागि केन्द्रिय समितिमा ४० प्रतिशत पुर्‍याउन गौतम पक्षलाई खासै मुस्किल भएन।

तर, संसदीय दलमा पनि ४० प्रतिशत पुर्‍याउनुपर्ने कानुनी व्यवस्था थियो। २०५१ सालको मध्यावधि चुनावबाट एमाले राष्ट्रियसभामा समेत गरी एक सय १५ सिटसहित संसदको पहिलो दल बनेको थियो।

पार्टी विभाजनका लागि माले पक्षलाई ४० प्रतिशत अर्थात् ४६ जना सांसदको हस्ताक्षर संसद सचिवालयमा बुझाउनु पर्ने भयो। माले पक्षधरले वामदेव गौतमको नेतृत्वमा ४५ जना सांसदको हस्ताक्षर पुर्‍याए पनि एक जना सांसदको समर्थन आवश्यक थियो।

यसका लागि पार्टीभित्र तानातानको अवस्था थियो। संस्थापन पक्ष कुनै पनि हालतमा ४० प्रतिशत पुर्‍याउन नदिने रणनीतिमा थियो भने विद्रोही पक्ष जसरी पनि पुर्‍याउने र पार्टी विभाजन गर्न लागि पर्‍यो।

अन्तिम समयमा सूर्य चिन्हबाटै चुनाव लडे पनि संसदमा स्वतन्त्र हैसियतमा रहेका तुलाधरले मालेको पक्षमा मत दिए र पार्टी विभाजन भयो। २०५८ सालमा मालेको ठूलो हिस्सा फेरि एमालेमै फर्कियो।

नर्भिक अस्पतालबाट लैनचौरस्थित निवासतर्फ लगिँदै दिवंगत नेता पद्मरत्न तुलाधरको शव तस्बिरहरु: बर्षा शाह /देश सञ्‍चार

त्यसअघि तुलाधरले कहिल्यै पनि दलीय आधारमा संसदमा भूमिका निर्वाह नगरे र पार्टी विभाजनमा भूमिका खेलेको नेकपाका नेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। २०५१ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा तुलाधर स्वतन्त्र हैसियतमै स्वास्थ्यमन्त्री बनेका थिए।

तुलाधरको त्यस बेलाको भूमिकाबारे अहिले उनका सहकर्मी नेताहरु फरक फरक मत राख्छन्। नेता नेम्वाङ तुलाधरको एक मतका कारण पार्टी विभाजन भएको र त्यसलाई नमिठो घटनाका रुपमा लिनुपर्ने बताउँछन्।

उता माले महासचिव सिपी मैनाली भने पार्टी विभाजनमा तुलाधरको अन्तिम र निर्णायक भूमिका नभए पनि तत्कालीन समयमा राष्ट्रियताको पक्षमा उनले भूमिका खेलेको दाबी गर्छन्।

तथापी पञ्चायती व्यवस्थाको अन्त्यका लागि तुलाधरले खेलेको भूमिका अतुलनीय रहेको नेताहरु बताउँछन्। स्वतन्त्र आवरणमै काठमाडौंमा तत्कालीन मालेको संगठन विस्तार उनले भूमिका खेले।

सूर्य चिन्हका प्रणेता

अहिले नेकपाले चुनाव चिन्हका रुपमा पाएको सूर्य चिन्हबाट पहिलोपटक चुनाव लड्ने व्यक्ति पनि उनै पद्यरत्न तुलाधर नै थिए। तत्कालीन एमालेले २०४८ सालदेखि चुनाव चिन्हका रुपमा प्रयोग गरेको सूर्य अहिले एमाले माओवादी एकीकरण भएर बनेको नेकपाले पनि सहर्ष रुपमा स्वीकार गरेको छ।

जनपक्षीय उम्मेदरका रुपमा २०४३ सालमा राष्ट्रिय पञ्चायतको उम्मेदवार हुँदा तुलाधरले पहिलोपटक सूर्य चिन्हबाटै चुनाव जितेका थिए। पञ्चायतलाई उपभोग गर्ने नीति अन्तरगत तत्कालीन मालेले तुलाधरलाई जनपक्षीय उम्मेदवारका रुपमा उठाएको थियो।

जति बेला उनीसँगै चितवनबाट सोमनाथ अधिकारी प्यासी, जागृतप्रसाद भेटवाल, झापाका द्रोणाचार्य क्षेत्री र इलामबाट नवलकेमी राई जनपक्षीय सांसद थिए। ४३ सालको चुनावमा काठमाडौंका जनपक्षीय उम्मेदवारले मात्र सूर्य चिन्ह प्रयोग गरे भने २०४८ सालमा भएको संसदीय चुनावमा तत्कालीन एमालेले सूर्य चिन्हबाटै चुनाव लड्यो।

२०४८ मा एमालेभित्र हसिया हथौडालाई चुनाव चिन्ह बनाउनु पर्ने आवाज उठे पनि सूर्यले नै मान्यता पायो। त्यसपछिका सबै चुनावमा एमालेले सूर्य चिन्हबाटै लड्दै आएको छ।

भाषणका क्यासेट बिक्री
तुलाधर भाषण गर्न निक्कै पोख्त थिए। उनले गरेका भाषण क्यासेटका रुपमा गाउँ गाउँसम्म पुर्‍याएर बजाइन्थ्यो। हाल प्रदेशसभा ३ का सांसद रहेका नेता रामेश्वर फुयाँल तुलाधरलाई भाषणका लागि उपस्थित गराउन नसकेको ठाउँमा क्यासेट बजाएको स्मरण गर्छन्।

प्रतिबन्धित अवस्थामा उनले गरेका भाषणका क्यासेट लुकाइ छिपाइ बिक्रीसमेत हुने गरेको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठ बताउँछन्।

कार्तिक १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू