काग, खबरहरुको संवाहक

कालो कागको सफा हृदय, पूजा गरिनुको कारण यस्तो

काग भन्‍ने बित्तिकै हाम्रो दिमागमा विभिन्‍न आकृति आउँछ। पहिला रंग, अनि कागको काम। हामीले देख्ने धेरैजसो कागको रङ्‌ग दुई किसिमको हुन्छ, निखर कालो र घाँटीमा खरानी रङ्‌ग भएको कालो काग।

कागको काम भने धेरै छन्, केही उट्पट्याङ‌्ग पनि। त्यसैले कागलाई राम्रो रुपमा भने हेरिदैन। काग कराउनुलाई शुभ-अशुभसँग जोडिने गरिन्छ। काग कराउनुलाई सञ्चारको दृष्टिकोणबाट हेरिने भएकोले यसलाई सन्देशबाहक भनिन्छ। काग हरियो हाँगामा बसेर करायो भने शुभ समाचार हुन्छ र सुकेको हाँगामा बसेर कराए अशुभ भन्ने जनविश्वास पनि छ।

तर अरु चरालाई जस्तो कागलाई त्यति रुचाइदैन। गाउँघरमा कागले आँगनमा चरेको कुखुराको चल्ला बोकेको स्मरण भएका मानिसलाई त झन काग देख्‍ने बित्तिकै ढुङ्गाले हान्‍न मन लाग्छ होला। अरुको मुखबाट खोसेर भए पनि खाने, अरु चरालाई ठुगेर धपाएर खाने कुरा खाने काग हुन्। चलाखीको उदारहण दिने बेलामा कागसँग तुलना गर्ने चलन पनि पुरानै हो।

यस्तो व्यवहार भएको कागलाई तिहारमा भने पूजा गरिन्छ। संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘काग साँच्चै चलाख हुन्छन्। भनिन्छ, उनीहरुलाई केही घटनाहरु हुनु अगाडि नै थाहा हुन्छ। भूकम्प आउनु भन्दा केही अगाडि नै कागले थाहा पाउछ र कराउछ।’

काग कराएको बेलामा ‘शुभ बोल शुभ बोल’ भन्‍ने चलन पनि छ। भनिन्छ काग कहाँ बसेर कराउछ र आवाज कस्तो निकालेको छ, त्यस्ता कुराले शुभ-अशुभको अड्कल गरिन्छ।

तिहारमा कागको पूजा गर्ने चलन भने लिच्छविकालको मध्य समयमा आएको हो। यो भन्दा अगाडि तिहार मनाए पनि लक्ष्मीको पूजा गरिन्थ्यो। लिच्छविकालको मध्य समयमा आएपछि तिहार मृत्यु संस्कारसँग जोडियो।

कागले मृत्युसम्बन्धि खबर प्रसार गर्ने भएकोले यही बेलादेखि तिहारमा कागलाई पूजा गर्ने चलन आएको संस्कृतिविद् धौभडेल बताउँछन्। यस बाहेक कागको अरु पनि गुणहरु छन् जसलाई  मानिसले पनि सिक्नुपर्ने संस्कृतिविद् ओम धौभडेल भन्छन्।

‘काग सहयोगी हुन्छन्, कागहरु आफ्नो समुदायमा केही समस्या परे मिलेर समाधान गर्छन्। यस्तै कागको अर्को गुण भनेको एकता हो।’ हामीले देखिरहने कागको सन्दर्भमा अर्को तथ्य पनि छ।

कालो कागको सफा हृदय हुन्छ। भनिन्छ, कागले जीवनमा एकपल्ट जोसँग शारीरिक सम्बन्ध बनाउँछ, जीवनभर त्यही काग नै उसको साथी हुन्छ।

काग सम्बन्धी केही तथ्यहरु


कर्भस वंशको काग करभिडि परिवारमा पर्छ। विश्वभर कागको झण्डै ४० प्रजाति रहेको बताइन्छ। यी मध्ये मुख्य कागहरु भनेका अमेरिकन क्रो र कमन रभिन हुन्।

अमेरिकन क्रो– १७ इन्च भन्दा केही ठूला हुने कागहरुको आवाज ठूलो हुन्छ र चुच्चो पनि। यो जातका कागले आफ्नो शरीरमा कमिलालाई चढ्न दिन्छन् र त्यसलाई त्यही मार्छन्। यसले यीनीहरुको छालामा एक प्रकारको रोग विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।

कमन रभिन- २७ इन्च लामा, आवाज सानो र चुच्चो पनि। काग अजम्बरी हुन्छ, अमृत पिएको हुन्छ भन्‍ने मान्यता भए पनि एउटा कागको आयू जम्मा २० वर्ष मात्र हो।

प्राणी शास्त्रमा अध्‍ययनरत अतीत अधिकारीका अनुसार काग समूहमा खाना खान रमाउँछ, तर बस्‍न भने एक्लै रुचाउँछ। ‘कागका गूड १५ देखि ६० मिटरको उचाईमा हुन्छ, कागले जीवनमा एक पटक मात्रै सन्तान जन्माउने अध्ययनहरूमा देखिएको छ,’ अधिकारी भन्छन्, ‘काग ५ ओटा अण्डा पार्छ र १८ दिनमा चल्ला कोरल्छ।’

काग ‘का-का’ गरेर बोलेको सुनिन्छ। एउटै कागले १५ देखि ३० किसिमको आवाज निकाल्न सक्छ। कागको उत्पति भने आजभन्दा ६ करोड ६० लाख वर्ष अगाडि भएको मानिन्छ।