कागतिहार र सिर्जनशीलता

काग तिहार, आलु पार्टी र हाँस्य व्यङ्ग्य

काग तिहार, आलु पार्टी र हाँस्य व्यङ्ग्य

रामकुमार पाँडे –

पूर्वीय सम्भता र संस्कृतिमा कागलाई सन्देशवाहक दूतको प्रतीक मानिन्छ। विशेषतः पूर्वीय दर्शनलाई प्रकृतिसँग जोडेर हेर्ने पनि गरिन्छ। प्रकृतिको पूजा गर्ने भएकैले पनि यम पञ्चकका बेला काग, कुकुर, गाई, गोरु आदि जनावरहरुलाई पूजा गरिएको हो।

यही सभ्यता र संस्कृतिमा आधारित जीवन पद्धतिले हाम्रो समाज धानेको छ। तिहारमा कागलाई पूजा गरिन्छ। मिठोमसिनो खान दिने चलन छ। तर, काग तिहारका अवसरमा सन्देशवाहकको रुपमा मात्रै नभई कागलाई पत्रकारकै कोटीमा राखेर हामीले चाहिँ एउटा विशिष्ट कार्यक्रमको आयोजना गरिरहेका छौँ।

४० वर्षदेखि यो कार्यक्रम चलिरहेको छ। अहिले हास्य समाज नेपालको संयोजनमा कार्यक्रम गर्दै आएका छौँ। र, यस पटक पनि हास्य व्यङ्ग्यकर्मीहरुलाई भेला गरेर कार्यक्रम हुँदैछ। साथै सोही कार्यक्रमका बीच कागतिहारलाई हास्य दिवस घोषणा गरिँदैछ।

कागलाई मानिसको जीवनमा सबैभन्दा नजिकको चरा मानिन्छ। घरमा आएर काम करायो भने शुबोल, शुबोल भन्छिन्। कोही पाहुना आउँदैछन् कि भन्ने संकेतको रुपमा पनि काग कराउनुलाई लिइन्छ। नेपालीमा कागसँग सम्बन्धित धेरै उखानहरु पनि छन्, जस्तै काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ आदि। काग असाध्यै चलाख चरा पनि हो। काम मरेको देखिँदैन।

परापूर्वकालमा अमृत चोरेर खाएको प्रसंग पनि उल्लेख भएको पाइन्छ। काग सफाई गर्ने चरा पनि हो। र, हिमालदेखि तराईसम्म नै पाइने चरा हो। त्यस्तो चरालाई पुज्ने परिपाटीले नेपाली संस्कृति कति महान् छ भन्ने प्रट्याउँछ।

कागतिहारमै अालु पार्टी


वि.सं. २०३४ सालको कुरा हो, हामी केही सीमित जनाले सानो भेलाको आयोजना गर्यौँ। जसमा एक जना दाताराम शर्मा हुनुहन्थ्यो। उहाँ हालखबर पत्रिकाका सम्पादकका साथै व्यङ्ग्य पनि लेख्नु हुन्थ्यो। कहिलेकाही आफ्ना लेखहरुमा आफ्नो नाम प्रजातन्त्राचार्य लेखेर प्रकाशित गर्नु हुन्थ्यो।

त्यसैगरी, हाम्रो टिममा बासुदेव लुइँटेल हुनुहुन्थ्यो। उहाँ हास्य व्यङ्ग्य लेख्नेलाई प्रोत्साहन पनि गर्नु हुन्थ्यो। नेपालका प्रसिद्ध कलाकार टेकवीर मुखियाँ, बासु रिमाल ‘यात्री’ लगायत थियौँ। बासुदेव लुइँटेलले चाहिँ हास्य व्यङ्ग्यलाई मात्रै समेटेर कौवा प्रशासन चलाउनु हुन्थ्यो। उहाँसँग मेरो संगत भयो। उहाँ पूर्वीय दर्शनका विद्धान हुनुहुन्थ्यो।

मलाई चाहिँ पाश्चात्यको पनि ज्ञान भएको हुनाले दुवै दृष्टिले हास्य व्यङ्ग्यलाई अघि बढायौँ। वि.सं. २०२१ सालतिर, हामीले ‘मायालु’ हास्य व्यङ्ग्य पत्रिका चलायौँ। त्यतिबेला हास्य व्यङ्ग्य प्रधान पत्रिका थिएन। ‘नयाँ संसार’ साहित्य पत्रिका थियो। त्यसमा कथा–कविता प्रकाशित गरिन्थ्यो।

त्यति बेला नै अरुले छापिसकेको कार्टुन मायालु पत्रिकामा छापिने भयो। तर, कार्टुन मात्रै छाप्दा केही अर्थ हुँदैन भनेर मैले कार्टुनकै चित्रलाई पात्र बनाएर संवाद लेखेँ। त्यसलाई कार्टुन संवाद भनेर छापियो। २–४ अंक त्यसरी नै छापियो। तर, पछि अरु पत्रिकामा कार्टुन नआएपछि मैले आफैँ कार्टुनचित्र बनाएँ। २०२१ सालदेखि ०३५ सालसम्म फाट्टफुट्ट कार्टुन पनि बनाउने गर्थें। आरती पत्रिकामा स्तम्भ पनि लेखेँ।

२०२७ सालमा मेरै सम्पादनमा ‘कलियुग’ पूर्ण हास्य व्यङ्ग्य पत्रिका सुरु भयो। मासिक वा त्रैमासिक नभनी पहिलो अवतार, दोस्रो अवतार भनेर प्रकाशित गर्यौँ।

सामग्री जम्मा भएपछि प्रकाशित गर्ने त्यो पत्रिका पढ्नेहरुको हारालुछ हुन्थ्यो। तर, लेख पाउन गाह्रो। कहिलेकाही त आफैँ लेखेर अबतारी काका, टपरटुइँया काजी आदि नाम राखेर सामग्री प्रकाशित गरिन्थ्यो। हाम्रो पत्रिका समसामयिक संकलन संग्रह थियो।

तर, केही समयपछि समसामयिक संकलन प्रकाशन गर्न पनि स्वीकृती लिनु पर्ने कानून आयो। हामीले स्वीकृती लिने झंझट गरेनौँ। पत्रिका त्यतिकै बन्द भयो।

त्यसको ५ वर्षपछि २०३२ सालतिर हास्य व्यङ्ग्यकारहरु भैरव अर्याल, केशवराज पिडाली, श्रीधर खनाल, बासुदेव लुइँटेल, टेकवीर मुखियाँ लगायत मिलेर पहिलोपटक राष्ट्रिय सभागृहमा हास्य व्यङ्ग्य सम्मेलन गर्यौँ। त्यसको चर्चा निकै राम्ररी नै भयो। हाम्रो टिममा चाहिँ अब केही गर्नुपर्छ भन्ने सोच त्यहीबाट प्रबल भएर आयो।

बासुदेव लुइँटेल मभन्दा जेठो, सफल शिक्षक पनि। उहाँ विभिन्न नाममा हास्य व्यङ्ग्यमा चिठ्ठी लेख्ने, कविता लेख्ने गर्नुहुन्थ्यो। जगदम्बा प्रेसमा साहित्यकारहरुको जमघट भइरहन्थ्यो। त्यही क्रममा बासुदेव लुइँटेलको योगदानलाई स्मरण गर्दै सम्मान गर्न म, बासु रिमाल, टेकवीर मुखिया लगायतले सम्मान पत्र तयार गर्यौं।

मेरै घरमा सानो कार्यक्रम गरेर सम्मान त गरियो, तर अब के खान दिने भन्ने भयो। र, हसाउनेलाई अलि हसाउने किसिमकै नै परिवार खान दिने निश्चय भयो। र आलुका १७ परिकार बनायौँ। आलुको पेडा समेत बनायौँ। र, त्यही बेलादेखि आलु पार्टीको सुरुवात भयो। जुन कार्यक्रम आज (सोमबार) गरिँदैछ।

हास्य व्यङ्ग्यमा निरन्तरता 


विद्यालय तहमा पढ्दा नै मैले हास्य व्यङ्ग्य लेख्ने गरेको थिएँ। २०२३ सालमा पहिलो पुस्तक ‘ख्यालख्याल’ प्रकाशित भयो। २०१८ सालमा सायद हाइस्कूलमा पढ्दा होला मैले पहिलो पटक हास्य व्यङ्ग्य लेखेको थिएँ। तर, मलाई हास्य व्यङ्ग्य भन्ने थाहा थिएन।

ख्यालख्याल पुस्तक ६ सय रुपैयाँमा एक हजार प्रति प्रकाशित गरेँ। मूल्य एक रुपैयाँ राखिएको थियो। २०२५ सालमा हास्य व्यङ्ग्य पुस्तक ‘खप्पर’ प्रकाशित भयो। त्यसले धेरै प्रोत्साहन गर्यो मलाई। त्यसैको निरन्तरता अहिलेसम्म चलिरहेको छ।

हास्य व्यङ्ग्यमा २० को दशक 


वि.सं. २०२० सालदेखि ३० सालसम्म हास्य व्यङ्ग्यका लागि उर्भर समय थियो। सामाजिक विषयहरु हास्य व्यङ्ग्यका विषय बन्थे। हास्य प्रधान थियो, व्यङ्ग्य पनि हुन्थ्यो। त्यसैले सन्तुलन थियो। तर, अहिले व्यङ्ग्य बढी हास्य कम हुन्छ।

हास्य व्यङ्ग्य पीडाबाट जन्मन्छ। गाइजात्रामा अहिले हास्य व्यङ्ग्यलाई मिसाइएको छ। तर, गाइजात्रा शोक मनाउनकै लागि सुरु भयो। नेपाल आधुनिक युगतर्फ जाँदै गर्दा सामाजिक विषय, संस्कृति, परम्परालाई खोजी गरेर लेखिन्थ्यो। अहिलेजस्तो हास्य व्यङ्ग्यका नाममा गाली गर्ने परिपाटी थिएन। विशुद्ध हास्य व्यङ्ग्यकारले आफैँलाई व्यङ्ग्य गर्छ। समाजका विषय उठान गर्छ।

आलु पार्टी र हास्य दिवस 


यस पटक कागतिहारलाई हास्य दिवस घोषणा गरिँदैछ। विशेषतः गाइजात्रालाई हास्य प्रधान बनाइएको छ। तर, गाइजात्रा शोक जात्रा हो, हास्य एकप्रकारले जोडिएको मात्रै हो। गाइजात्रा पर्वको दिन शोकबाटमा मात्रै नबितोस् भनेर हास्य जोडिएको हो। प्रकृतिलाई पूजा गर्ने नेपाली समाजमा हास्य दिवसको कुन दिनलाई मान्ने त? यो प्रश्नको समाधानकै लागि हामीले कागतिहारलाई हास्य दिवस घोषणा गर्न लागेका हौँ।

काग सन्देशवाहक हो, र अत्यन्तै चलाख चरा। अझ भनौँ, शुभसन्देशको वाहक पनि। त्यसैले हास्य तिहार वा हास्य दिवस घोषणा गरिन लागेको हो। यो कार्यक्रममा २०३४ सालदेखि अहिलेसम्ममा धेरै हास्य व्यङ्ग्य लेखकहरुले सहभागिता जनाइसक्नु भएको छ। एकले अर्काको सुनेपछि प्रेरणा लिएर धेरै लेखक आकर्षित भएको पाएको छु। यसअघिका कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा लगायत धेरै क्षेत्रका लेखकहरुलाई आमन्त्रण गरेका थियौँ। उहाँहरुले पनि हास्य व्यङ्ग्य सुनाउनु भयो।

हास्य व्यङ्ग्य स्वाश्वत चिन्तन हो। त्यसैले पनि यो दिनलाई केही रचनात्मक बनाउने हाम्रो अठोट हो। पछिल्लो १६–१७ वर्षदेखि चाहिँ अभिलेख राखिरहेका छौँ। त्यो अभिलेखलाई पुस्तकका रुपमा प्रकाशित गर्ने लक्ष्य छ।

आलु पार्टी एउटा सामान्य हास्य व्यङ्ग्यको मञ्च मात्रै रहेन अब। यो त सानादेखि बृद्ध हास्य व्यङ्ग्य कविहरुलाई एकै ठाउँमा ल्याउने थलो बन्यो। अर्कोतर्फ यहाँ प्रस्तुत एउटै हास्य व्यङ्ग्य सिर्जनाले पनि नवोदित कविहरुलाई एक्स्पोजर दियो। त्यसैले हरेक वर्ष केही नयाँ प्रस्तुतिका साथ यो कार्यक्रमलाई अघि बढाइरहेका छौँ।

हास्य व्यङ्ग्यमा नेपाल 


नेपालमा अहिले ३ प्रकारका हास्य व्यङ्ग्य सिर्जना गरिन्छ। पहिलो, हास्य व्यङ्ग्य साहित्य लेखन। दोस्रो, हास्य व्यङ्ग्य चित्र भयो। तेस्रो चाहिँ अभियन। पहिले हास्य व्यङ्ग्य साहित्य प्रबल थियो। अहिले कार्टुन पनि र अभिनयमा पनि हास्य व्यङ्ग्यको प्रस्तुति प्रबल भइरहेको छ।

वि.सं. २०४७ सालमा हास्य व्यङ्ग्य समाज नेपालको स्थापना भयो। त्यसभन्दा अगाडि कार्टुनिष्टहरु पत्रकारले ‘यस्तो कार्टुन बनाउनु’ भनेपछि कार्टुन बनाउने गर्थे। तर, हासनेले कार्टुनिष्टहरुलाई पनि मुलधारका पत्रकारसरह स्थापित गरेको हो। यस पटक पनि हामीले हास्य व्यङ्ग्यलाई महत्व दिने व्यक्तित्वहरुलाई आमन्त्रण गरेका छौँ। साथै चार जना लेखकको जापानी शैलीको कविता हाइकुको पुस्तक पनि विमोचन गरिँदैछ।

(हास्य व्यङ्ग्यकार पाँडेसँग देश सञ्चारले गरेको कुराकानीको सम्पादित अंश)

कार्तिक १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू