विराटनगरमा नेकपाको चियापान

हामी विरुद्धका दुष्प्रचारहरु धुलोपीठो पार्ने छौँ: प्रचण्ड

विराटनगर – ‘महासचिव विष्णु पौडेल र मेरो कुरा विस्तारै–विस्तारै मिल्न थालेको छ, हामीहरु हलगोरुजस्तो हुँदै गइरहेका छौँ,’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मञ्चबाट सम्बोधन गरिरहँदा उपस्थित कार्यकर्ताले हाँसोसँगै ताली जोडदार ताली बजाए।

विराटनगरमा सोमबार तिहारको पूर्वसन्ध्यामा आयोजित चियापान तथा कार्यकर्ता भेलाका क्रममा अध्यक्ष प्रचण्डले एक अर्काको भाषा सुन्दा–सुन्दा आफूहरुको भाषा एउटै हुन थालेको बताएका थिए।

आफूहरुबीच एकता हुन सक्दैन भन्ने अर्को इतरका शक्तिको कुरा स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘महासचिव र मेरो भाषा विस्तारै–विस्तारै मिल्न थाल्या छ कुरा बुझ्नु भो नि, जोडीदार सबै ठाउँमा एकअर्काको भाषा सुन्दा–सुन्दा हामी एउटै भाषा हुन थाल्या छौँ।’

प्रचण्डले रमाइलो पारामा पार्टी एकता शक्तिशाली र अजेय भएको स्पष्ट पारे। पार्टी एकीकरणको एक वर्ष बितिसक्दा पनि सबै क्षेत्रमा समायोजन हुन नसकेको गुनासो चिर्दै उनले भने, ‘विभिन्न कार्यदलले बनाएका सुझावलाई अन्तिम रुप दिँदै अब तल्लो तहसम्म सहज रुपमा समायोजन छिटै हुनेछ।’

छिटोभन्दा छिटो केही दिनभित्र तल्लो तहसम्म एकता प्रक्रिया टुङ्गो लाग्ने प्रचण्डले स्पस्ट पारे। उनले एकताका विषयमा सोमबारै बिहान अर्का नेता माधवकुमार नेपालसँग पनि आफ्नो कुराकानी भएको कार्यक्रममा खुलासा गरे।

पार्टी एकीकरणको विषयलाई थप प्रष्ट पार्दै प्रचण्डले भने, ‘चालिसौँ वर्ष कम्युनिष्ट आन्दोलनमा होमिएका हजारौं नेता, लाखौँ युवा, संघर्षको राम्रो अनुभव भएका योद्धाहरुको विशाल फौजसहितको शक्ति छ, सो शक्तिपछि भौतिक शक्तिमा बदलिने र प्रतिक्रियावादीहरुले गरेका दुष्प्रचारहरु हामी एउटै योजना र अभियानले धुलोपिठो पार्न सक्ने छौँ।’

कात्तिक १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्