आलु पार्टीमा निर्मलाको न्यायदेखि सीमा सारिएको चिन्तासम्म

‘प्रधानमन्त्री ज्यू, यो डिस्चार्ज होइन चार्ज हुने बेला हो’

आलु पार्टीका उपस्थित कलाकारहरु। तस्बिरहरुः बर्षा शाह/देश सञ्चार

नेताको जिन्दगी भोटैभोट।
व्यापारीको जिन्दगी नोटैनोट।।

हेर प्रेमीप्रेमिका हो,
तिमीहरुको जिन्दगी चोटैचोट।।

निमार्ता, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले आफ्नो ‘आलु’ प्रस्तुतिबाट उपस्थित दर्शकलाई यही मुक्तकबाट हसाउने कोसिस गरिन्। त्यसपछि दीपाश्रीले भनिन्, ‘म पनि आलु नै हो, हामी पनि आलु, आलु सबैमा मिल्ने सब्जी पर्यो नि।’

सोमबार काठमाडौँमा आयोजना गरिएको आलु पार्टीमा आफ्नो सिर्जना प्रस्तुत गर्दा दीपाश्रीले कलाकारको मात्रै कुरा गरिनन्, देशको स्थिति र सामाजिक परिस्थितिले पिरोलेको गुनासो पनि पोखिन्। राष्ट्रलाई भन्दा सत्ता र भत्तालाई बढी सम्झिएपछि समस्याको समाधान नभएको तर्क उनले गरिन्।

त्यसैगरी, अर्का हास्य कलाकार जीतु नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीतिर निशाना तेर्स्याए। उनले अहिले बिरामी हुने बेला नभएको तर्क गरे। ‘प्रधानमन्त्री ज्यू, भर्खरै बिरामी भएर डिस्चार्ज हुनु भयो, तर यो डिस्चार्ज हुने बेला होइन, दुईतिहाईको सरकारका प्रधानमन्त्रीले चार्ज हुने बेला हो।’

देशकहाँ छ गएर हेनुहोस् त्यो तुइनमा
नेताका श्रीमती बिग्रिए ह्विस्की र वाइनमा

प्रसिद्ध हास्य व्यङ्ग्य कवि श्रीकृष्ण सिंखडाले प्रस्तुत पंति वाचन गरिरहँदा उपस्थित दर्शकदीर्घामा तालीको गड्गडाहट उठ्यो।

कार्यक्रममा हास्य व्यङ्ग्य कविहरु डम्बर घिमिरे, मनोज आचार्य, डिल्लीप्रसाद मुलतिहुन, द्वारिका कुइँकेल, मुना खतिवडा, पिडालु पण्डित, पुरुषोत्तम अधिकारी, टेकबहादुर कोइराला, किरण पौडेल लगायतले हास्य व्यङ्ग्यात्मक सिर्जना प्रस्तुत गरेका थिए। बालकलाकार आहाना कार्की र कल्याण रानाले नृत्य प्रस्तुत गरेका थिए।

नेपाली हास्य व्यङ्ग्य क्षेत्रका पूराना श्रष्टा एवं शिक्षासेवी रामकुमार पाँडेको ललितपुरको जावलाखेलस्थित घरमा कागतिहारका अवसरमा सोमबार आलु पार्टीमा आयोजना गरिएको हो।

कार्यक्रममा कलाकार एवं निर्देशक दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे लगायतका कलाकारहरुको आतिथ्य रहेको थियो। हास्य व्यङ्ग्य समाज नेपालको प्रस्तुति रहने आलु पार्टी २०३४ सालदेखि हरेक वर्ष कागतिहारका दिन आयोजना गरिन्छ।

कार्तिक १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्