चक्र बास्तोलाकी छोरीको कांग्रेसप्रति तीव्र असन्तुष्टि

‘के चक्र बास्तोलाहरुलाई आर्यघाटको चितामा मात्र सम्झने हो?’

धेरै मानिसको निस्वार्थ समर्पण, आफ्नो जीवन, परिवार र घरव्यवहारको आहुतिमा जन्मेको हो नेपाली कांग्रेस पार्टी। यसको उद्देश्य नेपालमा प्रजातन्त्र ल्याउनेमात्र थिएन, राज्यको हितका लागि राजनीति गर्ने उद्देश्य पनि थियो। मानिसहरु धेरै उच्च कल्पनाका साथ राजनीतिमा होमिएका थिए।

आज राजनीतिको परिभाषा नै अलग छ। कांग्रेसभित्रै राजनीति किन, कसका लागि गर्ने भन्ने नै स्पष्ट छैन।

त्यो बेला राजनीति सत्ताका लागि होइन, गरिब जनताको घरमा चुलो जलाउन गरिन्थ्यो। देशको स्वाभिमानका लागि गरिन्थ्यो। एउटा बच्चाको नाङ्गो शरीर र सुकेको करङ हेर्दा आफूले आफ्नो देशका लागि केही गर्न नसकेको महसुस हुन्थ्यो। तर, आज नेताहरुमा त्यो सोच कहाँ?

सम्भवत: जसले सत्ताका लागि राजनीति गरेन, उसले सम्पूर्ण जीवन बलिदान दिँदा पनि कुनै पछुतो भएन। एउटा खादीको झोला र फाटेको चप्पल लगाएर पनि कस्तो आँट, कस्तो साहस? उनीहरुलाई ज्यानको रत्तिभर माया थिएन। न कुनै लोभ, न कुनै बन्धन। उनीहरुका लागि क्रान्तिभन्दा ठूलो केही थिएन।

कांग्रेस एक व्यक्ति वा नेताका कारण जन्मेको पार्टी होइन। हरेक क्रान्तिकारीको रगत र पसिनाले जन्मेको पार्टी हो। त्यसबेला सबैको एउटा आदर्श, नैतिक मूल्य र एउटा साझा लक्ष्यमा जन्मेको पार्टी थियो नेपाली कांग्रेस।

गरिमा बास्तोला

आज नेपाली कांग्रेससँग रातो झन्डा त छ तर त्यो झन्डामा ताराहरु छैनन्।

सस्तो राजनीतिका लागि कांग्रेसमा ती ताराहरुलाई एक्ल्याइयो। आज बिपी कोइरालाको आदर्श र मूल्य भनेर जति नै फलाके पनि त्यो खोस्टोसरि मिल्क्याइएको छ। जसले बिपीको विचार र आदर्शलाई सारा जीवन बोकेर हिँडे, उनको सोचलाई आफ्नो जीवनशैली बनाए, उनीहरुको किन नेपाली कांग्रेसमा कुनै मूल्य छैन अहिले?

हरेक मतदातालाई पार्टीको माया हुन्छ  र आफू पार्टीको सबैभन्दा नजिक भएको महसुस हुन्छ। आफ्नो योगदान धेरै भएजस्तो लाग्छ। त्यो मानवको स्वभाविक चरित्र हो।

नेतागणहरुले नबिर्सौँ, यो पार्टीले पाएको जस, न्यानो ओच्छ्यान धेरै क्रान्तिकारीहरुको बलिदानबाट प्राप्त भएको हो। उनीहरुको योगदान र प्रतिबद्धता तथा निस्वार्थ कृत्यका कारण प्राप्त भएको यो प्रजातन्त्र र स्वतन्त्रताको कुनै अर्थ भएन। यस्ता योगदानको आर्यघाटको चितामा पुगेपछि मात्र हाइहाइ हुँदोरहेछ। मानिस कति चाँडो खरानी बन्दोरहेछ, उसको शिक्षा, ज्ञान र योगदान कति चाँडै धुलोमा मिलाइँदो रहेछ।

मलाई के लाग्छ भने के नेपाली कांग्रेसले मेरा बुबा चक्रप्रसाद बास्तोलाको योगदान मात्र होइन, हरेक नेपाली जसले यो पार्टीका लागि सारा जीवन व्यतीत गरे, उनीहरुलाई आर्यघाटको चितामा मात्र सम्झने हो?

राजनीति राज्यको हितका लागि गरिन्छ, आफू राज गर्न होइन।

एउटा नेताका रुपमा एउटा मेरो जनतालाई म यति काबिल बनाउँछु कि उसले यो देशको भार बोक्न सकोस् भन्ने सोच नेताहरुमा हुुनु पर्ने होइन?

कार्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्