कुकुरका अनेक क्षमताहरु

‘काल लिन आए’ को थाहा पाउने अनि भयको पूर्व जानकारी पाउने प्राणी

आज (मंगलबार) कुकुर तिहार। कुकुरलाई खानेकुरा खान दिएर, फूलमाला लगाइदिएर पूजा गर्ने दिन। अरु दिन कुकुर नजिक पर्दा धपाउने पनि आज कुकुरलाई डाकीडाकी खाना खुवाउने चलन छ।

कुकुरका आफ्नै बानीहरु छन्, राम्रा नराम्रा दुवै।

प्रशंसा गर्नुपर्यो भने भन्ने शब्द कुकुरजस्तो अनुशासित, इमान्दार र सन्तोषी हुन्छन्। कुकुर स्वामीभक्त पनि हो। आफ्नो मालिकको लागि उ जे गर्न पनि तयार हुन्छ।

कुकुरका केही बानीहरु रुचाइँदैनन्। कुकुर रगरगी गाउँ, चोक डुल्छ। जसले दिए पनि खाइदिन्छ, जसको पनि जुठो खाने कुकुर हो। त्यसैले मान्छेलाई पनि गाली गर्दैै कहिलेकाँही भन्छन्, ‘कस्तो कुकुर जस्तो।’

कुकुरबाट मानिसलाई धेरै रोग पनि लाग्छन्, तर सबैभन्दा सुनिने रोग हो रेबिज। सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक अनुसार बर्सेनि विश्वमा ५९ हजार मानिसको मृत्यु रेबिजको कारणले हुन्छ।

नेपालको सन्दर्भमा भने यकिन तथ्यांक छैन, तर शुक्रराज शास्त्री सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अस्पतालमा आएकाहरुको मात्र संख्या हेर्ने हो भने वर्षमा १२ जना जतिको मृत्यु भएको छ र यो संख्या बढ्दो छ।

यस्तो जोखिम भएका कुकुर हामी पाल्छौँ र स्याहार गर्छौँ। अनि कुकुर तिहारको दिन पूजा पनि गर्छौँ

किन पूजा गरिन्छ कुकुर?


अलौकिक शक्तिका आधारमा भन्ने हो भने कुकुर सन्देश बाहक हो। कुकुरलाई यमराजको दूत पनि भनिन्छ। कुकुर एक्लै भुक्यो भने, अथवा रोयो भने फरक फरक सन्देश दिएको मानिन्छ। सबैले याद गर्ने कुरा हो, कुकुर कोही आएपछि कराउँछ।

घरमा नयाँ मान्छे आयो भने कुकुर भुक्छ। घरमा चोर आउँने बित्तिकै कानै फुट्ने गरी भएभरको शक्ति लगाएर ठूलो आवाज निकाल्ने कुकुरको बानी हामीलाई थाहा छ, यस्तै कुकुर कहिलेकाँही रोएको पनि सुनिन्छ । कुकुर रुँदा हामी त्यसलाई ‘अलच्छिन लाग्छ’ अर्थात नराम्रो हुन्छ भन्छौँ।

संस्कृतिविद ओम धौभडेल कुकुर रुनुको कारण भन्छन्, ‘कुकुरले अदृष्य शक्तिलाई पनि महशुस गर्न सक्छ रे। अलौकिक शक्तिमा विश्वास गर्ने हो भने मानिसको मृत्यु हुने समयमा भूत प्रेत लिन आउँछन्। उनीहरुको उपस्थिति कुकुरले थाहा पाउँछ र कुकुर असामान्य आवाज निकालेर कराउँछ।’

बोलिचालीको भाषामा भनिने ‘काल लिन आएको’ थाहा पाएर कुकुर रुन्छ भन्ने गरिन्छ। यसरी लिच्छवी कालको मध्यमा एमपञ्चकसँग जोडिएको यो पर्वमा कुकुरको पूजा हुन थालेको धौभडेल बताउँछन्।

तर संस्कृत शिरोमणि हरिराम जोशी कुकुरलाई पूज्ने चलनको बारेमा फरक कुरा बताउँछन्।

‘पशुजगतका प्राणीहरुमध्ये मानिसँग सबैभन्दा नजिक हुने भनेको कुकुर नै हो। प्राचीन आदिम कालदेखि नै कुकुरसँग मानिसको सम्बन्ध रहेको तथ्यहरु छन्। घरको सुरक्षा गर्न होस् अथवा सिकार खेल्न जाने बेलामा बाटो देखाउने, इसारा गर्नेमा कुकुर सबैभन्दा अगाडि छ। त्यसैले कुकुरको पूजा गरिन्छ।’

कुकुर मानिसको असल साथी हो। संस्कृतिवद् पुरुषोत्तम श्रेष्ठका अनुसार मानिसको विकासको क्रममा नवपाषाण युगको अन्त्यमा मानिसले कृषि, स्थायी बसोबासको क्रममा थिए। यो १० हजार वर्ष अगाडिको कुरा हो।

‘त्यतिबेला मानिसले जंगली जनावरलाई घरपालुवा बनाउन थाले, सबैभन्दा पहिला कुकुर नै घरपालुवा भएको तथ्य छन्।’ उनी भन्छन्, ‘कुकुरको साथले मानिसले प्रगति गर्यो।’ कुकुरको गुणलाई सम्झेर कुकुरलाई पूजा गरिएको हो।

कुकुर सम्बन्धी केही तथ्यहरु


क्यानिस वंशको कुकुर क्यानिडी परिवारमा पर्छ। कुकुरका ८ सय प्रजाति छन् । कुकुरको उत्पत्ति ३ करोड वर्ष अगाडि भएको बताइन्छ। कुकुर ब्वाँसोको विकसित रुप हो।

जीव शास्त्रका विद्यार्थी अतित अधिकारीका अनुसार ‘३३ हजार वर्ष अगाडिमात्र कुकुरको अहिलेको स्वरुप विकास भएको हो। मानिससँग कुकुर १४ हजार वर्ष अगडिदेखिसँगै छ।’

प्रयोगको आधारमा कुकुरको कामलाई यसप्रकार उल्लेख गर्न सकिन्छ,

– प्रहरी र सैनिक सहयोगी

– अग्निनियन्त्रक

– संबाहक

– सिकारी

– अनुसन्धानकर्ता

– यातायातको साधन

कुकुरको सुघ्ने क्षमता एकदमै धेरै हुन्छ। एकदमै कम प्रकाशमा पनि कुकुरले देख्न सक्छ तर ककुरले रंग भने छुट्याउन सक्दैन।

हामी माया गरेर कुकुरलाई खाँदै गरेको खानेकुरा खुवाउँछौँ, तर दैनिक हामीले प्रयोग गर्ने केही खानेकुरा कुकुरको लागी विष जस्तै हुन्छ।
चकलेट, प्याज, लसुन, अंगुर र सुर्ती कुकुरको लागि विष समान हुन्छन्।

मासुजन्य र दूधजन्य पदार्थ कुकुरका मनपर्ने खानेकुरा हुन्।

अलि चकचके स्वाभावको कुकुरले घरमा अलि अलि बिगो गर्ने जनावर हो। तर घरको सुरक्षामा सधैैँ लागिपर्ने कुकुर हिजोआज घरको शोभा भएको छ।

कार्तिक २०, २०७५ मा प्रकाशित