तिहार स्मृति

किन किन त्यही भैली मलाई निको लाग्छ

पाठशाला नेपालमा देउसीको तयारीमा जुटेको सिस्नोपानी नेपालको समूहसँग अन्तर्वार्ता लिइरहँदा मेरो मन एकाएक बतासिएर जन्मथलो सुर्खेतको विरेन्द्रनगरस्थित नेवारे गाउँ पुग्यो।

स्कुले जीवनमा खेलेका भैलीका मिठा पलहरुका स्मृति ताजा भए। कतिपय क्षण त विस्मृतिमै पुगिसकेका थिए। खासगरी लक्ष्मी पूजाको दिन भैली खेलेका मनै रोमाञ्चित बनाउने पलहरु आखाँमा नाच्न थाले ।

त्यसो त वर्षमा एक पटक आउने त्यो दिनका लागि हाम्रो तयारी चानचुने हुन्थेन। छुटिएका स्कूले दौँतरीसँग पुनर्मिलनको अवसर समेत जुराउँथ्यो त्यो दिनले। भैली मेरा लागि विशेष महत्व राख्थ्यो सानैदेखि। र, प्रतिक्षा पनि व्यग्र हुने। दसैँमा टीका थापी मामाघरबाट फर्किए लगत्तै भैलीका लागि योजना बुन्न सुरु हुन्थ्यो ।

हरेक दिनजसो दिनको एक घन्टा छिमेकी दिदीको घरमा भेला हुन्थ्यौँ । स्कुल जाने पीर थिएन लामो बिदाले। तर दिनमा एक घण्टा निस्कन मुस्किल पर्ने घरको कामले। कम्तीमा बिदाका बेला घरको काम सघाइदियोस् भन्ने आमाको आस। उहाँ हाँसिरहेका हेर्न मन हुने।

छिटोछिटो सकेर हतारहतार दिदीकोमा पुग्थेँ । ढिलो जाँदा साथी रिसाएकी भनेर सुरुमै ल अव सुरु गरौँ नाच्न भन्थे । उनीहरु हाँस्थे । नाच र गीतको तयारी सकिएपछि हामी भट्याउने विषवस्तु कापीमा लेख्थ्यौँ। भैलीमा लगाउने पहिरनबारे पनि लामै छलफल चल्थ्यो ।

कति जना भैली खेल्ने, कहाँकहाँ खेल्न जाने भन्नेबारे योजना बनाउँथ्यौँ। भैलीमा उठेको पैसाले पिकनिक जाने योजना पनि सँगै बन्थ्यो । सिस्नोपानीले पाठशाला नेपालमा गरे जस्तै हाम्रो पनि भैलो र नाचको अभ्यास चल्थ्यो । कुनै कुनै दिन त बिहानदेखि साँझैसम्म।

भैलीको दिन । आमाको ढाकाको त्यो ठूलो चोली । तैपनि जसोतासो मिलाएर लगाउँथें । गुन्यू पनि आमाकै, नयाँ रातो धोतीको बनाउने। बुवाले तिजमा किनिदिनु भएको। अनि कम्मरमा रातो पटुकी। ‘फुत्केला है बलियो गरी बाँध’ हामी साथीहरुबिच हुने ठट्टा पनि कम्ति रमाइलो हुन्थेन।

साथीहरुका पनि आ–आफ्नै तयारी हुन्थे । मैले जस्तै महिनौँअघि भैलीका लागि राता चोलीहरु र धोतीहरु बटुल्ने काम हुन्थ्यो। रातो डोरीले बाटे पछि छोटै कपाल पनि लामै देखिन्थ्यो। हातभरि राता चुरा । गलामा छप्पकै पोते । भन्नै परेन ती सबै आमाकै ।

दैलोबाट निस्कनु अघि आमाको हातबाट ठेकीको ढकनीले पिसेको रातो चामलको पिठोको टीका । वर्ष दिनमा एकपटक आउने भैलो छोरीले चाहेजस्तै रमाइलो होस् भनेर शुभ साइतका लागि ।

भैलीमा भट्टाउन भनेपछि मलाई त्यसै पसिना आउँथ्यो। साथीहरु पनि म जस्तै । हामीहरु पछाडि सरेपछि छिमेकी ठूली दिदी अघि सर्थिन् । ठूलै राहत मिलेको अनुभव गर्थ्यौँ त्यतिबेला । हामीहरु खेल्न सुरु गरेपछि नजिकका दिदीबहिनी मात्र नभएर अरु स्कुले साथी पनि मिसिन पुग्थे ।

घरका आंगनहरु लहरै मिलाएर राखिएका दियोले धपक्क बलेका हुन्थे । चारैतिर उज्यालो । हाम्रो टोली आँगनमा पुग्ना साथ उज्याला कौशी, ढोका र झ्यालबाट घरबेटी चिहाउँथे । बिस्तारै घरका सबै सदस्य पिँढीमा आएर बस्थे, हाम्रो भैली हेर्न।

दिदीले भट्याउन थाल्थिन् । हामी स्वरमा स्वर मिलाएर भैली भन्थ्यौँ। ‘बलीराजाले आफूहरुलाई पठाएकोदेखि लड्दैपड्दै आएको’ जस्ता सन्देश भैलीमा मिसाउँथ्यौँ । ‘भैलिनी आइन आगन, गुन्यो चोली मागन, हे आैशीको बार गाईतिहार भैलो’ यो त सबैलाई कण्ठ नै थियो।

भट्याउने काम सकिएपछि साथीहरुले मादल र चापको तालमा भाका हाल्न थाल्थे । म नाच्न अघि सर्थे । पालैपालो साथीहरु नाच्थे । अनि सामूहिक नाच सुरु हुन्थ्यो। एउटा घरमा नाचेपछि अर्को घरमा त नाच्नै पर्थ्यो जस्तो नाचे पनि साथीहरु भने फुर्काउँथे। हामीहरु नाच्दै गर्दा कतिपय घरबेटी बुवाआमा र परिवारका अन्य सदस्यहरु पनि साथ दिन आउँथे।

नाचगान सकिएपछि अबको आशिषको पालो, ‘घरबेटी बुवा आमा निरोगी रहुन्, छोराछोरीले प्रगति गरुन्,घरमा लक्ष्मीले बास गरुन्, सुखशान्ती भइरहोस् ।’ त्यतिबेला उनीहरुको मुहारमा खुशी प्रष्ट झल्किन्थ्यो ।

त्यसपछि घरबेटी आमाले आगनको बिचमा सगुन राख्थिन् । धान या चामलले भरिएको नाङ्लामा लहरै सजाएर राखिएका सेल, फिनी र कागती रोटी । बिचमा धपक्क बलेको दियोे । मखमली, गुरधौली र हजारी फूलमाथि नयाँनयाँ नोटहरु पनि। पैसा कति दिन्थे,त्यसले अर्थ राख्दैनथ्यो। किनकी यो परम्पराको निर्वाह थियो। पैसा कमाउने पर्वकारुपमा लिइर्दन थियो यसलाई।

त्यही सगुन वरिपरी आशिष दिँदै घुम्थ्यौँ हामी । सगुन मिलाएर झोलामा राख्ने जिम्मा एक जनाको हुन्थ्यो। घरबेटीले बिदाईका हात हल्लाउँथे भन्थे, ‘अर्को साल पनि आउनु है ।’ हामी मुस्कुराउँदै बाहिरिन्थ्यौँ। र मनमा लाग्थ्यो यसपटकको तयारी राम्रै भएछ ।

दिउँसोबाट सुरु भएको देउसीभैली यसरी नै रातीसम्म चल्थ्यो । एकाध वर्ष त देउसीभैलो खेलेर रात छर्लंग समेत भएको छ । गाउँका प्रायः घरहरु नबिराई पुग्थ्यौं । एउटा घरमा देउसीभैलो खेलेर अर्को घरसम्म जाँदा बाटोमा हुने हाँसो ठट्टाले थोरै भए पनि थकाइ मेटाउँथ्यो ।

राती बाँसघारी र खोल्साखाल्सी भएर हिँड्दा ‘भुत’ आउँछ कि भन्दै साथीहरु साइँसुइँ गर्दै पाइला सार्थे । म भने अघिअघि हिँड्थे। साथीहरुको डर भगाउन ‘भुत आयो भने सबभन्दा पहिले मलाई खान्छ त्यतिञ्जेल तिमीहरु भाग्नु’ भनिदिँदा साथीहरु गललल हाँस्थे।

अँध्यारोमा उकालो ओराली बाटो कम्ती गाह्रो हुन्थेन । त्यो पनि गुन्यू चोलीमा । एकअर्काको हात समात्दै अघि बढ्थ्यौँ । लडिहाले पनि शरीरमा लाग्ने चोट भन्दा लुगा मैलो हुने कि भन्ने चिन्ता हुने।

भैलीको अन्तिम घर हाम्रै हुन्थ्यो। जति राती भए पनि बुवाआमा र हजुरआमा छोरीको टोलीलाई कुरेर बस्नुहुन्थ्यो । मेरी दिदी हामीसँगै भैलीको तयारीमा जुट्थिन। तर खेल्नेबेला रोटी पकाउने चटारोले छोप्थ्यो उनलाई। अहिले सम्झिँदा लाग्छ उनी मेरो रहरलाई साथ दिन मात्र उनी भैलीको तयारीका बेला आउँथिन् । र उनीलाई पहिल्यै थाहा हुन्थ्यो आफू भैली खेल्न जान नपाउने । तर उनले कहिल्यै पनि आफ्ना रहरलाई भित्रभित्रै गाँठो पारेको संकेत समेत गरिनन् । कहिलेकाँही यति मात्र भन्थिन, ‘ठिकै छ तिमी खेल्न जाउ म घरको काम हेर्छु नि ।’

हामीले भैली खेलेको भोलीपल्ट अर्थात गर्वद्र्धन पूजाका दिन  देउसी खेल्न ढाँका टोपी, दौरासुरुवाल ठटिएर मादलको तालमा गाउँका दाजुभाईले भट्याउँदै गर्दा दिदी बहिनी भाइटीकाको तयारी गर्थे। प्रायः मेरो भागमा माला उन्ने काम पथ्र्यो। तिहार सकिएपछि पिकनिक जानुको बेग्लै रमाइलो हुन्थ्यो। पिकनिकको रमाइलोले भैली खेल्दा लागेको थकाई सबै बिर्साउँथ्यो ।

हरेक वर्ष नयाँनयाँ ठाउँ पिकनिक गथ्र्यौं । घर नजिकैको चौर, भेरी नदी, झुप्रा खोला, गोठीकाँडा, बुलबुले ताल पिकनिकका लागि रोजाईका ‘स्पट’ हुन गर्थे। पिकनिकबाट फर्कँदै गर्दा हामीहरु अर्को वर्ष अझ राम्ररी भैली खेल्ने अठोट पनि सँगै हुन्थ्यो । प्राइमेरी स्कुलपछि बजारको स्कुलमा भर्ना सर्नु बाध्यता बन्यो। तर भैलीले हरेक तिहारमा हाम्रो पुनर्मिलन गराउँथ्यो।

बागीना समूहमा आबद्द भएपछि  भैली कार्यक्रम पनि लिएर  हामी गाउँगाउँ गयौँ। र, आफ्नै नापमा सिलाएको गुन्यो चोली लगाउने रहर पुरा भयो। कलेजका साथीहरुसँग पनि केही वर्ष भैली खेलियो ।

समयक्रममा देउसीभैली खेल्ने शैलीमा परिवर्तन आएको छ। मादल, चाप र आफ्ना भाकाको सट्टा सहरबजारमा ड्रमसेट, साउण्ड स्पीकर अनि हिन्दी र अंग्रेजी गीतका रेकर्डहरु घन्किन्छन्। पहिरनमा पनि त्यति मौलिकपन देखिदैन। युवा पुस्ता फेरिएको देउसी भैलीको शैलीमा रमाएका पनि छन्। तर परिवर्तित देउसीभैलीले नेपालीको मौलिकता र पहिचान मासिन्छ कि भनेर चिन्ता गर्नेेहरु पनि त्यतिकै छन्।  त्यसको मौलिक शैलीमै विकृती आए ?

हुन त सिस्नोपानी नेपालले जस्तै हिजोआज देउसीभैली समाजमा व्याप्त विसंगति र विकृति विरुद्ध आवाज उठाउने माध्यम पनि बनेको छ। तर, किन किन मलाई भने त्यही देउसी भैली निको लाग्छ । घरबाट टाढिदा पनि ती पलहरु अविश्मरणीय र अटल रहिरहे मनमस्तिष्कमा। त्यही परम्परा, त्यही शैली, त्यही भेषभुषा, त्यही उमंग र सद्भाव आँखामा झुल्किरहन्छन् ।

र, गुनगुनाउन थाल्छु –

भैली नि आइन् आँगन
गुन्यू चोलो माग न,

तिहारको सबैलाई शुभकामना ।

कार्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्