टोलका कुकुरलाई खाना खुवाउँदै गरेकी पार्वती गुरुङ्ग । तस्बिर : प्रभात खनाल/देश सञ्चार

शहर बाक्लिँदै गयो । १८ वर्षअघि यहाँ बसाईँ सर्दा बस्तीमा अहिलेको जस्तो बेथिति बाक्लो थिएन । अहिले त जता हेरे पनि घरैघर । खाली ठाउँहरु पनि खुला छैनन् । तर अनियन्त्रित रुपमा ठडिएका अग्ला घरहरुको बाक्लो बस्ती हरेक बिहान छिचोल्ने एक पात्र हुन्, पार्वती गुरुङ्ग ।

काठमाडौँ सामाखुशीको कपुरधारा चोक नजिकै पार्वतीको घर छ । उनको घर अघिल्तिरको गल्ली र मुल सडक हुँदै गाडी हुईँकिन्छन् । बिहानै मर्निङ्ग वाक गर्नेहरुको आहोरदोहोर ।

उदाएको घाम घरहरुको छेल छलेर आँगनमा पर्न थाल्दा उनको टोल यात्रा सुरु हुन्छ, नितान्त फरक उद्देश्य बोकेर । नियमित बिहान पाँच बज्दा नबज्दै उठेकी पार्वतीलाई सात बज्दासम्म यो तयारीमा लाग्छ । त्यसपछि निस्कन्छिन्, साथमा हुन्छन् जीवन–साथी राम गुरुङ्ग ।

बिहानभरि लगाएर पकाएको भात र मासु मिलाएर बाल्टी र बाँटामा राखिएको छ । फलामे गाडामा साना आकारका निला, हरिया अनि राता बाँटाहरु छन् । रामको साथमा पार्वती सेतो दुई तले घरको कालो गेट खोलेर बाहिर निस्किन्छिन् ।

मुल बाटो निस्केने बित्तिकै चार–पाँचवटा कुकुरहरु झम्टिन आउँछन् । पार्वतीले साना भाँडामा खाना राख्छिन्, कुकुरहरु आ–आफ्नो भागमा मस्त हुन्छन् । रामले अलि पर अर्को चोकमा रहेका त्यतिनै कुकुरका लागि पस्किएको खाना लिएर जान्छन् । ती मुक प्राणीहरुको पेट भर्ने कार्यबाट नै पार्वती र रामको दैनिकी सुरु हुन्छ हरेक दिन । कुकुर तिहार कुर्दैनन् उनीहरु ।

बाटो हिँड्नेहरु कोही कुकुरको भिडभाड देखेर तर्सिँदै–तर्किँदै थिए । कोही भने पर पुग्दासम्म आश्चर्यमा फर्कीफर्की हेरिरहेका । पार्वती वरिपरी घेरेका कुकुरलाई खाना खुवाउँदै ।

‘लाडे पल्टिन्छन्, एउटालाई दियो अर्को रिसाउँछ, अर्को तिर फर्कियो उ ठुस्किन्छ ।’ हड्डी खोज्दै गरेकी पार्वतीले उज्यालो अनुहार लगाउँदै भनिन्, ‘यिनीहरु पनि मान्छे जस्तै हुन्, माया गर्छन्, माया बुझ्छन् । तर अरुलाई भन्दा आफैलाई माया बेसी होस् भन्ने चाहन्छन् ।’

सायद यही करुणापूर्ण ममताका लागि पार्वती गुरुङ्गको परिचय सामाखुशी, कपुरधारा चोक वरपरको टोलमा ‘आमा’ को बनेको छ । टोलभरि र वरिपरी २०० सय भन्दा बढी छन् उनका सन्तानहरु । हरेक बिहान उनको बाटो हेरेर बस्छन् टोलका सबै कुकुरहरु । ‘छोराछोरी र यिनीहरुमा केही फरक लाग्दैन’ अघिल्लो चोक पुगेर जम्मा भएका अरु कुकुरहरुलाई खुवाउँदै गरेकी पार्वतीले भनिन् ।

हरेक दिन फैलिने परिवार


५१ वर्षकी पार्वती र ५३ वर्षका रामका दुई छोरी छन् । एकको बिहे भयो, अर्की छोरी स्नातकोत्तर सकेर बसेकी छन् । सुखी परिवार छ । रातको ड्युटीबाट रामको बिहान ६ बजे घर फर्किन्छन् । पार्वतीले त्यो बेला आधाउधी तयारी सकेकी हुन्छिन् । रामले साथ दिन्छन् । अनि सँगै निस्कन्छन् ।

हामी बिहानै पार्वतीको घर पुग्दा छोरीहरु उठिसकेका थिएनन् । उनीहरुलाई बिस्तारामै छोडेर टोलभरि पर्खिरहेका कुकुरहरुलाई खुवाउन निस्किइन् पार्वती रामसँगै ।

बाटोका छेउ र चोकहरुमा उनको बाटो हेरेर बसकेका कुकुरहरुको अनुहार उज्यालिन्छ एकाएक । खुशीमा पुच्छर हल्लाउँदै भुक्न थाल्छन् । हरेक दिन प्रायः हरेक चोकमा नयाँ सदस्य थपिन्छन् । पार्वतीको सडक छेउको परिवार बिस्तार भइरहन्छ ।

सजिलो कहाँ छ र !


खुशी त मिल्छ, तर यही खुशीका लागि पार्वतीले मुख छुचो बनाउनु नपरेको दिन सायदै होला । पार्वती र रामले अरुले भुस्याहा भनेर हेप्ने टोलका कुकुरहरुलाई मायाले खाना खुवाई रहँदा त्यहि बाटो भएर हिँड्ने यस्ता पनि छन् जो यसलाई बेकार ठान्छन् । भन्नै पर्दा ‘कुरा काट्दै’ हिँड्छन्, भन्छन्–यस्तो कुकुरलाई खुवायो, बाटोभरि फोहोर हुन्छ, बरु गरिब–खान नपाएकाहरुलाई दिनु नि ।

यसरी बोल्दै हिँड्नेहरुले नै जानुन् कि–उनीहरुले गरिबहरुलाई कत्तिको सहयोग गरेका छन् । तर पक्कै पनि कुकुरहरुलाई माया गर्नु त परको कुरा, अरुले गरेको स्नेहमा पनि खोट लगाउन पछि पर्दैनन् । यसले पार्वतीलाई असर गर्दैन । त्यो भन्दा बढी असजिलो सहनु पर्छ उनले ।

राम फलामे गाडा गुडाउँदै चोक छिचोलेर गल्लीतिर पसे । पार्वती भाँडा बडुल्दै पछिपछि लागिन् । गल्लीभरि भोको पेट भर्ने आशमा बसेकाहरुको समूह थियो । उसैगरी खाना निकाल्दै, खुवाउँदै गरे ।

बाटोको छेउमा खाना दिँदा पनि सचेत हुनुपर्दो रहेछ । आफ्नो घरअघि कुकुरलाई खाना दिएको नरुचाउनेहरु माथि कौशीबाट कराउन थाल्छन् । पार्वती र राम मुख फर्काउनु भन्दा गाली गर्नेहरुको घर भन्दा अलि पर खाना बाँड्छन् ।

र पनि कोही न कोहीसँग त बाज्नु नपरेको दिनै हुँदैन । भित्री गल्ली कटेर अर्को बाटो हुँदै चोक पुगेकी पार्वतीले त्यहाँ रहेका कुकुरलाई खुवाउँदै थिइन् । बाल्टीमा आधा जति भएको खानाको साथमा रहेका रामको छेउमा आएको कुकुरको माया लाग्यो ।

रामले हातमा थोरै खाना दिए, सुन पसलको अघि थियो त्यो । पसले महिला कराइन् । भूईँमा खाना राखेका थिएनन्, हातैले खुवाएका रामलाई रिस उठ्यो सायद । उनी पनि कराए । पार्वती आइन्, रोक्न खोजिन्, राम अघि लागे ।

हामीतिर फर्किएर पार्वती बोलिन्, ‘यस्तै हो, मान्छेहरु पनि कस्ता हुन् ? मर्दा लिएर जाने त कसैले पक्कै केही होइन होला ।’ पार्वती र रामले यस्तो हरेक बिहान झेल्नु पर्ने बाध्यता हो । यहि बाध्यतामा पनि अघाउँदै गएका कुकुरहरुको पेटले उनीहरुको अनुहारमा मुस्कान फुलाउँछ । र सबै अप्ठ्याराहरु सजिला बनिदिन्छन् ।

सुन्दर यहिँको संसार


पार्वतीका आठ दिदी बहिनी, तीन भाइहरु । सबै राम्रो ठाउँमा छन्, व्यवस्थित छन् । अधिकांशको बसाई युरोप र अमेरिकातिर छ । प्रजातन्त्रवादी नेता बखानसिंह गुरुङ्गकी पनातिनी र शहीद लालबहादुर गुरुङ्गकी नातिनी हुन् उनी ।

दिदी–बिहीनीले विदेश घुम्न बोलाइरहन्छन् । तर पार्वतीलाई कुकुरको मायाले बाँधेको छ । पार्वतीले स्पष्ट पारिन्, ‘यहिँ यताउता जाँदा त कुकुरलाई के भयो होला, खान पाए पाएनन् भन्ने हुन्छ । विदेश नै गयो भने त के होला, कल्पना पनि गर्दिन ।’

उनलाई आफू अघिल्लो जन्ममा कुकुर नै थिएँ कि जस्तो पनि लाग्दो रहेछ । ‘नत्र यस्तो औधी कुन हुन्थ्यो र ?’ भन्छिन् उनी, ‘एक–दुई दिन घर छोडेर जाँदा देउरानीहरुलाई भन्छु, तर धेरै दिन बस्न सक्दिन । फर्किहाल्छु ।’ पार्वतीलाई उनको कुपरधारा चोक वरिपरिको दुनिया जित प्यारो अरु छैन । कुकुरहरु उनलाई ‘मिस’ गर्छन्, उनी आउने बाटो हेरिरहन्छन् ।

घर फर्किएपछि


बिहान सात बजेपछि निस्किएका पार्वती र राम नौ बज्ने बेला घर फर्किए । निस्कँदा भरेर लगेका भाँडा खाली थिए । तर पार्वतीको मन भरिएको । गेटबाट पस्दै गरेकी पार्वतीले भनिन् ‘उनीहरुको पेट टम्म भएपछि बल्ल ढुक्क हुन्छ ।’

बाहिरकालाई त खुवाइन्, घरमा पनि पर्खिएका छन् । दुई छोरी अनि तीन थप सन्तानहरु (कुकुर) ले । दुई सेता र एउटा कालो कुकुर छ घरमा । पार्वतीले पर जान्छु भन्नै हुँदैन, काखमा आउँछन् । लुट्पुटिन्छन् । चाट्छन् । पार्वती पनि उसैगरी रमाउँछिन् । उनको घर र घर बाहिरको संसार कुकुरकै पेरिफेरिमा छ । प्रेम बाँड्छिन् र प्रेम पाएको सन्तुष्टि हुन्छ उनमा ।

घरको काममा व्यस्त भएकी पार्वतीले आफ्नो प्रेम प्रशंग पनि उप्काईन् । रामले अलि लाज माने । अनि प्रशंग बुढा–बुढी बिच हुने झगडाको पनि उठ्यो । पार्वती झगडाको कुरा हाँस्दै भन्दै थिइन्, ‘कहिले काहिँ त झगडा पर्छ नि, म रुन्छु । यिनीहरु (दुई कुकुर) मलाई टोलाएर हेरिरहन्छन् । रुँदारुँदै हाँसो लाग्छ ।’ अनि हाँसिन् पार्वती ।

हामीले घर बाहिरका कुकुरलाई हरेक दिन खुवाउने खर्चको कुरा गर्न खोजेका थियौँ । पार्वती त्यसबारे कुरा गर्न त्यति तयार भइनन् ।

तर भान्छामा पछ्याउँदै जाँदा, त्यहाँ कुकुरका लागि ल्याइएको मासु, चामलका बोरा र अरु सामानहरु थिए । कुरा गर्दै जाँदा थाहा भयो दिनको १५०० भन्दा बढीको मासु लाग्ने रहेछ । १०–११ माना चामलको भात । भात नखानेका लागि बिस्कुट । सबै गरेर महिनाको ६० हजार भन्दा बढी खर्च हुनेरहेछ ।

चिया बनाउँदै गरेकी पार्वतीले बोलेकी हुन्, ‘खर्चको चिन्ता छैन । मैले कसैको लागि गरेको होइन, म आफैलाई राम्रो लाग्छ, र गरेकी हुँ । पैसा भन्ने कुरा त आउँछ जान्छ । दिदीहरुले पनि साथ दिएका छन् ।’

नागरिकताको रमाइलो प्रशंग


कुरै कुरामा घरमा रहेका तीन कुकुरको त नागरिकता बनाएको भन्ने थाहा लाग्यो । नागरिकता साँच्चिको होइन, ख्याल ख्यालको । पार्वतीकी कान्छी छोरी (रक्षा) ले घरमा भएका कुकुरको नागरिकता बनाएकी रहिछन्, आफैले ।

पार्वतीलाई त्यो मन परेको छ । उनलाई कुकुरको परिचय स्थायी रुपमा स्थापित होस् भन्ने छ । कुकुर पाल्नेहरुले छोड्न नपाउने । सबैले बचेको खाना दिने । अनि कुकुरलाई कसैले हेला नगरेको संसार भए हुन्थ्यो भन्ने लाग्छ ।

कम्तिमा उनले आफूले भ्याएसम्म त्यसका लागि पहल गरेकी छन् । हामी थप केही बेर बसेर, पार्वती र उनको परिवारको सेवाजीवि जीवनको एक बिहान नियालेर फर्किँयौँ, निष्काम सत्कर्मको पनि उपल्लोस्तरलाई नमन गर्दै ।

सबै तस्बिरहरु : प्रभात खनाल/देश सञ्चार

कात्तिक २०, २०७५ मा प्रकाशित