आत्मियता थप प्रगाढ बनाउने माध्यम तिहार 

पोखरा – तिहारको झिलिमिली बत्ती र ढोकाहरुमा सयपत्री सजिन थालेका छन् । मिठाई र सेलरोटी घरघरमा बन्दै छन्। तिहार विशेष बनाउने धुनमा प्राय सबै देखिन्छन्। पोखराका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वको तिहार कस्तो हुँदैछ त ?

रामकलि खड्का महिला उद्यमी, कार्यकारि निर्देशक
महिला सिप विकास संस्था

विशेषगरी मैले भाईलाई सप्तरंगी टीका र सयपत्रीको मालासँगै ढाकाको टोपी लगाइदिने गर्छु । उसको शिरमा ढाका टोपी लगाइदिँदा मलाई आनन्द लाग्छ । आफैले बनाएको बत्तिको दियो बाल्ने गर्छु । सेलरोटी र अर्सा रोटी बनाउँछु । लक्ष्मी पूजा विशेष रुपमा मनाउने गर्छु । पर्वलाई बोझको रुपमा होइन संस्कार र संस्कृतिको रुपमा विकास गर्नुपर्छ जस्तो लाग्छ। तिहारलाई बोझको रुपमा नलिई दाजुभाई र दिदिबहिनीको आत्मिय सम्बन्ध स्थापित गर्ने अवसरको रुपमा लिनुपर्छ ।

बुद्धि मल्ल, नायव प्रमुखकार्यकारी अधिकृत ओम डेभलपमेन्ट बैंक लिमिटेड

यो बेला पुराना साथिभाइको जमघटले आफ्नो गाँउठाँउको बारेमा चिन्तन मनन तथा बिचारको आदानप्रदान गर्ने मौका मिल्छ र आपसमा केही काम गर्ने बातावरण सृजना हुन्छ । जताततैको फूलहरुले उर्जा थप्छ। काग, कुकुर, गाई जस्ता जनावरहरुको पूजाले गर्दा मानिस र जनावर बीचको सम्बन्धलाई पनि स्थापित गरेको छ । लक्ष्मी पुजाको दिन बैंकमा विशेष लक्ष्मी पुजा कार्यक्रम हुन्छ । परिवारका सबै सदस्य पोखरामा जम्मा भई भाईटिका लगाउँछौ । म्ह पुजामा आमाको हातबाट आशिर्वाद ग्रहण गर्छाै ।

नारायण प्रसाद पौडेल, अध्यक्ष, अटोवेज प्रा.लि, नयाँबजार पोखरा

अफिसमा सबै कर्मचारी मिलेर लक्ष्मी पुजा गर्छौ । त्यसपछि विदा हुन्छ । केहि तनाव कम हुन्छ । २ चार दिन आफू आफन्तसँग रमाउने परिवेश तिहारले सृजना गर्छ । देउसी भैलो पनि विशेष मन पर्छ । गच्छे अनुसार दान गरेर सांस्कृतिक पक्षको आनन्द लिन पाइन्छ ।

हामी चार दिदि बहिनी दुइ दाजुभाई छौ । एक दिदि विदेश हुनुहुन्छ । तीन दिदिबहिनी सहित पोखरामा टिका लगाउँछौ । जुवा तास परिवारसँग रमाइलो गर्ने खेल्छु तर बाहिर गएर खेल्ने गर्दिन । चाडवाड भनेको पारिवारिक जमघट हो परिवारमै बढि रमाउँछु । अघिपछि यस्तो अवसर त्यति मिल्दैन । पर्वलाई विकृति उन्मुख हुनबाट जोगाउँदै नयाँ पुस्तालाई हस्तन्तरण गर्ने जिम्मा पनि हाम्रै हो ।

लक्ष्मी कुँवर थापा(लत्ता), प्रबन्ध निर्देशक कुँवर नयन ग्रुप

तिहार सबैभन्दा मन पर्ने पर्व हो । यद्यपि दुई बहिनीको एक भाइलाई भाइटिका लगाउन नपाएको ११ वर्ष भइसक्यो । भाई अमेरीका गए देखि । यसपाली दसैमा पनि उसलाई आउन मिलने। ऊ सँग भाइबर, म्यासेन्जरबाट आर्शिवाद दिदै तिहार मनाउनुको विकल्प रहेन ।

यसरी नै धेरै वर्षहरु विते । यो पर्वले दाजुभाई दिदि बहिनी बीचको आत्मियतालाई अझै प्रगाढ बनाउँछ । छोराछोरीको तिहार विशेष बनाउन आफ्नो समय बढि वित्ने गर्छ ।

यमपञ्चकको पाँचै दिन म ढोकामा तेलको धारा र घरको वरीपरि दियो बाल्दा मनमा एक प्रकारको शान्ति मिल्छ । घरआँगनको विशेष सफा गरेर लक्ष्मी पुजा गर्दाको क्षण झनै अलौकिक अनुभुति हुन्छ ।

अर्जुन पोखरेल महासचिव पोखरा उद्योग बाणिज्य संघ

यस वर्षको तिहार मैले पनि मेरो जन्म घर कास्कीको मट्टिखान गएर दिदि र फुपुहरुको हातबाट लगाउनेछु ।  तिहारमा काग कुकुर गाई तथा लक्ष्मी पुजा गर्ने गरिन्छ । यसको पनि विशेष महत्व रहि आएको छ । विशेष गरी लक्ष्मी पुजाले आर्थिक समृद्धि हुन्छ भन्ने जन विश्वास रहि आएको छ ।

भाई पुजाले दिदि र भाई विचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भुमिका खेल्दछ । दाजुभाइकोलागि दिदिले विभिन्न खानेकुराहरु र अन्य उपहार दिने गर्दछन् दिदिबहिनीलाई दाई भाईले दक्षिण दिने चलन रहि आएको छ ।  तिहारको अर्को विशेषता देउसी भैलोे पनि हो । यसले साथिभाईबीच जमघट गराउँदछ ।

कात्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्