आवधिक योजना आधारपत्र तर्जुमा गोष्ठी

प्रदेशमा भ्रष्टाचार हुनै नदिने मुख्यमन्त्री पौडेलको उद्घोष

डोरमणि पौडेल।

काठमाडौँ – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शुन्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारेका छन्।

पौडेलले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरे। प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धी गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताए।

मुख्यमन्त्री पौडेलले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको पनि जानकारी दिए। उनले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने योजना पनि अघि सारेका छन्।

कार्यक्रममा बोल्दै प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिए। उनले प्रदेश ३ को विकासको मुख्य आधारको रुपमा प्राकृतिक स्रोत, साधन रहेको पनि स्मरण गराए।

कार्यक्रममा विज्ञहरुले प्रदेश ३ को विकासका लागि जलविद्युत क्षेत्रको विकासमा विशेष जोड दिन पनि सुझाव दिइएको थियो।

कात्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्