शेयर बजारको कारोबार पूर्ण रुपमा अनलाइन प्रणालीमा

नेप्सेको अनलाइन कारोवार प्रणालीको उदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै अर्थमन्त्री। तस्बिरः रासस

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जले पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली सुरु गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रमका बीच शेयर कारोबार पूर्ण रुपमा अनलाइनबाट गर्ने प्रणालीको शुभारम्भ गरेका हुन्।

नेप्सेले केही महिनाको प्रयासपछि यो प्रणालीलाई पूर्ण रुपमा प्रयोगमा ल्याएको हो। यो प्रणाली सुरु भएसँगै शेयर लगानीकर्ताहरुलाई आफू बसेकै ठाउँबाट प्रविधिको उपयोग गरेर सहज तरिकाले सेयर कारोबार गर्ने बाटो खुला भएको छ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सो सेवाले शेयर कारोबारलाई सहज बनाउने विश्वास व्यक्त गरे। अनलाइनबाट शेयर कारोबार गर्ने प्रणालीलाई व्यवस्थित बनाउन पनि मन्त्री खतिवडाले मातहतका निकायलाई सचेत गराए।

उनले शेयर बजारलाई सहज बनाएर आर्थिक गतिविधिलाई अघि बढाउन सरकारले प्रविधिको विकासका सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

डा. युवराज खतिवडा।

कार्यक्रममा बोल्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणालीले शेयर बजारलाई सन्तुलित ढंगले अघि बढाउन सहज बनाउने विश्वास व्यक्त गरे। उनले ठूलो लगानी गरेर यो प्रविधि भित्र्याएको उल्लेख गर्दै यसको सदुपयोग गरेर अघि बढन पनि सम्बन्धित सबैलाई आग्रह गरे।

अब शेयर लगानीकर्ताहरुले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैँले कारोबार गर्न सक्नेछन्। अनलाइन कारोबार प्रणाली सुरु भएसँगै शेयर बजारले गति लिने अपेक्षा गरिएको छ। अनलाइन कारोबार गर्दा लगानीकर्ताहरुले आफ्नो युजर नेम र पासबर्ड सुरक्षित राख्नुपर्नेतर्फ पनि नेप्सेले सचेत गराएको छ।

कात्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्