तिहार मनाउन घर फर्किदै

‘वर्ष दिनको पीडा भाईटीकाले भुलाई दिन्छ’

धनगढी-करीब ६ महिनाअघि मात्रै कामका लागि भारत पसेका बैतडीका रमेश बोहरा घर आएका छन्। छ महिनामै घर फर्किनुको कारण हो तिहार। उनी हरेक वर्ष तिहारको बेला बहिनीबाट माला र सप्तरंगी टीका लगाएर छाड्छन्।

कैलालीको सीमा नाका त्रिनगरमा भेटिएका रमेशले भने, ‘वर्षमा एक पटक तिहार आउँछ। त्यही समयमा पनि बहिनीका हातबाट टिका लगाउन पाएन भने साह्रो नराम्रो लाग्छ ।’

उनीहरुसगैँ तिहारमा गाउँका १० जनाको टोली तिहारमा दिदी बहिनीको हातबाट टिका लगाउनका लागि घर आएका छन्। डोटीको दिपायलका राजेन्द्र खडका पनि तिहार मनाउनका लागि १० दिनको विदा लिएर घर फर्किदा निकै खुसी छन।

सीमा नाका त्रिनगरमै भेटिएका उनले खुसी हुदै भने, ‘१० दिनको छुट्टि लिएरै भएपनि दिदी बहिनीको हातबाट टिका लगाउन आएको छु। साह्रै खुसी लागेको छ । रमाईलो हुने भो यसपटककोे तिहार ।’खडकाका दुई बहिनी र एक दिदि छन ।

गत वर्ष छुट्टि नमिल्दा घर फर्किन नपाएका खड्काले सम्झदै भने, ‘गत वर्ष तिहार साह्रै खल्लो भयो, पिडा भयो । दिदि र बहिनीले निकै आउन भनेर कर गरेकी थिईन तर आउन सकिएन । त्यसैले गत वर्षको पिडा सम्झेर आएकोे हु ।’

नाकामा भेटिएको अछामको विनायक नगरपालिकाको एक समुहमा उत्साह र खुसी कम थिएन । भारतको गौरीफन्टाबाट नेपालको सिमा नाका त्रिनगर पुग्ने वित्तिकै उनीहरुको मुहारको खुसीको चमक देखिन्थ्यो ।

कोही घरमा फोन गरेर म धनगढी पुगिसके भनेर त कोही तिहारको तयारी गर्दै गर्नुहै, म अव भोलि पुगिहाल्छु भन्दै थिए । उनीहरुको मुहारमा देखिएको खुसीले प्रष्टै पाथ्र्यो, तिहारमा घर आउन पाउदाको खुसी।

तिहारमा दिदी बहिनीको हातबाट गलामा माला र निधारमा टिका थाप्दा त्यो खुसी अझै दोव्वरे बढने अपेक्षा उनीहरुको छ । समय मिले देउसीभेलीमा सहभागी हुने इच्छा छ उनीहरुको।

भन्छन्’, तिहारका सबै दिनमा सामेल हुन मन छ।’ यो खुसीले उनीहरु फेरी ६ महिना काम गर्न सक्ने हुन्छन् घरभन्दा टाढा। बाध्यता छ उनीहरुको रोजीरोटीका लागि घर छोड्नु पर्ने । तर पनि भन्छन्’, कम्तीमा तिहारमा त घर आउने मौका मिल्छ।’

कार्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्