
नेपालगञ्ज-बाँके मदनचोकका नारायण गुरताल (विक)ले गतवर्षको तिहारमा दिदीको हातको टीका लगाउन पाएनन्। उनले भारतको मुम्बईमा १२ वर्षदेखि कुकको काम गर्दै आएका छन्। गतवर्षको तिहारमा नारायणलाई छुट्टी मिलेन।
यसपाली उनी रमाई रमाई घर फर्किएका छन्। नेपालगञ्ज नाकाबाट विभिन्न सामानसहित मुस्कुराउँदै नारायण नेपाल छिरे। नारायणका दुई दिदी छन्। ‘यसपाली त दिदीको हातबाट सप्तरंगी टीका लगाएर, घाँटीमा सयपत्रीको माला लगाउन पाइने भयो, नारायणले भने, तिहारजस्तो खुशीयालीपूर्ण चाडमा घर आउन नपाउदा पोहोर साह्रै खल्लो लागेको थियो।’
नारायणका पाँच दाजुभाई छन्। उनी माहिला हुन्। चार जना दाजुभाई उनीसँगै मुम्बईमा काम गर्छन्। उनी भाईहरु गणेश, शंकर र विष्णुसँगै तिहारमा रमाउन घर फर्किएका छन्। दशैंमा नआएका उनी तिहारमा दिदीको हातको टीका लगाउन आइपुगेका छन्।
नारायणको मासिक १८ हजार भारु तलव छ। ‘नेपालमा रोजगारी पाइदैन, उतै काम गर्न बसेको छु। हामी चारैभाई उतै छौं, नारायणले अगाडि रिक्सामा अरु भाईहरु गएको इशारा गर्दै भने, काम र दाम राम्रै छ। खुशी नै छौं।’
दैलेखका सार्जन परियार पनि तिहारको टीका लगाउन घर फर्किएका छन्। दशैंमा नआएका उनी तिहारमा आइपुगेका छन्। कालापहाडमा मजदुरी गर्ने उनी तिहारमा घरपरिवार र साथीभाईसँग रमाइलो गर्न औधी मन पराउँछन्। ‘दीपावली भारतमा पनि धुमधाम हुन्छ। हामीलाई त आफ्नै गाउँ प्यारो लाग्छ, दिदी–बहिनीसँग टीका लगाउने, साथीभाईसँग देउसी÷भैलो खेल्ने, विगत सम्झिदै परियारले भने।
नेपालगञ्ज नाकाबाट घर फर्किनेहरुको सबै मुहारमा तिहार झल्किएको छ। ‘छुट्टी’ पाएर दिदी बहिनीको हातबाट टीका थाप्न आएकाहरुले तिहार विशेष लाग्ने बताउँछन्। रुकुमका जोग बुढा पाँच महिनामा घर फर्किएका छन्। दशैंमा घर नआएका उनी तिहारमा भने निधार रंग्याउने आएका छन्।
नेपालगञ्ज नाकाबाट दशैंमा दैनिक तीन हजारसम्म भारतमा काम गर्न गएका नेपालीहरु घर फर्किन्छन्। तिहारमा घर फर्किनेको पनि यतिबेला भीड नै रहेको छ। नेपालीको ठूलो चाड दशैंमा नअएकाहरु तिहारमा घर फर्किएका छन्। कोही दशैंमा छुट्टी नपाएर तिहारमा आएका छन् भने कोही तिहारलाई विशेष मानेर यतिबेला घर आएका छन्।
आफ्नै उत्पादनले वर्षभरी खाना नपुग्ने, देशभित्र रोजगारी नपाएपछि मौसमी कामका लागि भारत जाने पहाडी जिल्लाका बासिन्दाहरु चाडबाड, खेतीपातीको बेला घर फर्किन्छन्। जाजरकोटका मने सुनारले अरु बेला जेजस्तो दुःखजिलो गरेपनि तिहार त घरमै मनाउनु पर्छ भनेर आएको बताए। उनी श्रीमतीलाई लिएर सिमला गएका थिए।
रोजीरोटीका लागि भारतका विभिन्न शहरमा काम गर्न जाने नेपालीहरु चाडबाडमा घर फर्किदा गाउँघर नै उजालिने गर्दछ। पहाडी जिल्लाका गाउँबस्ती भारतीय शहर र खाडी मुलुकमा जाने लहरले गर्दा अरु बेला रित्तो नै हुने गर्दछ। जाजरकोटका मने भन्छन्, दशैं र तिहारमा गाउँमा धेरै रमाइलो हुन्छ। सबैजना घरमा आएका हुन्छन्।’