भ्यूटावरको शिलान्याससँगै सुरु भयो चर्को आलोचना

‘विराटनगरमा भ्यूटावर होइन, शौचालय बनाऊ’

भ्यूटावर शिलान्यास गरिँदै।

विराटनगर – विराटनगर महानगरपालिकामा निर्माण हुन लागेको १ सय १० मिटर अग्लो भ्यूटावर र अन्य भौतिक पूर्वाधारको विषयमा मिश्रित प्रतिक्रिया आउन थालेको छ।

गत सोमबार वडा नम्बर–३ स्थित निर्माण गरिने भनिएको भ्यूटावरको शिलान्यास संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश नम्बर–१ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, महानगर प्रमुख भीम पराजुलीले गरेका थिए।

महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाउँदै गएपनि भ्यूटावरको सन्दर्भमा यसको महत्व र फाइदा के हुन सक्छ भन्ने प्रश्न उब्जिएको छ। भ्यूटावर अर्थात् ३ सय ६० डिग्रीको मोहोडामा लामोदूरीका रमणीय दृष्यावलोकनका लागि हुने जानकारहरु बताउँछन्।

‘विराटनगरमा भ्यूटावरको तत्काल आवश्यकता देखिँदैन, यो अहिलेको प्राथमिकतामा पर्दैन,’ नेपाल कम्युनिष्ट पार्टीका युवा नेता पारुल क्षेत्री भन्छन्, ‘ठूलो धनराशी खर्चिन लागिएको भ्यूटावर अघि नगरका समस्या जो प्रत्यक्ष रुपमा नागरिकसँग सरोकार राख्छन्। त्यसमा महानगरले ध्यान पुराउनुपर्ने हो।’

१० वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी भ्यूटावरसँगै अन्य भौतिक संरचना निर्माणका लागि ४ अर्ब रुपैयाँ खर्च हुने महानगरपालिकाले जनाएको छ। महानगरले जसको नाम विराट कमर्सियल भ्यूटावर राख्ने जनाएको छ।

निर्माणस्थल पर्ने वडा नम्बर–३ का अध्यक्ष विनोद बस्नेत भ्यूटावरले विराटनगरको रौनक बढाउने दाबी गर्छन्। विराटनगरलाई पर्यटकीय हब बनाउने उद्देश्यका महानगर अघि बढेको बताएका वडा अध्यक्ष बस्नेतले विराटनगर हुँदै सगरमाथासम्म पर्यटक पुर्याउनका लागि टावरले रोमाञ्चकता थप्ने प्रष्टाए।

टावर निर्माणमा सकारात्मक हुनुपर्ने बताएका अध्यक्ष बस्नेतले टावरबाट के हेर्ने भन्ने कुरामा भने स्पष्ट बताउन सकेनन्। उनले भने, ‘टावरमा ठूलो रकम लाग्ने भन्नेभन्दा पनि टावरसँगै राजवंशी समुदायको संग्रहालय, व्यावसायिक भवन, रिक्रिएशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट तथा प्रदर्शनी केन्द्र बन्ने छ, त्यसका लागि रकम त आवश्यक पर्छ, जुन संघीय, प्रदेश तथा स्थानीय र अन्य संस्थाको सहभागिता रहनेछ।’

यद्यपि, विराटनगर वडा नम्बर–८ की वडा सदस्य तथा सञ्चारकर्मी भारती उपाध्यायले सामाजिक सञ्जालमा रकमको विषयमा व्यङ्ग्यात्मक स्टाटस लेखेकी छिन्।

‘विराटनगरमा ४ अर्ब रुपैयाँमा भ्यूटावर निर्माण गरिन लागेको बताइन्छ। यसअघि झापामा करोडौँ खर्च गरेर टावर निर्माणको कुरा आएका छन्,’ उनले स्टाटसमा लेखेकी छिन्, ‘महानगरको आवश्यकता अहिले भ्यूटावर होइन, हामीले यहाँ शौचालय, खानेपानीको व्यवस्था गर्नुपर्थ्यो, तर एउटा ठूलो रकम जनतामा प्रत्यक्ष प्रभाव पार्ने भन्दापनि फरक स्थानमा खर्चिनु उपयुक्त होइन।’

त्यसैगरी, नेकपाका युवा नेता क्षेत्रीले भने, ‘कोशी अञ्चल अस्पतालमा भेन्टिलेटर उपयोग गर्न सकिएको छैन, शौचालय छैन, त्यहा ध्यान पुराउन आवश्यकता हो, तर त्यो देखिँदैन।’

एक कठ्ठा ७ धुर क्षेत्रफलमा १ सय १० मिटर अग्लो निर्माण हुने टावरलाई दुई तरिकाबाट हेर्नुपर्ने सामाजशास्त्रका उपप्राध्यापक रामप्रसाद पोखरेलले बताउँछन्।

महानगरभित्रको मनोरञ्जनको पूर्वाधार यो हुनसक्ने साथै अर्कोतर्फ लगानीका हिसाबले अनुत्पादकशील क्षेत्र महानगरले हात हालेको देखिएको पोखरेलले स्पष्ट पारे। ‘चार अर्ब रुपैयाँले विराटनगरमा दुई दशकदेखि पूरा हुन नसकेको रिङरोडले पूर्णता पाउन सक्थ्यो, महानगरले भोगिरहेको पार्किङ समस्या निदान हुन सक्थ्यो, जसको प्रत्यक्ष प्रतिफल जनतामाझ पुग्न सक्थ्यो,’ उनले भने।

दृष्यावलोकनका लागि भ्यूटावर खासै उपयुक्त नहुने पोखरेलको धारणा छ। ‘यहाँबाट न हिमाल देखिन्छ न कोशी नदी,’ उनले भने।
त्यसैगरी, विराटनगरका गायक सुदीन पोखरेलले पनि भ्यूटावरको सन्दर्भमा सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

उनी लेख्छन्, ‘भ्यूटावरमा चढेर के हेर्ने? मेनरोड, कलकारखाना, सिंघिया–केशलिया खोला। बरु बाटो बनाउनुस्, अस्पताललाई चाहिने अति आवश्यक सेवामा खर्च गर्नुस्। लौन।’

कात्तिक २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्