११० औँ लक्ष्मीजयन्ती

लक्ष्मीप्रसाद देवकोटाको जन्‍म हुँदा महोत्सव थियो…

१९६६ सालको कार्तिक महिनाको २७ गते शुक्रबारका दिन लक्ष्मीपूजाको दिन थियो। यसै दिन नेपालीहरु विहान गाईको पूजा गर्छन्। घरलाई गोबरले लिपेर, रातो माटो र सेतो कमेराले पोतेर अनि कूचाले बढारेर सुग्घर बनाउँछन्। बेलुकी दैलामा फलफूलका माला टाँगेर अनि झिलिमिली बत्ती बालेर ज्‍योतिको पर्व मनाउँछन् र गाउँ-छिमेकमा सामूहिक गीत गाउँदै खेल्‍न निस्कन्छन्:

भैलनी आयौ आँगन
बढारी कुँढारी राखन
ए– औसीका दिन
गाई तिहार भैलो

जस्ले दिन्छ मानो
उसको सुनको छानो
जसले दिन्छ मुरी
उसको सुनको धुरी
जसले दिन्छ पाथी
उसको सुनको छाती

यस्तै उज्यालो र संगीतमय वातावरणमा काठमाडौंको डिल्ली बजार धोबीधारा टोलमा पण्डित तिलमाधव देवकोटाका घरमा राति ९: ४५ बजे उनका साहिँला छोराको जन्म भयो। लक्ष्मीपूजा गरिसकेपछि जन्मेकाले नवजात शिशुलाई लक्ष्मीको प्रसादका रुपमा पाएर त्‍यो घर उज्‍यालो भयो। बाजा बजाएर छैटी गरियो र हर्षोल्लाषको वातावरणमा न्वारण भयो। नक्षत्र अनुसार न्वारानको नाम तीर्थमाधव देवकोटा पर्न गएको थियो। तापनि उनलाई लक्ष्मीको प्रसादको स्वरुप लक्ष्मीप्रसाद नै भन्‍न थालियो। नेपाली जातिको ज्‍योतपर्वको दिनमा जन्‍मेको यो शिशु समाजको अन्धकारलाई नासेर सधैं नेपाली जातिलाई उज्‍यालोको बाटो देखाइरहने ज्‍योतिपुञ्‍जका रुपमा नेपाली समाजमा चिरस्थाइका रुपमा रहनेछ भन्‍ने त्‍यसबेला कसैले विचार गरेन होला ! तर लक्ष्मीको वरदान र भैलिनीहरुको आशीर्वाद रहेछ- त्‍यो शिशु नेपाली समाजको अमर भएर भयो।

पण्डित तिलमाधव देवकोटा (१९०९-९२) काठमाडौंको भोटाहिटीबाट डिललीबजार सरेका थिए।उनका पूर्खाहरु गोरखाबाट आएका थिए र गोर्खा आउनुभन्दा अघि उनीहरु पनि हामी धेरैहरुको पूर्खा झै पश्‍चिम नेपालको कर्णाली अञ्‍चलबाट आएका थिए।यिनका बराजू काठमाडौं आएपछि सबैको बसोबास काठमाडौं नै भयो र यहाँको पण्डित समाजमा पं. देवकोटा प्रतिष्ठित थियो। यिनी संस्कृति र नेपालीमा कविता लेख्थे र आफ्ना र अरुका मन परेका कविता र स्त्रोतहरुलाई सुमधुर लयमा गाउँथे। कमल दीक्षितको अनुसार यिनको अप्रकाशित नेपाली र संस्कृतको ग्रन्थ ‘चन्द्रचन्द्रिका’ मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छ र उनका नेपाली संस्कृत कविताहरुको संग्रह उनका भनाईसँग छ।

लक्ष्मीप्रसादपछि उनका भाईहरुको जन्मभयो।ती थिए- काहिँला मधुसुधन देवकोटा, ठाहिला मित्रनाथ देवकोटा र कान्छा गोपीनाथ देवकोटा। पण्डित तिलमाधव देवकोटा देवकोटाका कान्छी पत्‍नी अमरराज्‍यलक्ष्मी छ भाई छोरा र पाँच बहिनी छोरीहरुमा माहिला छोराबाहेक अरु सबैको झुकाव साहित्यतिर देखियो।

सन् १९७१ सालमा पाँच वर्षका उमेरमा पण्डित तिलमाधव देवकोटाले साँहिला छोरा लक्ष्मीप्रसाद देवकोटा अक्षरारम्भ गराए।यसको बाह्र वर्षपछि उनले बालकृष्ण शमशेरलाई पनि अक्षराम्भ गराएका थिए।

बालकृष्ण सम लेख्छन्, ‘१९८३ साल श्री पञ्‍चमीको दिन थियो हाम्रो नाच बैठक (नाट्‍यशाला) भित्र गुरु तिलमाधव देवकोटाले मलाई आफ्नो काखमा राखेर अबीर देको पाटमा खरीले लेख्दै सेतो कपुरी ‘क’ चिन्हाएका हुन।त्‍यो कविताको पहिलो अक्षी रहेछ…पाँच वर्षको उमेरमा अक्षरारम्भ गर्नभन्दा अगाडि नै मेरा आँखालाई रङ्गमञ्‍चका चित्रित पर्दा, नृत्‍य र अभिनयले खिचिसकेका थिए, कानलाई गीत र कलापूर्ण कवितामय वार्ताले भरिसकेका थिए। मेरो सानो शरीर एक सानो ध्वनीविस्तारक ननाट्‍यशाला बनिसकेको थियो, यो जहाँ जान्थ्यो त्‍यहा माउरीको घरबाट जस्तै हुनुहुनाहट निक्लिरहन्थ्यो।’

लक्ष्मीप्रसादको अक्षरारम्भ कुन दिन कसरी भयो त्‍यो थाहा छैन। तर उनलाई अक्षरारम्भ गराउँदा उनले क देखि त्र सम्म मात्रै सिकेका थिए। ‘कवि हुने धुनमा’  शीर्षक निबन्धमा उनी यसरी लेखेका थिए, ‘

‘जब म कोपिलै थिएँ, अनि शान्त थिएँ, विष्णु भगवान् के शान्त होलान् तर विष्णु भन्‍नु अहंकार हो, म थिएँ बिलकुल पाठो ।… सुशील मानव पाठो ममा चकचक थिएन-मेरो भाईको नाम थियो चंचले राजा। म थिएँ शान्त प्रजा। मलाई खेल्‍न पर्दैनथ्‍यो।….यो बालरोग सह्रनी लायकको कुरो जरुर होवैन।शासय मिल्टनलाई पनि यस्तै रोग थियो क्‍यार ! म सत्‍यनारायण सम्झन्छु अहिले म स्पष्टतया जहाँ म नगएको तीन युग कमसेकम भयो होला। शैशवको दूरताबाट बादलको चिरबाट गिरेको किरण झै। त्‍यो स्थल मेरो मनमा कता कता झल्कन्छ। म सम्झन्छु, त्‍यस बखत म कस्तो थिएँ। चाहनाशून्‍य,आज्ञाकारी,कम बोल्‍ने, बुढीहरुको पैताला मुसार्ने, एक पैसाले सन्तुष्ट अचंचल राजा। जब म पाँच वर्षको पुँगे अक्षराम्भको विधि खोक्रो हुन गयो।’

देवकोटा बाल्‍यकालमा एकहोरो खालका थिए। खेल्‍न थाल्‍यो भने लेखि नै रहने  रोयो भने रोइ नै रहने। उनी बाल्‍यकालमा पनि उस्तो खेलेनन् तापनि पछि अध्‍ययन र लेखनमा  लगनशील र तपस्वीजस्ता देखिए। त्‍यसको बीजस्वरुप हामी उनको बाल्‍यकालको एकहोरो प्रवृति नै देख्दछौँ।  बाल्‍यकालमा देवकोटाले भोगेको प्रकृति उनको जन्मस्थल र सेरोफेरो नै तापनि  त्‍यस बेलाको काठमाडौं आजको भन्दा बढी शान्त, सरल र प्राकृतिक थियो। आफ्नो बाल्‍यकाल बितेको त्‍यो स्थलको वर्णन देवकोटा ‘दाडिमको रुखनेर’ मा यसरी गरेका थिए,

‘डिल्लीबजार कमल पोखरी जहाँ म जन्मेको थिएँ, रमाइलो  ठाउँ छ। ऊँचा, हवालु जग्‍जा छानेर स्वर्गवासी पूज्‍य पिताजीबाट बनाइएको घरसामू एक बारी छ।त्‍यस बारीका डिलमा तल अझ ठूलो अर्को बारी छ जहाँ हामीहरु बालखैकालमा खेल्‍ने गर्थ्‍यौ। ती दुई बारीका बीचमा एक नर्कटघारी थियो, म सम्झन्छु। त्‍यस तल्लो बारीमा भोगटे, काइँयो,रिठ्ठा, पारिजात, नास्पति, आलुबखडा, आरु, मयल, कनकचम्पा, कल्की र खरीका अनेक बोट थिए। त्‍यहाँ चढ्‍नु चहार्नुमा फुर्सदी समय बित्द्थ्यो। त्‍यस उपवनलाई देख्‍दा म शैशवानन्दको कल्पना गर्दछु। ‘

(महाकवि देवकोटाकाका बारेमा  पस्तक लेखेका चूडामणि बन्धुसँग देश सञ्‍चारका वरिष्ठ उप-सम्पादक सहदेव चौधरीले गरेको कुराकानीमा आधारित)

कार्तिक २१, २०७५ मा प्रकाशित