११० औँ लक्ष्मीजयन्ती

‘मुनामदन’ सधैं अजर-अमर रहिरहोस्

महाकवि लक्ष्‍मीप्रसाद देवकोटाले प्रकाशित गरेको पहिलो किताब हो मुनामदन। यसलाई केही  समालोचकहरुले नेपाली साहित्‍यकै सर्वश्रेष्ठ कृति भनेका छन् भने केहीले देवकोटाको सर्वश्रेष्ठ कृति मानेका छन्। स्वयम देवकोटाले पनि आफ्‍ना कृतिहरुमा ‘मुनामदन’ लाई विशेष मान पराएका थिए। देवकोटा आफैले यसका अनेकन संस्करणहरु देखेका थिए र पाँचौ पटक परिमार्जित संस्करण तयारी गरी आफैले प्रकाशनका निम्ति दिएका थिए। यसरी मुनामदन स्वयम लेखकलाई र नेपाली पाठकहरुलाई मन पर्नाको कारण के हुन त ?

महाकविका समकालीन तथा पूर्वज कविहरुले झ्‍याउरे छन्दलाई बेवास्ता गरेका बखतमा उनले यही झ्‍याउरे छन्दमा नेपाली साहित्‍यकै उत्कृष्ट कृति ‘मुनामदन’ रचना गरेको उनकाबारेमा खोज अनुसन्धान गर्दै आएका एवं छिमेकी नित्‍यराज पाण्डे दाबी गर्छन्।

पाण्डे भन्छन्, ‘ महाकवि देवकोटा तर प्रवर्तक कवि हुनुहुन्छ। उहाँले संस्कृत छन्दको नेपाली काव्‍यमा अत्‍यधिक जगत्‌मा उक नयाँ विशेषता देखाइदिनुभयो। यसैमा हामी नेपालीको आधार र आदर्श छ।’

उनी आफू देवकोटाको छिमेकीको नाताले आफू उनको स्वभाव पहिल्यैदेखि विलक्ष्ण प्रकारको रहेको दाबी गर्छन्। उनी भन्छन्, ‘हुन त म भन्दा देवकोटा २२ वर्षको उमेरले जेठो हुनुहुन्थ्‍यो। तर उहाँको आनीबानी हेर्दा र काव्‍यसभामा भाग लिँदा बडो ओजस्वी, स्वभाभिमानी हुनुहुन्थ्यो। आफूलाई ठीक लागेको र भोगे देखेको अनुभव कवितामार्फत व्‍यक्त गर्नु हुन्थ्यो।’

एउटा प्रसँग सुनाउँदै पाण्डे भन्छन्, ‘एक पटक देवकोटा युवा अवस्थामा हुँदा रातभर चन्द्रमातिर हेरि बस्नुभयो।उहाँलाई सबैले कहाँ कहाँ खोजी हिडे तर उहाँ भने रातभर चन्द्रमालाई नियालेर बस्‍नुभयो।आफूलाई चन्द्रलोकमा नपुगे पनि काव्‍यधाराको माध्‍यमबाट चन्द्रमामा पुगेको कविता पनि बनाउनुभयो।’

उनले नेपालको गाउँ- पहाडको अमूल्‍य निधिलाई प्रकट गराएर साहित्‍यको सम्‍पत्तिलाई हराभरा नै बनाइदिएको बताउँदै भन्छन्, ‘ महाकवि संस्कृति, अंग्रेजी, फारसी आदिको व्‍यापकतामा नफसी नेपालीहरुको अमूल्‍य देन झ्‍याउरे भाका तर्फ सरल तर सशक्त रुपले पाइला चाल्‍नुभयो। उहाँले मुनामदन, कुञ्‍जनी तथा वसन्तीले साहित्य विधामा पनि अद्वतीय यात्रा प्रारम्भ गरिदिनु भएको छ।’

झ्‍याउरे हृदयबाट निस्कने त्‍यो मधुर ध्वनीले नेपालीको मन-मुटुलाई सोझै खिच्‍न सक्‍ने उनी ठोकुवा गर्दै भन्‍छन्,

झोपडीभित्र यसै बलोस् मनको दियो
नेपाली गेडा, नेपाली दाना नेपाली रसले।

महाकवि देवकोटाले नेपाी जगत्‌को सच्चा जीवन यसैमा फुलिरहेकाले मुनामदनको गाथा पनि नेपालको खोलानाला, पहाड, डाँडा र फूलबाट लिइएको देवकोटाबारेमा पुस्तक लेख्‍ने अर्का साहित्‍यकार चूडामणि बन्धुको तर्क छ। उनी भन्छन्, ‘ देवकोटा मुनामदन लेखेर नेपालीहरुको आँसु, हाँसो, योग, वियोग, घात र प्रतिघात सर्लक्‍कै समेटि दिनुभयो।’ मुना मदनमा नेपालीहरुको आफ्‍नै चोखो शैली बगेकाले नेपालीको हृदयमा अत्‍युच्च स्थान बनाइसकेको उनको दाबी छ।

उनी भन्छन्, ‘ मुनामदन सबैको जिब्रोमा टप्किएको रसिलो जनसाहित्‍य हो। कविको घरमा बसेको कामदारसँगको कुराकानीमा र विसं १९९५ सालमा कवि गुसाइनाथको तीर्थाटन जाँनुहुँदा उत्तरी हिमाली क्षेत्रमा प्रकृति सौन्दर्य र प्रस्तीको प्रभावबाट मुनामदन तयार भएको हो। असार १५ गते रोपारहरुले गाएको झ्‍याउरे लय सुनी मुग्ध भएर कविले त्यही लय मुनामदनमा उतार्नु भएको हो।’

कविको सर्वप्रथम प्रकाशित पुस्कत मुनामदन भएको बताउँदै उनले यसमा परस्परमा मिलिजुली बसेको परिवारको वियोगान्त घटनालाई करुण रसले भरिएको बताउँछन्। उनी भन्छन्, ‘यो प्रेमको आदर्शमय गाथा भएको खण्ड काव्‍य हो। मुना-मदनको अमुर प्रेम कहानी र स्थानीय रङ प्राकृति काखमा खूबसँग झल्‍केको छ। ‘

जब मदन भोट जाने बखतमा मुनाको मन विरह भएकोबाट प्रारम्भ गरी पाठक श्रोताको मनमा एक कौतुहलता देखाइएको रभोटको स्थानीय रङ प्रकृतिसँग खुब राम्रोसँग मिलेको उनका छिमेकी नित्‍यराज पनि दोहोर्‍याउँदै बताउँछन्। उनी भन्छन्, ‘मुना-मदनमा जस्तै मिलेको नेपाली काव्‍य नेपाली साहित्‍यमा सायद कमै होला। मुनामदन’ सधैं अजर-अमर रहिरहोस् ‘

उनले कवितामा मुनालाई महाकविले एक उपदेशिका नारीको रुपमा समेत उभ्‍याइएको देखाएको दाबी गर्छन्। उनी भन्छन, ‘ह्‍लासा जाँदा मुनाले पनि मदनसँग सँगै जान जोड गर्छन्। मदन नमानेको देख्‍दा धनका निमित्त किन परदेश जानुहुन्छ? भनी धनको तिरस्कार गर्छिन र भन्छन्।

हातका मैला सुनका थैला के गर्न धनले
सागर सिस्नु खाएको बेस आनन्दी मनले।।

यस्तै धनलाई दु:खको भकारी भएको महाकवि देवकोटाले आफ्‍नो सुन्दर भावना पोख्‍न लगाएको बन्धुको तर्क छ।उनी भन्छन्, ‘कविले सुन्दर उपमासाथ भाव व्‍यक्त गरेका छन्। सन्तोषी आत्माको प्रेम र मायाका अगाडि धन केही होइन। मनमा चिन्ता भएका करोडपति धनाढ्‍यहरुभन्दा पनि साग र सिस्नु खाई आनन्दले बस्‍ने सन्तोषी उत्तम हुन्छन्। गरिब भए पनि मनमा पीर बाधा केही हुँदैन। उसको हृदयमा चित्त विकल पार्ने केही हुँदैन।’

त्यस्तै देवकोटाले नजाने-चिनेको भोटे च्‍याङबाको परोपकार र निस्वार्थताको उत्कृष्ट वर्णन समेत गरेको नित्‍यराज पाण्डेले अन्तिममा आफ्‍नै भाकामा पनि सुनाए। उनी मुनामदनको त्‍यो श्‍लोक सुनाउँदा भने भावुक भए। उनी भन्‍दै थिए, ‘ देवकोटा मेरो छिमेकी त छदै हुनुहुन्थ्यो, तथापि जनजनको हृदयमा बास र काव्‍यधारा मार्फत चेतनाको सुवास जगाउने परोपकारी, निवास्वार्थी अनि साहित्‍य संसारमा महासागर जागरुक व्‍यक्ति हुनुहुन्थ्यो।त्‍यसकारण यसरी आफ्‍नो ओजिलो काव्‍य अभिव्‍यक्ति दिनुभयो।’

क्षेत्रीको छोरो यो पाऊ छुन्छ ? घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।।

कार्तिक २१, २०७५ मा प्रकाशित