वरिष्ठ अधिवक्ता तथा संवैधानिकज्ञाता कुशुम श्रेष्ठको निधन

काठमाडौँ – वरिष्ठ अधिवक्ता तथा संवैधानिकज्ञाता कुशुम श्रेष्ठको बुधबार निधन भएको छ । उनी ७५ वर्षका थिए ।

लामो समयदेखि स्वासप्रस्वास सम्बन्धी रोगले थलिएका श्रेष्ठको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार बुधबार नै उनको अन्तिम संस्कार गरिनेछ ।

नेपालको आधुनिक न्यायप्रणालीलाई स्थापित गर्न श्रेष्ठ लगायत विदेशबाट पढेर आएका कानुनविदहरुको ठूलो भूमिका रहेको छ ।

संविधान जीवित र निरन्तर परिमार्जन भइरहनु पर्ने दस्तावेज रहेको मान्ने श्रेष्ठले लेखेका छन्, ‘संविधानको संरचना गर्दा ऐतिहासिक पृष्ठभूमिलाई चाहेर पनि पन्छाउन सकिँदो रहेनछ । बस्तुतः संविधान जीवित दस्तावेज हो, न कि स्वप्निल वा काल्पनिक । जीवन्तकाले, भूतकालीन प्रयोग अनुभव, शिक्षा, उदाहरण, ज्ञान, कमिकमजोरी, सफलता–असफलताको पृष्ठभूमि नियाल्दै वर्तमान वास्तविक जनसम्मति एवम् समयको भावना संविधानले आत्मसाथ गर्छ ।’

उनीसहित वरिष्ठ अधिवक्ताहरुले सञ्चालन गरेको नेपाल ल फर्मले नेपालको कानुनी पुनर्संरचनामा महत्वपूर्ण योगदान दिएको छ ।

उनका दाइ डा. मधुरा श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ठूलो दुःख साथ भन्नु पर्यो, मेरो भाइ कुशुम श्रेष्ठ लामो बिरामीसँग संघर्ष गर्दै आज बिहान नर्भिक अस्पतालमा परिवारका सबै सदस्यहरुको अगाडि शान्तिपूर्वक देह गरे, श्रद्धाञ्जली ।’

कात्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्