उज्यालोको पर्व, तिहार

यसकारण लक्ष्मीलाई मन पर्छ उज्यालो

‘दियो बाली साँझको, फूल सजाई पूजाको,
माता लक्ष्मी बसिदेउ आज, घर संसार सानो हाम्रो’

भगवान लक्ष्मीको आराधनाको भाव दिने यो गीत ‘चिनो’ चलचित्रको हो। नेपाली धेरै गीत यस्ता छन्, जसले चाडपर्वको व्याख्या गर्छ। यस्तै स्वर्ग चलचित्रको गीत त कसले भुल्न सक्छ र।

‘तिहारै आयो लौ झिलिमिलि, सुन हजूर भैलिनी आए आँगन’ धेरैले कम्मर मर्काउने, मुखैमा झुण्डिने गीत केही वर्ष अगाडि आएको भए पनि अहिलेसम्म निकै प्रिय छ।

गीतको बिचको हरफले भनेजस्तै तिहारमा सबैको घरमा ‘झ्यालमा बत्ती दैलोमा बत्ती’ हुन्छन्। हरेक वर्ष कात्तिक कृष्ण तृयोदशीबाट सुरु भएर कात्तिक शुक्ल द्वतियासम्म मनाइने तिहारलाई उज्यालोको पर्व भनिन्छ। यो सामयमा जताततै बत्ती बालेर पूजा गर्ने गरिन्छ।

तिहारलाई किन भनियो उज्यालोको पर्व?


उज्यालो शब्दको अर्थ–प्रकाशयुक्त, चम्किलो, ज्योती, सुहाउँदो आदि संस्कृति शिरोमणि हरिराम जोशी भन्छन्, ‘दसैँ सकिँदा तिहार सुरु हुन्छ। कोजाग्रत पूर्णिमाको दिनबाट नै हरेक दिन साँझ बत्ती बाल्ने चलन छ।’ कोजाग्रत पूर्णिमाको दिनदेखि काठमाडौँ, भक्तपुर ललितपुरका केही स्थानमा अग्लो खम्बामा दीप बालेको पनि देखिन्छ, यसलाई आलोक दीप, आकाश दीप भनिन्छ।

किम्बदन्ती अनुसार नवदुर्गाको रुप धारण गरी देवीले दैत्यको वद् गरेपछि स्वर्ग, मत्र्य र पाताल तीनै लोकमा आनन्दको वातावरण सिर्जना भयो। दावनहरुको अन्त्य गर्न सकेकोमा खुशी भएर खुशी मनाउने उद्देश्यले मानिसहरु उत्सव मनाउन थाले। यही चलन पछि आएपछि तिहार पर्वको रुपमा विकसित भयो।

संस्कृति शिरोमणि जोशीका अनुसार, दैत्य नाश भएपछि उनीहरु क्रमश विकासतर्फ अग्रसर भए। ‘देशको उन्नती गर्नुपर्यो, त्यसको लागि पैसा चाहियो।’ जोशी भन्छन्, ‘पैसाकी देवी लक्ष्मी हुन्। लक्ष्मीको पूजा गर्नुपर्यो, आराधना गर्नुपर्यो।’ त्यसैकारणले लक्ष्मीको पूजा गरेर भव्य दीपावली गर्ने हाम्रो चलन रहेको छ। धनकी देवी लक्ष्मीको विशेष पूजा गरिने यो दिन अरु दिन भन्दा पनि झकिझकाउ हुन्छ।

यो दिन आफ्नो घरमा लक्ष्मी बोलाउनलाई सबैले घरलाई श्रृङ्गार गर्ने फूलमाला लगाउने, लक्ष्मीलाई बाटो बनाइदिने गर्छन्। त्यसको लागि रातो माटोले पोत्ने गरेको छ।

यस्तै आगनलाई गोबरले लिप्ने, नयाँ कुचोले बढार्ने, फलफूल चढाएर पूजा गर्ने नैवेध चढाउने र घरको कुना कुनासम्म उज्यालो पार्ने गरिन्छ।

लक्ष्मीलाई उज्यालो मन पर्ने हो त ?


तिहार प्रकाशमय पर्व भएकोले धेरैलाई लाग्छ की यो लक्ष्मीलाई उज्यालो मनपर्छ। संस्कृति शिरोमणि जोशी भन्छन्, ‘यो सबै सम्पन्नतासँग जोडिएको कुरा हो। पैसा भयो भने मानिस आवश्यकताका साधनहरु पूरा गर्न सक्छ। यस्तै तिहार उज्यालो बनाउन सक्छ अनि अनुहार पनि उज्यालो हुन्छ।’

तिहार कहिलेदेखि मनाउन थालियो भन्नेमा भने एकमत छैन। महालक्ष्मीको मूर्ति लिच्छविकालमा नै बनेको पाइएको छ। तर जोशी प्रष्ट रुपमा लिच्छविकालदेखि नै तिहार मनाउन थालिएको तथ्य नरहेको बताउँछन् ।

‘केही आधारहरुले तिहार मध्यकालदेखि मनाउन थालिएको बताउँछ।’ गाई लक्ष्मीको प्रतिक मानिन्छ र लक्ष्मी पूजाको दिन गाईलाई पनि पूजा गरिन्छ।

दसैँपछि किन आउँछ तिहार?


संस्कृति शिरोमणि हरिराम जोशीका अनुसार यो समय उपयुक्त हो, हरेक तरिकाले सुखद् हो। जोशी भन्छन्। ‘सबैको घरमा अन्न हुन्छ, नयाँ बालि भित्रिएको हुन्छ। वातावरण पनि न जाडो न गर्मी हुन्छ, बाटो हिड्न पनि सजिलो हुन्छन् र फूल पनि फूलेका हुन्छन्।

कात्तिक २१, २०७५ मा प्रकाशित