जब घोडादौडका कारण अस्ट्रेलिया ठप्प भयो…

अस्ट्रेलिया – अस्ट्रेलियाको मेलबर्नमा रहेको फ्लेमिङटन रेसकोर्समा १५८ औँ मेलबर्न कप’ का लागि मंगलबारका दिन २४ वटा घोडाहरू स्थानीय समयअनुसार करिब ३ बजे दुई माइल अर्थात् ३२ सय मिटर दौडिन तयार भए ।

त्यो घोडादौड हेर्न सारा अस्ट्रेलियावासी आतुर थिए । रेर्सकोर्स भरिभराउ थियो भने टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्नका लागि सबै टेलिभिजन स्क्रिनतिर आँखा तन्काउँदै थिए ।

कोही कुन घोडाले जित्ने हो भनेर बुझ्नका लागि मात्र हेर्दै थिए भने कतिले आफूले बाजी थापेको घोडाले जित्छ कि जित्दैन भनेर उत्साहका साथ हेर्दै थिए ।

केही मिनेटमा एउटा घोडाले जित्यो । यसपटक त्यो २३ नम्बरको ‘क्रस काउन्टर’ नाम गरेको घोडा थियो । यसमाथि थिए जकी अर्थात् घोडचडी ‘केरिन मेकभोय’ र यो घोडाका मालिक थिए युनाइटेड अरब इमिरेट्सका शेख मोहम्मद बिन राशिद अल माक्तुम । उनी युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री पनि हुन् ।

यो जितसँगै उक्त घोडाका मालिकले ट्रफीका साथै ४० लाख अस्ट्रेलियन डलरको पुरस्कार राशी प्राप्त गरे ।

दोश्रोमा ‘मार्मेलो’ थियो भने तेश्रोमा ‘प्रिन्स अफ अरान’ नामक घोडा थिए । दोश्रो हुनेले १० लाख अस्ट्रेलियन डलर पायो भने तेश्रोले ५ लाख अस्ट्रेलियन डलर पुरस्कार प्राप्त गरे ।

त्यसैगरी चौँथोले २ लाख ५० हजार, पाँचौंले एक लाख ७५ हजार पाए भने छैँटौं देखि बाहौँ स्थान प्राप्त गर्नेले १ लाख ५० हजार अस्ट्रेलियन डलर पाए । प्रतियोगिताको जम्मा पुरस्कार राशी करिब ७० लाख ५० हजार अस्ट्रेलियन डलर थियो ।

मेलबर्न कप अस्ट्रेलियामा केवल एउटा घोडादौड प्रतियोगिताको रूपमा मात्र नभएर सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको प्रतियोगिताका रूपमा विकसित भैसकेको छ ।

करिब तीन मिनेट जतिको यो घोडादौड हेर्न पूरै अस्ट्रेलिया प्रायः ठप्प जस्तै हुन्छ । त्यसैले यसलाई अस्ट्रेलियनहरूले ‘The race that stops the nation’ भन्ने गर्दछन् ।

हरेक वर्ष नोभेम्बर महिनाको पहिलो मंगलबारका दिन आयोजना हुने यस मेलबर्न कपमा अधिकांश अस्ट्रेलियनहरू कुनै न कुनै रूपमा जोडिएका हुन्छन् ।

यो प्रतियोगिता हुने राज्य भिक्टोरियाका शहरी तथा केही ग्रामीण क्षेत्रमा समेत सार्वजनिक विदा दिइन्छ भने अन्य राज्यहरूमा सार्वजनिक विदा नदिइए पनि मानिसहरू यस प्रतियोगितामा सामेल भएकै हुन्छन् ।

विदा भएकाहरू क्लब, रेष्टुरेन्ट अथवा कुनै खुला ठाउँमा जम्मा भएर राम्रो पहिरन लगाउने, साथीभाइहरू सँगै बसैर खानेकुराहरू खाने, थोरै भए पनि यो घोडादौड प्रतियोगितामा रमाइलो गर्नका लागि बाजी थाप्ने आदि, इत्यादि गरेर अस्ट्रेलियनहरूले यो दिनलाई सांस्कृतिक रूपमा समेत मनाउने गर्दछन् ।

अस्ट्रेलियामा छरिएर रहेका नेपालीहरू पनि यस दिनको उत्साह र उमंगबाट रमाउन कोशिस गरेका भेटिन्छन् । घरमा, कार्यालयमा जहाँ भए पनि साथीभाइसँग रमाइलो गरेर यस प्रतियोगिताका पूर्णतया आनन्द लिनु र साथीभाइसँग आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न पनि यस प्रतियोगिताले मद्दत गर्ने गरेको छ ।

भिक्टोरियन रेसिङ क्लबद्वारा संचालन तथा नियन्त्रण हुने मेलबर्न कर्प पहिलोपल्ट सन् १८६१ मा आयोजना गरिएको थियो । यस प्रतियोगितामा ३ वर्षभन्दा माथिका घोडाहरू भाग लिने गर्दछन् र प्रत्येक घोडालाई पुरानो नतिजा र उमेर अनुसार निश्चित तौल राखेर भाग लिन दिइन्छ जस्ले गर्दा सबै घोडाले उत्तिकै जित्ने अवसर प्राप्त गर्दछन् ।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू