धार्मिक सद्भाव बोकेको शहर

अब्दुललाई साइतको भाइटीका छुट्ने चिन्ता

नेपालगञ्ज – ‘यसपाली त टीका शुक्रबार परेको छ, एक बजे नमाज पढेर दुई बजेतिर टीका लगाउन जान्छु,’ नेपालगञ्जका अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले भने, ‘यसपाली साइतको टीका लगाउन नपाइने भो।’

नेपालगञ्जका रैथाने चुन्नाले २० वर्षदेखि दसैँतिहारमा टीका लगाउँदै आएका छन्। नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चुन्ना मुस्लिम भएपनि हिन्दुका हरेक चाडवाडमा रमाउने गर्छन्।

‘मैले जहिले पनि साइतकै टीका लगाएको छु,’ नेपालगञ्ज–१, धम्बोझी निवासी पुनम सिंहको हातबाट टीका लगाउने चुन्नाले भने, ‘मलाई सेलरोटी र फिनी अति नै मनपर्छ।’

चुन्ना स्कूल पढ्दादेखि नै छिमेकी एकजना बाहुन बाजेको घरमा फिनी र सेलरोटी पाक्दा खान जाने गर्थे। उनलाई सेलरोटी र फिनी यति मनपपर्थ्यो। कि, पछि बाजेको घरबाट भाडा ल्याएर घरमा बनाउन लगाउँथे।

स्कूल पढ्दा तिहारमा देउसीभैलो खेल्न जाने गरेको उनले सम्झिए। मुस्लिम समुदायको चाड बकरइदमा हिन्दु साथीहरुलाई बोलाएर खुवाउने गरेका चुन्नाले हिन्दु धर्मावलम्बीको चाडमा आफैँ खानपिन गर्छन्।

‘म हलाल गरेको मासु खान्छु, त्यो कुरा उहाँहरुले बुझ्नु भएको छ, म दसैँ र तिहारमा जाँदा दिदीबहिनीले हलाल गरेकै मासु ल्याउनु हुन्छ। कहिले सिंगै कुखुरा ल्याउनु हुन्छ। म आफैँ काट्छु र बनाउन लगाउँछु,’ चुन्नाले भने, ‘हाम्रो परिवार मुस्लिम र हिन्दु दुवैको चाडमा रमाउने गर्छ।’

नेपालगञ्जको घरबारीटोल पहाडी समुदायको बाक्लो बसोबास रहेको वस्ती हो। त्यही वस्तीमा हुर्किएका हुन्, चुन्ना। ‘छिमेकी भनेका हरेक समस्या पहिला काम लाग्ने मान्छे हुन्, आफन्त त पछि आइपुग्छन्,’ चुन्नाले भने, ‘म पनि छिमेकी साथीहरु दुवै समुदायको पर्वमा रमाउन थालेँ।’

दसैँमा रामबागमा रहेको शक्तिको घरमा गएर चुन्नाले टीका लगाए। तिहारमा धम्बोझीमा गएर टीका लगाउँछन्। हिन्दुहरुको पर्व भएकाले तिहारमा हिन्दु समुदायका मानिसको निधार मात्रै होइन, नेपालगञ्जमा मुस्लिम समुदायका व्यक्तिको निधारमा पनि सप्तरंगी टीका देख्न सकिन्छ।

चुन्नामात्रै होइन, नेपालगञ्जमा रक्षाबन्धन, दसैँतिहारमा टीका लगाउनेहरु धेरै छन्। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पनि रक्षाबन्धन, दसैँ र तिहारमा टीका लगाएर रमाउँदै आएका छन्। ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयमा गएर उनले त्यहाँका दिदीहरुसँग टीका लगाउने गर्छन्।

नेपालगञ्ज एउटा सद्भाव र सभ्यता बोकेको शहर हो। यहाँ हिन्दु, बौद्ध, मुस्लिम, शिख र इसाई मिलेर बसेका छन्। यहाँको विशेषता के हो भने मन्दिरमा घण्टी बजिरहँदा, मस्जिदमा अल्लाह अबकर भनिएको स्वर सुनिन्छ। शिखले वाहे गुरु भनिरहँदा बौद्धको मन्त्रोचारण गुञ्जयमान हुन्छ। हिन्दुहरु मन्दिर जाँदा मस्जिद भएर जानु पर्छ। मुस्लिमहरु मस्जिद जाँदा मन्दिरहरु भएर जानुपर्छ। हरेक २–३ सय मिटरको दुरीमा मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा रहेका छन्।

हिन्दुहरुले दसैँको दुर्गा मूर्ति सेलाउन जाँदा मुस्लिम युवाहरुले बाटोमा बसेर पानी बाँडेका थिए। ईदमा वीपीचोकमा मुस्लिम समुदायले सामुहिक नमाज पढेर बाहिर निस्किँदा हिन्दु युवाहरुले पानी वितरण गरे। यो नेपालगञ्जको छुट्टै पहिचान हो।

कात्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्