देउसीभैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने

सुर्खेत – स्थानीय प्रशासनले तिहारमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न समयसीमा तोकेको छ।

जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुरोध गरेको हो।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर विभिन्न प्रकारका पटाका नपड्काउन र जुवातास नखेल्न आग्रह गरेको छ।

त्यस्तो पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ। जिल्लाबासीहरुलाई प्रशासनले शान्त र ढुक्क रहेर पर्व मनाउन आग्रह गरेको हो।

यसैगरी, प्रहरीले पनि आतिसबाजी नगर्न सचेत गराएको छ। पटाका पड्काउँदा समाजमा त्रास उत्पन्न हुने र स्वास्थ्यका लागि पनि पटाका पड्काउनु हानीकारक भएको भन्दै त्यस्ता गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ।

कात्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्