मुख्यमन्त्री ज्यू, बाँके र बर्दियालाई कर्णालीमा मिसाइदिनुस्…

मुख्यमन्त्री शंकर पोखरेल।

नेपालगञ्ज – ‘मुख्यमन्त्री ज्यू, या त दाङ राजधानी गराउनुस् या बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाइदिनुस्,’ नेपालगञ्जका आदेश अग्रवालले प्रश्न गरे।

नेपालगञ्ज उद्योग वाणिज्य संघले मुख्यमन्त्री शंकर पोखरेल नेपालगञ्ज आएको बेलामा बुधबार आयोजना गरेको स्वागत, भेटघाट तथा समसामयिक विषयमा छलफल कार्यक्रममा व्यापारी नेता अग्रवालले भने, ‘तपाईले विगतमा दाङ राजधानी हुन्छ भनेपछि हामी चुप लागेर बस्यौँ, त्यो भएन, अब तपाईले कि त राजधानी दाङ बनाउनुस्, या त बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाइदिनुस्।’

अग्रवालले यसो भनिरहँदा हलमा गड्गडाहट ताली बज्यो। अग्रवालको कुरामा अधिवक्ता विश्वजीत तिवारीले जोड दिए, ‘नेपालगञ्जलाई पछाडि पार्ने हो भने बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाइदिनुस्।’

५ नम्बर प्रदेशको १२ जिल्लामध्ये बाँके र बर्दिया पश्चिम कुनामा पर्छ। नेपालगञ्जमा विगतदेखि मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु हो। केन्द्रमा पहुँच भएका ठूला नेताहरु नहुँदा नेपालगञ्जलाई पछाडि पार्ने काम भयो।

प्रदेशको राजधानी दौडमा सुस्तगतिमा अघि बढेको नेपालगञ्ज त्यो हुन नसकेपछि अब कर्णाली प्रदेशतिर मिसिन अग्रसर भएको छ। रैथाने नेता तथा बासिन्दाहरु यस्तो भन्न थालेका छन्।

मुख्यमन्त्री पोखरेलले ५, ६ र ७ नम्बर प्रदेशको केन्द्रमा रहेकाले नेपालगञ्ज कहिल्यै पछाडि नपर्ने बताए। उनले यहाँका बासिन्दामा केही गरौँ भन्ने भावना मात्रै हुने पर्ने बताए।

‘बाबुबाजेको पालादेखि गरेको काममा अल्झिएका छन्, आफूले केही नयाँ गर्नु छैन,’ मुख्यमन्त्री पोखरेलले भने, ‘जडिबुटी निकासीमा झन्झट भयो भनेर सधैँ माग राख्नु हुन्छ, तपाई आफैँ जडिबुटीको उद्योग खोलेर काम गर्न किन सक्नु हुन्न?’

मुख्यमन्त्री पोखरेलले भैरहवा–बुटवल, घोराही–तुलसीपुर र नेपलगञ्ज–कोहलपुरलाई जोडेर महानगरको रुपमा विकास गर्ने सोचले अघि बढेको बताए। ‘औद्योगिक महानगर हुने बित्तिकै सबै झिनामिना समस्या समाप्त हुन्छ,’ पोखरेलले भने।

मुख्यमन्त्री, केन्द्रीय मन्त्री, प्रदेशमन्त्री, भारतीय राजदूत जोसुकै आउँदा व्यापारीहरुले एउटै गुनासो गर्ने गर्छन्। उही जडिबुटी निकासीमा झन्झटिलो भयो, सभागृह बनेनलगायत।

मुख्यमन्त्री पोखरेलले तीन वटा प्रदेशको राजधानीको नजिक रहेको नेपालगञ्जलाई कसैले पछाडि पार्नै नसक्ने जिकिर गरे।

संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्व अध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, दामोदर आचार्य, प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव अजय टण्डनलगायतले व्यापारीका समस्याका बारेमा अवगत गराएका थिए।

यसैबीच, मुख्यमन्त्री पोखरेल नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा शुभकामना साटासाट कार्यक्रममा पनि सहभागी भएका छन्।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू