राजनीतिक बेइमानीमाथि कलाकारकर्मीको प्रहार

प्रचण्ड, देउवा र ओलीमाथि बर्सियो सिस्नुपानी नेपालको गुलेली

प्रचण्ड, देउवा र ओलीमाथि बर्सियो सिस्नुपानी नेपालको गुलेली

सिस्नो पानीको देउसीभैलो। तस्बिरः दीपा दाहाल/देश सञ्चार

सिस्नुपानी नेपालले सँधैझैँ यस पटक पनि भाका हालेर सिस्नुपानी लगायो, प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका नेता, प्रशासन र जनतालाई।

कुकुरतिहार अर्थात् मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहादेखि बिजुलीको पाइपलाइनबाट भात पकाउनेसम्मका खेर जान लागेको वाचा, निर्मला पन्तका हत्यारा र बलात्कारी उम्किएको प्रसंग तथा ३३ किलो सुन तस्करीको अनुसन्धान ओझेलमा परेको घटनाहरु उठाए। खासगरी सम्बन्धित मन्त्रीहरुलाई राम्ररी डामे।

दुईतिहाई सरकारका मुखिया ओलीलाई सायद अरुलाई भन्दा बढी माया गरी प्रस्तुत गरे कलाकारका वाक्यहरुले, उनका समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोष देखाएर।

प्रज्ञा प्रतिष्ठानस्थित खचाखच भरिएको हलमा कलाकारहरुले प्रधानमन्त्री ओलीविरुद्ध सम्भावित भावी षडयन्त्रकर्ताका रुपमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मात्रै होइनन् त्योभन्दा बढी आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्तुत गरे। अर्थात् प्रधानमन्त्री ओलीलाई आगामी खतराप्रति सचेत गराइयो।

देउसीको दोस्रो चरणमा ओली भेषमा कलाकार सीताराम कट्टेल ( धुर्मुस), प्रचण्डको भेषमा मनोज गजुरेल र शेरबहादुर देउवाको भेषमा दमन रुपाखेती बनी प्रस्तुत गरिएको प्रहसनमा व्यंग्यात्मक शैलीमा खेलिएका तासमा प्रचण्डले १७ हजार रुपैयाँ अघि सारेपछि उनले त्यो चाल चलेकादेखि लिएर माओवादी सशस्त्र विद्रोहमा मारिएका १७ हजार नेपाली नागरिकको प्रसंग उठाइयो।

साथै यो प्रसंग उठाउँदा ओली नेतृत्वको सरकार अप्ठ्यारोमा पर्ने चेतावनी आयो ओलीबाट, दुईतिहाईको सरकारको समीकरण वा स्वास्थ्य धरापमा रहेको संकेत गर्दै। प्रहसनमा प्रस्तुत संवाद…

प्रचण्डः म तास पनि खेल्न जानेको छु, राजनीतिमा पनि खेल्न जानेको छु। ल मेरो तर्फबाट १७ हजार आयो।

ओलीः भर्खर मात्र पार्टी एकीकरण भएको छ। यो १७ हजारको कुरा किन?

प्रचण्डः तपाई ढुक्क हुनुहोस् केही नहुञ्जेल केही हुन्न।

ओलीः यसले सरकारलाई तलमाथि पार्न सक्छ। बढो गम्भीर कुरा हो। तपाई चुप लागेर बस्नुहोस्।

उक्त प्रहसनमा प्रचण्ड र शेरबहादुरले ओलीविरुद्ध फेरि आफुहरु एक ठाउँमा आउन सक्ने संकेत पनि दिए। देउसी कार्यक्रममा स्वास्थ्यका कारण ओली आएनन्। तर, प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई निम्तो मान्न पठाए। राधिका र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रमको उद्घाटन गरे।

यसो त देउसीको प्रमुख निशानामा परेका शेरबहादुर देउवा र प्रचण्ड पनि त्यहाँ थिएनन्। तर, उनीहरुको अनुपस्थितिले मनोरञ्जनको आकार र प्रभावमा कमी देखिएन। त्यसका प्रमाण तालीको अनवरत गड्गडाहट, हाँसो र सिट्टी।

प्रहसनमा ओली, प्रचण्ड र शेरबहादुरको सुकर्म र कुकर्मको लेखाजोखा गरिन् कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले चित्रगुप्तको ‘सेकेण्ड सेक्रेटरी’ भएर।

उनले यी शीर्ष नेताहरुले बल्लबल्ल संविधान निर्माण, निर्वाचन र स्थिर सरकार गठन गरेको अनि दुई छिमेकीसँगको सम्बन्ध सुधारेको निस्कर्ष निकालिन्। तर, उनीहरुले पासमार्क्स समेत पाएनन्। किनभने उनीहरुका कुकर्म दर्जनभन्दा बढी थिए।

शान्ति सुरक्षा कायम, कानून कार्यान्वयन, भ्रष्टाचारीलाई कारबाही, एउटै परराष्ट्र नीति निर्माण, सिण्डिकेट खारेज, सुन तस्करीको अनुसन्धान गर्न नसकेकोलाई उनीहरुका कुकर्मका रुपमा प्रस्ट्याइन्। यस्तै कालोबजारी, मूल्यबृद्धि, गरिबी निवारण, भौतिक तथा यातायात क्षेत्रमा सुधार गर्न नसकेको लगायत आरोप पनि यी शीर्ष नेतामाथि लाग्यो।

त्यसलगत्तै विभिन्न लयमा कलाकारहरुले खेलेको देउसीमा दुई तिहाईको सरकार नै बढी तारो बन्यो। यो सरकारले वाचा पूरा गर्न असफल हुनुका पछाडि के कारण हो थाहा नपाएको भन्दै त्यो ईश्वरलाई मात्र थाहा भएको सन्देश दिए लक्ष्मण गाम्नागे, टंक आचार्य, रुपा न्यौपाने, हरिकला उप्रेती लगायत कलाकारले। त्यहाँ भनियो….

अहिले त सरकार बलियो छ
धरहराभन्दा अग्लो छ
जनताको साथी बनेको छ
तैपनि काम कुरा भाको छैन
लौ छिटो हिँड् भन्यो, हिँड्दैन
नहिँड्या किन, के गरेर हिँड्ला
राम जाने राम जाने यो सरकारलाई केले छेक्यो राम जाने

ओली नेतृत्वको सरकारले जनताले सबभन्दा धेरै सास्ती पाएको सिण्डिकेट तोड्न र सुन तस्कीरको अनुसन्धान बिचमै छोडेको भन्दै देउसीले खवरदारी गर्यो। मन्त्री बनेपछि विभिन्न काण्डले आलोचित बनेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि देउसीको निसानामा परे। नेपाल टेलिकम प्राधिकरणको अध्यक्षमा दीगम्बर झालाई नियुक्ति गरेकोमा उनी आलोचित बने। देउसी टोलीले भन्यो…

हाम्रो देशका सञ्चारमन्त्री कति मिठो बोलेका लैलै
पत्रकारलाई न्याकेर दीगम्बरलाई च्यापेर लोकतन्त्रमा हिलो छ्यापेर

यस्तै नजिकै गम्भीर मुद्रामा देखिएका गृहमन्त्री रामबहादुर थापा बादलप्रति पनि सिस्नुपानी देउसीले कटाक्ष गर्यो। उनले घोषणा गरेअनुसार देशमा शान्ति सुरक्षाको अनुभूति जनताले गर्न नसकेको र भ्रष्टाचारलाई न्यूनिकरण गर्न नसकेको आरोप उनलाई लाग्यो। देउसीको लय यस्तो थियो…

गृहमन्त्री बादल गड्याङ गुडुङ गर्जन्छन्।
पसिना’नी काट्दैनन् असिना पनि पार्दैनन्।
ठूलो माछा मार्दै मार्दैनन्।

यसपालीको देउसीको आक्रोश नेतामाथि मात्रै होइन प्रशासनतन्त्रमा पनि पोखियो। राष्ट्रसेवक कर्मचारीले ढिलासुस्ती गर्ने, भ्रष्टचारमा संलग्न हुने र सरुवा बढुवामा मात्रै ध्यान दिने गरेको आरोप खेपे। देउसीले जनता ‘भेडा’ भएको भन्दै उनीहरुले भ्रष्टाचारीलाई सहयोग गरेको भन्दै गुलेलीका ढुंगा खाए। जनतामाथिको प्रहार यस्तो थियो…

आँगन बडार्छ, सडकमा फ्याक्छ
घुस दिन जान्छ, भ्रष्टाचार भन्छ

खेत बाँझो राख्छ, चाउचाउ खान्छ
बोक्सी भन्दै डाम्छ, तीन महिना दर खान्छ

यस्तै बालुवाटार धाउने मन्त्रीहरु प्रधानमन्त्रीलाई भेटेपछि मुसो जस्तो बनेर फर्कने गरेको आरोप पनि देउसी टोलीले लगायो। सल्लाहकारले छेकेपछि प्रधानमन्त्री ओली एक्लैले समृद्धिको सपना देख्ने गरेको भन्दै देउसी टोलीले ओलीलाई माया गरेको देखायो।

यस्तै भ्रष्टाचारको मामालिामा नाम नलिई प्रचण्डप्रति देउसीले लौरो सोजाएको थियो। प्रचण्डका ठेकेदार घरबेटीको नाम नलिई भनिएको थियोः

ठेकेदारलाई कारबाही गर्न हाम्रो सरकार पन्छियो
घरबेटीले थर्काएछन् कानै बाँच्चियो

देउसीका कलाकार प्रमुख प्रतिपक्षी कांग्रेसमाथि पनि जाइलागे। कांग्रेसले महत्वपूर्ण एजेण्डा नलिँदा चुनाव हारेको संकेत गर्दै उनीहरुले भनेः

केसी अनशन बस्नाले कांग्रेसले पायो काम
तिनले जुस खाएपछि कांग्रेस भयो ठण्डाराम

देउसीका विचारमा नेकपा बैठकदेखि रामचन्द्र पौडल परे। राजनीतिक तथा सामाजिक क्षेत्रको विद्यमान विसंगतिलाई गुलेली चलाउँदै देउसी टोलीले यस्तो आशिष दियोः

जुवाडे झ्यालबाट हाम फाल्न नपरोस्
टीको थाप्दा लम्पसार पर्नु नपरोस्
बलात्कारीलाई भोटेकुकुर जसरी छोड्न नपरोस्
राष्ट्रकविको जस्तो आयु बनोस्
निजगढ एयरपोर्ट पुगौँला मेची महाकाली घुमौँला
पर्खपर्ख मायालु म पनि त आउँला
चुच्चे रेलमा चढाएर रारा घुमाउँला।

कार्तिक २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्